घण्टाघरबाट खसेर युवतीको मृत्यु
धरान—धरानको पहिचानसँगै प्रमुख पर्यटकीय आर्कषणको थलो बनेको भानुचौकमा स्थित घण्टाघरबाट खसेर एक विवाहित युवतीको मृत्यु भएको छ । मध्याह्न करिब सवा १२ बजे मोरङको हरैचा ९ की २१ बर्षीय हेमन्ती मगरको घटनास्थलमै मृत्यु भएको हो।
उनले आत्महत्या गरेकी हुन् कि कसैले खसाएको हो भनेर यकिन भइसकेको छैन। उनी घण्टाघरको सबैभन्दा माथिल्लो तला(करिब ५२ फिट) माथिबाट खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटना प्रकृतिले मृतक घण्टाघरको उत्तरतर्फको मोहडातर्फबाट खसेको देखिएको छ। मृतकको शवलाई प्रहरीले मुचुल्का उठाएर करिब एक घण्टापछि पोष्टमार्टमको लागि लगेको छ।
मृतक मगर करिब ३ महिनाअघि मात्रै २९ बर्षीय टोमबहादुर मगरसँग विवाह बन्धनमा बाँधिएकी थिइन्। घटनाको बखत श्रीमान् पनि घण्टाघर परिसरमा भए पनि उनी माथिल्लो तलामा थिए कि थिएनन् खुल्न सकेको छैन।
घटनाबारे प्रारम्भिक अनुसन्धान मात्रै शुरु भएकोले उनी कसरी झरिन् भनेर अहिल्यै केही भन्न नसकिने इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मुकुन्द रिजालले बताए। उनका अनुसार मृतकका श्रीमान्सहित घटनाको समयमा सबैभन्दा माथिल्लो तलामा रहने एक युवतीसहित अन्य २ युवालाई पनि सोधपुछको लागि प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनालगत्तै घण्टाघर व्यवस्थापन समितिले अर्को निर्णय नभएसम्मको लागि घण्टाघर चढ्नमा रोक लगाएको छ। अनुसन्धान पूरा नभइञ्जेलसम्म चढ्नमा रोक लगाइएको र प्रशासनबाट आवश्यक परामर्श लिएर मात्रै चढ्न दिइने समितिका अध्यक्ष एवं पूर्वमेयर मनोजकुमार मेन्याङ्बोले बताए। घण्टाघर परिसरमा रहेको बगैचामा भने प्रवेश निषेध गरिएको छैन। करिब एक दशकअघि निर्माण सम्पन्न भएर सञ्चालनमा आएको घण्टाघर धरान घुम्न आउनेहरुको प्रमुख गन्तव्यमध्ये पर्छ।
