कास्यपदक विजेता विमलालाई सरकारले नगद १० लाख सहित सम्मान



काठमाडौं ३१, असोज । सरकारले १८ औं एसियाली खेलमा कांस्य पदक जितेर नेपालको इज्जत राखेका कराँते खेलाडी बिमला तामाङलाई पुरस्कार स्वरुप १० लाख रुपैयाँ दिएको छ ।
यूवा तथा खेलकुद् मन्त्रालयले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रम गरेर बिमलालाई पुरस्कारस्वरुप १० लाख रुपैयाँ प्रदान गरेको हो । प्रधानमन्त्री सुशील कोइरालाले बिमलालाई पुरस्कार रकम र सम्मानपत्र प्रदान गर्नुभयो ।

डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले तीन वर्ष पहिले एसियाली खेलकुदमा स्वर्ण जित्नेलाई ५० लाख रुपैयाँ, रजत जित्नेलाई २५ लाख रुपैयाँ र कास्य पदक जित्नेलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । त्यहि निर्णय अनुसार सरकारले बिमलालाई पुरस्कृत गरेको हो ।
दक्षिण कोरियाको इन्चोनमा भएको १८ औं एसियाली खेलकुदमा नेपालको तर्फबाट २ सय भन्दा बढी खेलाडीले २५ खेलमा भाग लिएकामा बिमलाले एकल काँतातर्फ कास्य पदक जितेकी थिइन् । बिमलाले सरकारी सम्मानले हाफूलाई थप हौसला मिलेको भन्दै अर्को एसियाली खेलकुद्मा स्वर्ण जितेर देखाउने बताइन् ।
कार्यक्रममा प्रधानमन्त्री सुशिल कोइरालाले खेलाडीहरुले राष्ट्रको गौरव बढाउन उल्लेखनीय योगदान गरेपनि स्रोतको अभावमा सरकारले खेलाडीहरुलाई पर्याप्त सुविधा दिन नसकेको बताउनुभयो ।
कार्यक्रममा कराँते महासंघका अध्यक्ष पुरेन्द्र लाखे र कराँतेका प्रशिक्षक धु्रुवविक्रम मल्ललाई पनि सम्मानित गरिएको थियो । बिमलालाई कास्य जिताउन प्रशिक्षक मल्लले उल्लेखनीय योगदान गरेपनि सरकारले मल्ललाई नगद पुरस्कार भने दिएन ।






प्रतिक्रिया दिनुहोस्...