स्वाभिमानी शिर कहाँ झुक्छ र संकटमा ! नेपाली खेलकुदका त्यस्तै एक स्वाभिमानी प्रशिक्षक हुन् ध्रुव विक्रम मल्ल । मल्लको जिन्दगीमा संकट त धेरै आए होलान् तर भर्खरै इन्चोनमा सम्पन्न १७ औं एशियाली खेलकुदको मुखैमा आएको महासंकटले भने उनलाई बेस्सरी पोल्यो । मानौं झेल्नै सकिन्न ! हैन झेल्नुपर्छ, अर्को मनले आदेश दियो । त्यहि मनको एक कुनाबाट प्रस्फुठित आवाजको आदेश मान्दै उनी पुगे सामाखुसीको एक मोटरसाईकल वर्कशपमा । ‘मुखिया वर्कशप’ जो थियो । उनको कालो रंगको ‘सिवीजेड’ त्यहि मुखियाको आँगनमा अडियो । त्यहि बाईकको डिगसँगै नेपाली खेलकुदको श्यामश्वेत अनुहार पनि अडिएको थियो एक महत्वपूर्ण फैसलाको आसमा । उनले सोधे–‘साहुजी हुनुहुन्छ ?’ भन्नुस न ? मेरो बाईक किन्ने हो ? यस्तैयस्तै प्रश्नोत्तर भए, हाजीरी जवाफ जस्तो । मोटरसाईकल थन्क्याई दिए, एक लाख लिए । बास ! समस्या सल्टियो । नपुग त्यहि एक लाख थपेर उनले आफ्ना खेलाडीहरु बिमला तामाङ र अनुपमा मगरलाई कोरियाको टिकट काटिदिए,जो सत्रौं एसियाडमा भिड्दै थिए ।
Dhurba Bikram Malla 3यी प्रतिभावान खेलाडी ‘ब्ल्याकबेल्ट डिप्लोमा’ गर्दै कराँते प्रशिक्षकका रुपमा उदाए नेपाली खेलकुदमा । यो २०४८ तिरको कुरा हो । २०५२ मा राष्ट्रिय खेलकुद परिषद्को स्थायी प्रशिक्षक बनेका मल्लले २०६२/२०६३ को आन्दोलन पछि भने एकाएक राजिनामा दिए, कारण ‘स्वाभिमान’ ! यी स्वाभिमानी प्रशिक्षक लुक्न र झुक्न कहिल्यै जानेनन् । एकताका नेपाली खेलकुदमा ‘गणतान्त्रिक खेलकुद महासंघ’ को चर्चाले सगरमाथा छोएको थियो । कारण उनै मल्ल थिए, महासंघको संस्थापक अध्यक्षको मर्यादामा । त्यतिबेला गणतान्त्रिक खेलकुद महासंको गतिविधिले राष्ट्रिय खेलकुद परिषद् छायाँमा परेको थियो ।
सरकारी जागीर किन छाड्नुभो ? पंक्तिकारको पाँचौ प्रश्न टेबुलमा खस्न नपाउँदै भने–‘अरुलाई जागिर दिने हैसियत बनेजस्तो लाग्यो ।’ मस्त हाँसे.., बिना संकोच निस्फिक्री । अहिले उनी बालाजु करा“ते डो एकेडेमीको प्रशिक्षक र अध्यक्ष हुन् जहाँ इन्चोन एसियाडमा कास्य जित्ने बिमला तामाङले विगत १० वर्षदेखि कराँते सिकिरहेकी छिन् उनै स्वाभिमानी गुरु ध्रुव विक्रम मल्लका समिपमा । लामो समय नेपाली खेलकुदको मैदानमा प्रशिक्षकको भुमिका निर्वाह गरिसकेका मल्लले राज्यको निरीहतामा जेहेन्दार प्रतिभा गरिबी र अभावले छट्पटाएको देखे । लगानी गर्न सक्नेहरुले मात्र राम्रो ट्रेनिङ गर्न पाउ“ने र राम्रा प्रतिभाहरु पलायन हुने तितो यथार्थ उनको आँखाबाट छिप्दै छिपेन ।
बिमला तामाङका बुवा विष्णुबहादुर ध्रुवविक्रमका साथी हुन् । विष्णुबहादुरले आफ्नी छोरी लाई मल्लको एकेडेमीमा भर्ना गर्न ल्याउँदा उनी कक्षा तीनमा पढ्दै थिईन् अहिले उनको पढाई १२ कक्षासम्म पुगिसकेको छ । मल्लले उनमा निहित प्रतिभा देखेर आफ्नो एकेडेमीमा स्कलरसिप दिएर सिकाए । विदेशमा खेल्ने अवसर जुराईदिए, ती जेहेन्दार बालिकाको आत्मबल बढाईदिए, त्यसैले त अहिले बिमलाले पदक जित्दा सबैभन्दा धेरै खुसी उनै मल्लमा छायो ।
विष्णुबहादुरले आफ्नी छोरीले जितेको त्यो पदक स्पर्श गर्न पाएका छैनन् । उनी मलेशियामा पसिनासँग जिन्दगी साटिरहेछन् तिनै छोराछोरीको खुसीको लागी । पदकको माला लाएकी छोरीको मुस्कानलाई नेपाली एयरपोर्टमा साट्न पाएको भए विष्णुबहादुर अझ कति खुसी हुन्थे होलान् ।
Dhurba Bikram Malla 2नेपाली कराँतेको विवादको किस्सा पुरानो भैसकेको छ । यो विवादकोे घेरामा मल्ल पनि तानिएका थिए प्रारम्भिक चरणमा । तर पछि उनले कराँतेको अन्तर्राष्ट्रिय नियमलाई मिच्न चाहेनन् । किनकी उनी कराँतेको अन्तर्राष्ट्रिय लाईसेन्सवाला रेफ्रि समेत हुन् । दावा गुरुङ अध्यक्ष रहेको कराँते महासंघमा छोटो समय महासचिव बनेका मल्लले पछि राजिनामा दिए । ‘खेलकुदमा न जात न धर्म त्यसैले नियममा छिर्नुको विकल्प छैन ।’ उनले भने ।
कराँते विवादका कारण खेलकुद परिषद्ले पठाएका दुईजना खेलाडीले खेल्न पाएनन् । ‘एक्रिगेशन कार्डका आधारमा खेल्न नपाउने पहिल्यै क्लियर भएपनि परिषद्ले यहि विवाद निकाल्नका लागी पठाएको हो ।’ मल्लले ठोकुवा गरे । एसियाड ओलम्पिक गेम भएकाले हरेक देशको ओलम्पिक कमिटी र सम्बन्धित संघको अध्यक्षको सिफारीको आधारमा आयोजकले कार्ड उपलब्ध गराउँछन् । यो कुरा खेलकुदका सबैले बुझेका थिए । तर बुझ पचाएपछि के लाग्छ ? मल्ल भन्छन्–‘ त्यतिबेला युवराज लामा हाम्रो र बिमलाको नामै लिँदैनथे, खेलेमा कानुनी प्रक्रियामा जान्छु भन्थे ।’
बिमला मात्र हैन बालाजु कराँते एकेडेमीकी अनुपमा मगर पनि अहिले ६८ केजी तौल समुहमा एसियाकै पा“चौ नम्बरकी खेलाडी हुन् । उनले केही समय अगाडी भएको साउथ एसियन गेममा स्वर्ण जितेकी थिईन् ।
आर्थिक रुपमा कमजोर बिमलाको परिवार पनि खर्च गर्न सक्ने अवस्थामा थिएन । त्यसैले मल्लले उनलाई टिकट काट्नु अघि छलफलको जरुरी पनि ठानेनन् । ‘छोरी खेल्न जादैँछ भनेर जानकारी गराईयो, राम्रो भयो बधाई छ भन्ने कुरा भयो ।’ उनले थपे ।
सबैको असहयोग
एसियाडमा नेपालबाट २५ खेलमा २०४ जना खेलाडीले सहभागीता जनाए । अफिसियलसहित झण्डै ३६० जनाको सहभागीताको लागी राज्यले कुल ८ करोड खर्च गर्यो तर त्यसमा पदक जित्नेले एक रुपैयाँ पाईनन् । यता अन्तर्राष्ट्रिय मान्यता पाएका कराँते महासंघ र ओलम्पिक कमिटीले बिमलाको नाम सिफारिस गर्नका लागी कुनै हिचकिचाहट त गरेनन् तर आर्थिक रुपमा भने कुनै सहयोग नगरेपछि मल्लले दशैंको मुखमा बाध्य भएर मोटरसाईकल धरौटी राख्नुपर्यो । ध्रुव विक्रमलाई किड्नीको समस्या छ । औषधीको चक्किलाई बोईल वाटरका साथमा निल्दै भने –‘कसैले एक रुपैयाँ सहयोग गरेको छैन, तर अब भने टिकट खर्च ओलम्पिक कमिटीले दिउँला भनेको छ ।’
खेलाडीको प्रतिभा जाँच्न सक्ने मल्ल बिमला र अनुपमा दुबैले मेडल जित्नेमा विश्वस्त थिए त्यसैले त उनी मरिमेटेर लागे खेलाडी पठाउन । ‘चाईनाको वल्ड च्याम्पियन खेलाडीसँग सुरुमै भिड्न नपरेको भए अनुपमाले पनि मेडल जित्ने सम्भावना थियो’ –उनले भने । खेलाडी पठाएपछि सदस्य–सचिवले कानुनी प्रक्रिमा जाने उद्घोष गरे तर मल्ल डगमगाएनन् ।
पिएलए क्लबका जन्मदाता
तत्कालिन माओवादी सेनाको पिएलए स्पोर्टस क्लबका जन्मदाता हुन धु्रवविक्रम मल्ल । संस्था दर्ता, नविकरण पनि उनले नै गरे । छैटौं राष्ट्रिय खेलकुदमा सो क्लवलाई १८ वटा गोल्ड मेडल जिताउन उनले निकै ठूलो मेहनत गरे । ‘शक्तिखोरमा सेना दिवस मनाउनु भन्दा करिब दुई महिना अघि मलाई तत्कालीन सैन्य कमाण्डर ‘प्रतिक्षा’ ले बोलाएर सहयोग गर्नुपर्यो भनेपछि मैले सबै तयारी गरें’ उनले भने ।
म गाको भए कसरी आउथ्यो मेडल ?
केहि दिन यता निकै व्यस्त छन् ध्रुव विक्रम मल्ल । एसियाडको नतिजापछि बिमला र मल्ललाई सम्मान र अन्तर्वार्ताको चापले थिचेको छ । बुधबार पंक्तिकारले भेट्दा उनीसँगै थिईन ती किर्तीमानी बिमला पनि । नेपाली खेलकुदका त्यतिधेरै मान्छे ओईरिएको कुम्भमेलामा तपाईंलाई जान इच्छा भएन भन्ने प्रश्नसँगै मल्लका आँखा बिमलातिर घुमे । अनि अलि भावुक शैलीमा भने ‘मैले सोचेँ मेरो इच्छा मरोस् तर प्रतिभा मर्न दिन्न’ उनीसँगै बिमला पनि मुस्कुराईन । उनले थपे ‘म पनि जान पाएको भएको कास्य मात्रै होईन रजत आउन सक्थ्यो ।’ रिङमा उत्रनु भन्दा अगाडी खेलाडीको मनोवल बलियो बनाउनुपर्ने तर्क गरे उनले ।
जितेपछि …
बिमला ईन्चोनमा खेल्दै थिईन् । यता गुरु धु्रवविक्रम मल्ल भने एकेडेमीस्थित कार्यकक्षमा अनलाईन सम्पर्कमा थिए । ठिक त्यहिबेला उनको कम्युटरमा म्यासेज खस्यो ‘गुरु कास्य जितियो’ उनको खुसीले सगरमाथा छोयो । उनले भने ‘एक रुपैयाँ नलिईकन राज्यलाई शुन्य हुनबाट जोगाउँदा एउटा प्रशिक्षक त्यतिबेलाभन्दा खुसी कहिले हुन सक्छ ?’
उनको ह्वाईटकलर स्मार्टफोन बजिरहन्थ्यो । बेलाबेला छेउमै रहेकी बिमला बोल्थिन्,अनि गुरु भने त्यहि मौकामा ईन्कमीङ कल स्लाईड गर्न भ्याईहाल्थे । त्यतिबेला बिमलाले भन्न भ्याईन् ‘ बुवा मलेशियामा गएको भदौमा बल्ल १ वर्ष हुन्छ, तीन वर्ष नभै त आउनै मिल्दैन होला ।’ सायद उनी आफ्ना पितासँग यो खुसी साट्न आतुर छिन् ।
खेलाडीहरु फर्कने बेलामा अन्तर्राष्ट्रिय विमानस्थलमा राज्य पक्षले न्यानो स्वागत गर्ला भन्ने सोचेका थिए मल्लले तर त्यस्तो हुन् सकेन । बिमलालाई स्वागत गर्नेमा उनकै परिवार र आफन्त, बालाजु कराँतेका एकेडेमीका परिवारसहित करिब ५० जना जति भएका थिए । ‘यत्रो प्रतियोगीतामा पदक जित्दा ठूला–ठूला पोष्टर ब्यानरसहित विशाल र्यालीले शहर परिक्रमा गराउनु पर्ने हो तर कोहि गएनन्’–मल्लको मलिन अनुहारमा विस्मातको भाव पढ्न सकिन्थ्यो । बिमलाले जितेको पदक नेपालको मात्र नभएर कराँतेमा साउथ एसियाकै एउटा पदक हो । वंगलादेश, भारत र श्रिलंकाका प्रशिक्षकहरुले मल्ललाई फोन गरेर बधाई दिँदा सरकारका प्रतिनिधीले धन्यवाद भन्ने कष्ट पनि गरेनन् ।
जसले विवाह गर्न भ्याएनन्
सुर्योदयसँगै नअस्ताएसम्म खेलकुदका मैदानमा दौडिरहने मल्लले आजसम्म विवाहको बारे सोच्नै पाएनन् । खेलकुदबाट बचेको समय सामाजिक काम र साथीभाइलाई दिँदादिँदै मल्लले ४४ वसन्त पार गरिसके । भाइबहिनीसँग बालाजुमा बस्दै आएका मल्लले भने ‘बिहे सोच्नै पाईनँ ।’
खेलकुद बाहिर मल्लको परिचय समाजसेवीको रुपमा रहेको छ । कतै अनाथ बच्चाको पालन–पोषण त कतै विपन्नहरुको पक्षमा काम गर्दै आएका मल्लकै पहलमा धादिङको सल्यानकोटमा शिवालय प्रावि भन्ने स्कुल खुल्यो । ‘त्यो स्कुलका विपन्न बच्चाको लागी वार्षीक १०० जोर सर्ट पाईन्ट मैले दिने गरेको छु । त्यस्तै १ जना टिचरलाई पनि मैले नै तलव सुविधाको सहयोग गर्ने गरेको छु ।’ मल्लले भने ।
लामो समयदेखि एमाओवादी धादिङ जिल्ला पार्टिको सदस्य रहेर भुमिका निर्वाह गरेका मल्ल आजभोली भने सल्लाहकारमा खुम्चिएका छन् । ‘पार्टिको साधारण सदस्य हुँ’ उनले भने ।
आगामी योजना
२०४८ सालदेखि खुलेको उनको बालाजु डोजो २०६३ मा एकेडेमी बन्यो । यो नेपालको एकमात्र कराँतेको एकेडेमी हो । अब यहि एकेडेमीलाई विस्तार गर्ने योजना बनाएका छन् मल्लले । ‘२ करोड ३१ लाखको एकेडेमी भवन बनाउने योजना छ’ मल्लले भने । एकेडेमी भवन बनेपछि प्रतिभावान खेलाडीहरुलाई त्यहि खाने, बस्ने र तालिम सुविधा दिएर अरु धेरै बिमलाहरु जन्माउने उनको योजना छ ।
तर एकेडेमी भवन बनाउने उनको योजना विभिन्न कारणले गर्दा रोकिइरहेको छ । बालाजु औद्योगीक क्षेत्रमा पर्ने उनको एकेडेमी भवन बनाउने सपनालाई सरकारी अड्चनले झेल गरिरहेको छ । कर्ण थापा उद्योगमन्त्री बनेपछि उनले ती अड्चन फुकाउने प्रयत्न गरे तर सफल भएनन् । ‘मलाई थापाले मन्त्रालयमा बोलाएर गोप्य कोठामा लगे, त्यहाँ बार्गेनिङ भयो ।’ उनले भने । ‘त“ जस्तो जेहेन्दार मान्छेलाई म का“धमा बोक्छु तर हाम्रो पार्टीमा आउनुपर्छ’ कर्णको भनाई सम्झिए उनले । तर स्वाभिमानी शिर फेरी पनि झुकेन, उनले आस्था पोलेर खान चाहेनन् । शायद उनी अब फेरी एकपटक राज्यलाई यस्तै अर्को चुनौती दिँदैछन । मल्ल एक तेजिलो मैनवत्ती हुन जो अर्काको उज्यालोको लागी जलिरहन्छ, निस्वार्थ !
