अदालतको जरिवाना नतिर्ने ३० जना नियन्त्रणमा
भक्तपुर, कार्तिक ३ - जिल्ला अदालत भक्तपुरले फैसला कार्यन्वयन गर्ने क्रममा सोमबार ३० जनालाई नियन्त्रणमा लिएको छ । त्यस मध्ये १८ जनाले जरिवाना तिरेको अदालतले जनाएको छ । रामकुमार प्रसाद साह प्रधानन्याधीश भएपछि फैसला कार्यन्वयन गर्न बिशेष अभियान थालेको छ । यस क्रममा भक्तपुरले सोमबार दण्ड जरिवाना नतिर्ने ३० जनालाई प्रत्येक भेटेका थिए ।
अदालतका तहसिलदार दिलिपराज पन्तका अनुसार अदालतबाट खटिएका प्रहरी सहितका दस्तालाई १६ जनाले जरिवाना तिरेका छन् । त्यस्तै २ जनाले अदालतमा उपस्थित भएर जरिवाना बुझाएको उनले बताए । फरार हुने र दण्ड जरिवाना नतिर्ने व्यक्तिलाई जहाँ जुनसुकै अबस्थामा भेटिए पनि पक्राउ गर्न महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक यादव ढकालको संयोजकत्वमा प्रहरी सहायक निरिक्षक उमेश श्रेष्ठ र अमर कुँवर, अदालतका डिठ्ठा नातीभाई नायजूको टोली गठन गरेको छ ।
सोमबार जरिवाना तिर्नेमा फैजदारी मुद्धाको घटनामा संलग्न धेरै छन् । टोलीले जरिवाना नतिर्ने व्यक्तिको घरमै जाने गरेका छन् । टोलीलाई घरमै जरिवाना असुल्ने अधिकार दिएको छ । प्रहरी नियन्त्रणमा लिएका मध्ये सवारी ज्यान र चोरी मुद्धाका १ जनालाई जेल चलान गरिएको छ । अदालतमा जरिवाना असुल्नु पर्ने सुचीमा रहेका आठ जनाले यसअघि नै बुझाइसकेको रसिद देखाएका थिए । 'हाम्रो तथ्याङकमा पैसा तिर्न बाँकी देखाएका व्यक्तिलाई भेट्दा आठ जनाले जरिवाना तिरिसकेको रसिद देखाए,'पन्तले भने ।
अदालतले तोकेको दण्ड जरिबाना र बिगो नतिर्ने १ हजार १ सय ६७ जनाको तीन पुस्ते नामावली सरकारी कार्यालयहरुमा पठाइसकेको छ । ०३३ देखि गत भदौ मसान्तसम्म कैद सजाय तोकेर फरार रहेका ४५ स्वदेशी, २ विदेशी, जरिवाना मात्रै तोकेका ७ सय ९८ स्वदेशी छन् । जरिवाना नतिर्ने १ जना विदेशी छन् । कैद र जरिवाना दुबै सजाय तोकेका ३ सय १० स्वदेशी र ११ विदेशी छन् । अदालतमा ९ सय ३५ वर्षको कैद सजाय बेरुजु छ । दण्ड जरिवाना बापत ५ करोड २९ लाख ३७ हजार ४ सय ५१ बेरुजु रहेको पन्तले बताए ।
