बजारमा नआउँदै आइफोन सिक्सको चर्चा



काठमाडौं, (एजेन्सीहरु)-अमेरिकी कम्पनी एप्पलले आइफोन सिक्स बजारमा ल्याउनुअघि नै सामाजिक सञ्जालमा यसको आकार र विशेषताबारे बहस शुरु भइसकेको छ।


एप्पलले आधिकारिक रुपमा नयाँ आइफोनको विशेषता बाहिर नल्याएपनि यसको स्त्रि्कन आकार ४.७ इन्चको हुने आइफोन सिक्सको डिजाइनमा संलग्न प्राविधिकहरुले बताएका छन्। यसअघि आएका आइफोन फाइभ सी र आइफोन फाइभ एस दुबैको स्त्रि्कन आकार ४ इन्च थियो।
एप्पलले विगतका वर्षहरुको तुलनामा एक महिना अगाडि नै यो वर्ष यो आकारमा आईफोन सिक्स बजारमा ल्याउने भएको हो। विगतका वर्षहरुमा सेप्टेम्बरमा नयाँ उत्पादन सार्वजनिक गर्ने एप्पलले यो वर्ष अगस्तमै नयाँ उत्पादनको रुपमा आइफोन सिक्स ल्याउन लागेको एजेन्सीहरुले जनाएका छन्। ४.७ इन्चको स्त्रि्कन भएको आइफोन सिक्स बजारमा ल्याएलगत्तै अर्को महिना ५.५ इन्च र ५.६ इन्चको मोडल पनि बजारमा ल्याउने भएको हो।
सन् २०१४ को शुरुतिर आइफोन सिक्सको नमूना बाहिरिएको मानिएको कागजातमा एप्पलको यो स्मार्टफोन ५.५ इन्च आकारको हुने उल्लेख थियो। यो एप्पलको सबैभन्दा ठूलो आकारको आइफोन हुनेछ जसलाई ‘फ्याब्लेट' पनि भनिन्छ। प्रतिस्पर्धी सामसुङ, एलजी, एचटीसी, नोकियालगायतका कम्पनीले ठूलो आकारका स्मार्टफोन बजारमा ल्याएकाले आइफोनको नयाँ संस्करणमा आकार बदल्न बाध्य भएको विशेषज्ञहरुले बताएका छन्।
आइफोन सिक्समा सुधारिएको नक्सा तथा स्वास्थ्य र तन्दुरुस्तीका नयाँ एप्लिकेसन राखिने डिजाइनकर्ताहरुले जनाएका छन्। आइफोन र आइप्याडका अघिल्ला संस्करणहरुमा प्रयोग भएको नक्सा गुगल म्यापको कम प्रभावकारी भएको प्रयोगकर्ताहरुले बताएका छन्।
सामसुङ ग्यालेक्सी एसफाइभमा जस्तो फोनको पछाडि मुटुको चाल मोनिटर राख्नुको सट्टा एप्पलले मुटुको चाल नाप्ने मोनिटरलाई इयरपोट हेडफोनमा राख्ने भएको छ। यसले रक्तचाप पनि मापन गर्न सक्ने विश्वास समेत गरिएको छ। पहिले पिँधमा रहेको अडियो ज्याकलाई अहिले माथि सारिएको छ।
नयाँ आइफोनमा १२८ जीबीसम्मको आन्तरिक क्षमता रहने बताइएको छ। हालसम्म ६४ जीबीको मात्र आइफोन उत्पादन भएको थियो। यसमा आन्तरिक भण्डारण क्षमताको अतिरिक्त आइएसडी कार्ड पनि प्रयोग गर्न सकिने डिजाइनकर्ताहरुले बताएका छन्।
आइफोन सिक्समा एप्पलको नयाँ अपरेटिङ सिस्टम आइओएस एट हुने भएको छ। एप्पलको पछिल्लो अपरेटिङ सिस्टम आगामी जुन महिनामा हुने वर्ल्डवाइड डेभलपर कन्फ्रेन्समा सार्वजनिक गरिदैंछ।
अहिलेसम्मको आइफोनमा नरहेको अर्को एउटा विशेषता आइफोन सिक्समा देखिने भएको छ। एप्पलले यो फोनमा वायरलेस चार्ज गर्न सक्ने प्रविधी ल्याएको छ। यसअघि नै सामसुङले यो विशेषता उसले उत्पादन गर्ने फोनहरुमा प्रयोग गरिसकेको छ र चाँडै नै बजारमा पनि ल्याउँदैछ।
यसका अतिरिक्त नयाँ आइफोनमा पहिलेभन्दा धेरै मेगा पिक्सेलको क्यामेरा रहने भएको छ। अहिलेसम्मका आइफोनमा ८ मेगापिक्सेलको क्यामेरा राखिएको थियो। त्यसैगरि, गत वर्ष बजारमा ल्याइएका आइफोन फाइभ सी र आइफोन फाइभ एसमा ए सेभेन चिप्स प्रयोग गरिएकोमा नयाँ आइफोनमा ए एट चिप्सको प्रयोग गरिएको छ।
मोवाइल विश्लेषकहरुले नयाँ आइफोनको नमूना एचटीसी वन एमएटजस्तै भएको बताएका छन्। विगतमा सामसुङ र एप्पलबीच पेटेन्टका लागि भएको झगडाजस्तै यसपटक एप्पल र एचटीसीबीच झगडा हुने सम्भावना उनीहरुले देखाएका छन्।






प्रतिक्रिया दिनुहोस्...