‘विदेशमा रहेका लाखौँ नेपाली (MRP) राहदानी वञ्चित हुने अवस्था’
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले मेसिनले पढ्ने राहदानी (एमआरपी) अनिवार्य हुने दिन नजिकिँदै जाँदा पनि लाखौँ नेपाली त्यसबाट वञ्चित हुने अवस्था देखिएको छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा बोल्दै सभासद्हरुले एमआरपी अनिवार्य हुने मिति आगामी वर्षको मङ्सिर ९ भित्रै विदेशमा रहेको सबै नेपालीले एमआरपी पाउन सक्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका थिए ।
उनीहरुले देशभित्र राहदानी वितरणमा ढिलो भइरहेको र विदेशमा त तीन महिनासम्म ढिलो हुने गरेको गुनासो आइरहेको भन्दै त्यसलाई छिटोछरिटो बनाउन आवश्यक व्यवस्था मिलाउन परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । भारतबाहेकका विश्वका अन्य मुलुकमा हाल करिब ४० लाख नेपाली वैदेशिक रोजगारी, अध्ययनलगायतका लागि विदेसिएको अनुमान गरिए पनि उनीहरुले तोकिएकै अवधिमा एमआरपी पाउने सम्भावना न्यून बन्दै गएको छ ।
यसअघि हस्तलिखित राहदानी प्रचलनमा रहेकामा एमआरपी प्रचलनमा आएपछि मात्रै १३ लाख हस्तलिखितलाई एमआरपीमा रुपान्तरण गरिएको र त्यसमध्ये पाँच लाख राहदानी विदेशमा बस्नेहरुले लिएको तथ्याङ्क छ । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले पर्याप्त सूचनाको अभाव र नेपालको विदेशस्थित दूतावासमा पर्याप्त जनशक्ति नहुँदा राहदानी वितरण सोचेअनुरुप वितरण हुन नसकेको स्वीकार गरे । उनले अहिले राहदानी छाप्ने जिम्मा लिएको कम्पनीको म्याद समाप्त हुन लागेको र अबको छ महिनाभित्रै एमआरपी छाप्न नयाँ बोलपत्र आह्वानको तयारी भइरहेको बैठकमा जानकारी गराए ।विगतमा राहदानी छाप्ने जिम्मा दिँदा राहदानीको सम्पूर्ण विवरण छाप्ने कम्पनीले मात्रै लिएको र त्यसलाई सरकारको मातहत ल्याउन अहिले समस्या भइरहेको उनको भनाइ थियो ।
बैठकमा परराष्ट्र सचिव शङ्करदास बैरागीले नयाँ बोलपत्र आह्वान गर्दा अहिलेको राहदानीभन्दा गुणस्तरीय बनाउने तयारी भइरहेको जानकारी दिँदै अब एमआरपी हुँदै ई–राहदानीमा जानुपर्ने आवश्यकता परेको बताए । वैदेशिक रोजगारीमा गएका धेरै नेपालीहरुसँग हस्तलिखित राहदानी भए पनि विभिन्न कारणले त्यसलाई एमआरपीमा रुपान्तरण गर्न सकिरहेका छैनन् । अहिलेसम्म कतारमा ९० हजार, साउदीमा ७३ हजार, दुबईमा ६३ हजार, मलेसियामा ६० हजार र बेलायतमा २३ हजारले त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिई हस्तलिखितलाई एमआरपीमा रुपान्तरण गरी राहदानी लिइसकेको राहदानी विभागका महानिर्देशक लालबहादुर थापाले जानकारी दिए ।
अहिले दैनिक छ हजार राहदानी छापिने गरेको र गत माघमा मात्रै एक लाख २७ हजार राहदानी छापिएको उनले जानकारी दिए । नेपालमा एमआरपी लागू भएपछिको पाँच वर्षमा ३२ लाखले एमआरपी लिएको विभागको तथ्याङ्क छ । आजको बैठकले विदेशमा रहेका नेपालीका लागि तोकिएको मितिभित्रै आवश्यक एमआरपीका लागि आवश्यक बजेट, पूर्वाधार, वातावरणको व्यवस्था मिलाउन एकीकृत रुपमा गृह, अर्थ, परराष्ट्र, श्रम मन्त्रालय सम्मिलित समिति बनाउन निर्देशन दिएको समितिका सभापति प्रभु साहले जानकारी दिए । उनले तोकिएको मितिभित्रै एमआरपी वितरणको व्यवस्था मिलाउनसमेत सरकारलाई निर्देशन दिइएको बताए । source os nepal
