..एमआरपी तीनदिनभित्र उपलब्ध गराउन निर्देशन
७ वैशाख, काठमाडौं ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जिल्ला प्रशासन कार्यालयमा मेसिन रिडेवल पासपोर्ट (एमआरपी) पुगेको तीन दिन भित्र सर्वसाधारणलाई उपलब्ध गराउन निर्देशन दिएको छ । जिल्लामा सर्वसाधारणले समयमै पासपोर्ट नपाएको गुनासो आउन थालेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले त्यस्तो निर्देशन दिएको हो ।
प्रधानमन्त्री कार्यालयले जिल्लामा पुगेको राहदानी समयमा वितरण नभए कारबाही गर्ने चेतावनीसमेत जिल्ला प्रशासन कार्यालयहरूलार्य दिएको छ । जिल्लामा पुगेर पनि पासपोर्ट समयमै वितरण नभएको गुनासो धेरै आएपछि प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका तर्फबाट मुख्य सचिव लिलामणी पौड्यालले मातहतका निकायहरूलाई सर्वसाधारणलाई समयमै पासपोर्ट उपलब्ध गराउन लिखित निर्देशन गत साता दिएका हुन् ।
प्रधानमन्त्री कार्यालयको निर्देशनमा राहदानी विभागमा फारम बुझाएको अनिवार्य १५ दिनमा राहदानी लिन आउन पर्ने र लगिएको तीन दिन भित्र सर्वसाधारणलाई उपलब्ध गराउनुपर्ने उल्लेख छ । यदि ढिलो भएको खण्डमा सम्बन्धित व्यक्तिलाई मोवाइलमा एसएमएस पठाउनुपर्ने लगायतको विषय राहदानी विभागले अघि बढाएको छ । विभागले जिल्ला र मिसनमा जाने पासपोर्टको सबै विवरण वेवसाइटमा नै राख्ने गरेको छ । कुनै त्रुटिहरु हुन नदिन पहिले नै राम्रोसंग विवरण हेर्ने र पासपोर्ट जारी हुँदा पनि त्यसको विवरण हेरेर दिनुपर्ने लगायतमा सुधार गर्दै जानुपर्ने लगायतका विषय छन् ।
सर्वसाधारणले समयमा पासपोर्ट नपाउने र जिल्लामा राहदानीमा दुख दिने जस्ता गुनासो भएपछि उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम र परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेलाई सम्वन्धित अधिकारीसहितलाई संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समितिले बोलाएर सोध्दै तत्काल छरितो बनाउन निर्देशन दिने कार्य समेत गरेको थियो ।
विभागले नियमित रुपमा पासपोर्ट जिल्ला पठाउने ब्यवस्था लामो समय देखि जारी रहेको भएपनि अधिकांश जिल्लाले भने समयमा राहदानी उपलब्ध नगराउने पुरानै समस्या अझै यथावत रहेको जानकारी गृह र प्रधानमन्त्री कार्यालयमा छ । तर यसमा सुधार हुन नसकेपछि यसप्रकारको निर्देशन गएको हो । आरम्भ देखि नै आवेदन संकलन पछि त्यो आवेदन लिएर काठमाडौं आउने र अघिल्लो पटक छोडेको आवेदनमा बनेको पासपोर्ट लिएर जाने गरिएको भए पनि त्यो ल्याउने र लैजाने काम समयमा जिल्लाले नगर्दा समस्या उत्पन्न भएको हो । कहिलेकाही विभागले पनि समयमा पासपोर्ट तयार नगरिदिने समस्या रहेको भए पनि लामो समय देखि त्यो अवस्था रहेको छैन् । अहिले बनेको सबै पासपोर्ट वेवसाइटमा राखिदिने हुनाले यो खुला नै छ ।source:nepali headline
