"यसकारण म घर फर्कन चाहन्नँ...कस्तो लुगा लाउने? समाजलाई सोध........?



राति ९ बजे तीन देशका जवान केटीहरू रेड वाइनको चुस्की लिँदै थिए। भारतकी मेघना निझावान र भियतनामकी हारु थिइन्। यी दुइटीलाई साथ दिने, अर्कोचाहिँ म। पेसाले हामी सबै ब्रोडकास्ट जर्नलिस्ट। घर छोडेर नेडरल्यान्ड आएदेखि नै हामी यो अजब देशका गजब मिल्ने साथी भएका छौँ। भोलि यी दुइटी घर फर्कँदैछन्। त्यसैले अन्तिम गुडबाइ साँझ रेड वाइनले रमाइलो पार्ने योजना बनाएका थियौँ।
पृष्ठभूमिमा मधुरो आवाजमा अंग्रेजी गीत बज्दैछ। भोलि त उनीहरू घर जाने दिन। खासमा खुसी हुनुपर्ने । भर्खर ट्राजेडी परेजस्तो किन दु:खी। मनमनै कुरा खेलिरहेछ।

‘नही मुझे घर नही जाना यार,’ मेघनाले निधार खुम्चयाँउदै लाडे पल्टेर भनी।
ठ्याक्कै मनको कुरा भनी उसले। म पनि घर फर्कन चाहन्नँ। आएकै दिन स्टाटस अपडेट गरेको थिएँ- फल इन लभ विथ आमस्टर्डम । साँच्चिकै लभ परेको छ मेरो, यो ठाँउसँग। अहँ, म घर फर्कन चाहन्न। युरोपका मन लोभ्याउने दृश्यहरू बयान गरेर साध्य छैन। बडा-बडा प्लेटफर्म भएका ट्रेन स्टेसन, भवनहरू अनि मान्छेका मन छुने व्यवहार।
हरेक हप्ता ट्रेन पक्रेर हामी आमस्टर्डम हुइँकिन्छौँ। साँच्चिकै रमाइलो छ यो सहर। मेघना सधैँ अनुरोध गर्छे - आज  स्कर्ट लगाऔँ है?
हामी अनि दंग परेर ‘हुन्छ’ भन्दिन्छौँ। स्कर्ट लगाउनु ठूलो कुरा होइन। तर जब हामी स्कर्टमा ठाँटिएर ट्रेनमा यात्रा गर्छौं, बेग्लै आनन्द आउँछ। स्कर्ट लगाएको देखेर कसैले जिस्काउँदैनन् यहाँ। मेघना पनि घरीघरी भन्छे- दिल्लीके ट्रेनमा कभी नही पेहन पाउंगी यार। अगर पेहन भी लिया तो पता नही किधर रेप हो जायगा मेरा।
सिरियस कुरालाई जोक्स बनाएर गललल हाँस्यौँ एकछिन। मन परेको लुगा लाउन सक्ने आँट मात्र होइन। मनको हरेक इच्छा पूरा गर्न अरु कसैलाई पहिला सोध्नु पर्छ हामीले। मेरो उमेरका केटीले अलि बढी नै सोच्नुपर्छ सायद।
कस्तो लुगा लाउने? समाजलाई सोध।
कति बजे घर फर्कने? छिमेकलाई सोध।
को सँग बिहे गर्ने? कानुनलाई सोध।
हरेक कुरा आफैँ गर्न सक्ने आँट छ हामीसँग? सायद छैन। टोलको एकजना बज्यै निधार खुम्च्याउँदै मलाई सधैं सोध्छिन्- कत्ति छोटो टिर्सट लगाको?
म हाँसेर जवाफ दिन्छु- पहिला-पहिला साडी चोलो लाउँथे। म अहिले जिन्सको पाइन्ट र चोलो लगाउँछु। यो जिन्स साडीभन्दा अलि बाक्लो छ है बज्यै? केटाहरूले जिस्काउँदैनन् नि, त्यही भएर लगाको।
बज्यै मेरो बांगो टिंगो जवाफ सुनेर सधैँ ट्वा पर्छिन्। कम्तीमा यहाँ कसैले यो प्रश्न सोध्दैनन्। वाह! क्या मज्जा छ जिन्दगी!
आमस्टर्डमबाट राति ११ बजेको अन्तिम ट्रेन लिएर हामी बेफिक्री यात्रा गर्छौँ। एकदमै सुरक्षित महसुस गर्छौँ। ती दिनहरू सम्झन्छु, जब म राति डेस्कमा बसेर काम गर्थेँ। घडीको सुईले ८ नाघेको संकेत गरेपछि त्यसपछिका प्रत्येक अंकले मेरो सातो लिन्थ्यो। लौ १० बजेछ। अब कसरी घर फर्कनु?
एउटा केटा साथीलाई त बोलाउनै पर्थ्यो। किनकी सुरक्षित यात्राको अर्थ साथमा केटा मान्छे हुनैपर्ने। जसोतसो केटा साथीको बाइकमा बसेर घर फर्किन्थेँ। काँइदा भो! तर छिमेकीले बाइकबाट ओर्लेको पर्दा चिहाएर हेर्दा देखे भने नि। मनमा कत्रो पीर। भोलिपल्ट टोलभरि हल्ला चल्न के बेर- फलानाका छोरी त आधारातमा खै! को हो केटासँग घर फर्किन्छे?
म कति बजे घर फर्किनुपर्छ भन्ने कुरा मैले मनमनै समाजलाई सोध्नैपर्छ। मलाई शीतल जुनको उज्यालोमा हिँड्न मन लाग्छ। स्वतन्त्र भएर राति हिँड्न त्यो प्रश्न मैले युरोपमा समाजलाई सोध्नुपर्दैन।
आमस्टर्डमा एउटा डच महिला भेटेँ मैले। साउन अफ्रिकनसँग बिहे गरेकी, आमा उनको जापानिज बाबु अमेरिकी। सुन्नेबित्तिकै भन्दिएँ- यतिका धेरै फरक देशका फरक मान्छेहरूले भरिएको परिवार। एक्सेप्टएबल छ?
उनले हाँस्दै भनिन्- हामी डच मान्छेहरू समतल समुद्र आसपास हुर्केका। टाढा-टाढासम्मका ठाउँ देख्छौँ अनि सोच्छौँ टाढा देशका मान्छेलाई पनि आफ्नो बनाउनुपर्छ भनेर।
मेरो दिल जित्यो, उसको कुराले।
केही महिनाअघि बिबिसी मिडिया एक्सनको साझा सवाल हेरेको थिएँ। आमाको नामबाट नागरिकता दिने विषयको कार्यक्रममा एक नेपाली महिला भन्दै थिइन्- उनले विदेशी नागरिकसँग प्रेमविवाह गरेकी थिइन। सम्बन्ध राम्रो भएन र टुट्यो।
तर, उनको सम्बन्ध मात्रै होइन। छोरीको नेपाली नागरिकता बनाउन सक्ने आधार पनि टुट्यो।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने उनलाई जवाफ दिँदै थिए- विदेशी नागरिकसँग बिहे गर्ने गल्ती गरेपछि सजाय भोग्न पनि सिक्नुपर्‍यो नि?
वरिष्ठ अधिवक्ताको जवाफले ठाडै भन्थ्यो- नेपाली महिलाले मनपरेका मान्छेसँग बिहे गर्न पहिले कानुनसँग सोध्नुपर्छ। आफ्नो लागि मनपरेको मान्छे छान्ने अधिकार सायद नेपाली महिलाका लागि छैन।
हुनत सबै नेपाली महिलाले जेम्स र विलियम्स नाम गरेका कुइरेलाई नै बिहे गर्छन् भन्ने पनि छैन। तर के हामीसँग हरेक खुसी बाँच्न सक्ने च्वाइस छ त? त्यसैले मलाई युरोपको ठुल्ठूला विल्डिङले होइन, यहाँको स्वतन्त्रताले लोभ्यायो।
source:tholo pokhra




प्रतिक्रिया दिनुहोस्...