मृतकसँग एक रात



तनहुँ : 'घारीबाट यात्रु पुर्‍याएर फर्केका थियौं। कतिबेला गाडि पल्टियो थाहै भएन। १६ वर्षे सुविन सुनारले भने,' एक्कासी राती व्युँझँदा पो दुर्घटनामा परेको थाहा पाए।'


सोमबार राती शुक्लागण्डकीको घारीमा यात्रु पुर्‍याएर साथीसंगै फर्केका उनी दुर्घटनाको विवरण सुनाउँदै थिए। ' विहानैको समय थियो। साथमा मोबाईल पनि थिएन। हिंड्ने अवस्था पनि भएन' ,उनी भन्दै थिए, 'अघिल्लो रात संगै फर्केको साथी विहान इन्तु न चिन्तु। छाम्दा त सासै थिएन।'

हिंड्न नसक्ने अवस्थामा भएकाले विहान नहुँदासम्म त्यत्तिकै मृतकसंगै बस्नुपरेको उनले बताए। कास्कीको धम्पुस पिकनिक गएको घारीको एक समूहलाई त्यहाँ पुर्‍याएर चालक सहित तीन जनाको टोली दुलेगौंडा फर्कंदै गर्दा घारीमा राती करिब १० बजे ग १ ख ४७९१ नम्बरको यात्रुवाहक बस कच्चि सडकबाट करिब १५ मिटर तल खसेको थियो।

दुर्घटनामा सह चालक तनहुँ थर्पुका विशाल विकको ज्यान गएको छ। बसका चालक व्यास ६ का नविन मगर बस पल्टने डरले पहिल्यै हाम फालेर भागेपछि सविनले मृतक विशालसंगै रात कटाउनुपर्‍यो। 'हिजो संगै हाँस्दै फर्किएका हामी विहान त्यस्तो अवस्था देख्नुपर्‍यो,' उनले भने।

त्यही बाटो हुँदै हिंडडुल गर्ने स्थानीयको सूचनाका आधारमा प्रहरीले मंगलबार विहान ६ बजे मात्र नवीनको उद्धार गरेको थियो। उद्धार गरे लगत्तै प्रहरीले उनलाई उपचारका लागि पोखराको चरक अस्पताल पुर्‍याएको छ। मृतक सह चालक विकको शव पोष्टमार्टमका लागि दमौली अस्पताल राखिएको छ।

दुर्घटनालगत्तै फरार चालक नविन प्रहरी नियन्त्रणमा छन्। घटनाबारे अनुसन्धान गरिरहेका ईलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायण पौडेलले भने,'चालकले बस चलाएको दुई दिन मात्र भएको देखियो। बसका चालक काठमाडौं गएकाले उनले चलाएका रहेछन् ।'

उनले दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको बताए। चालकले एक्कासी बस पल्टेको बयान दिएका छन्। हेर्दा प्राविधिक रुपले बस ठिक जस्तो देखिए पनि अनुसन्धानपछि कारण खुल्ने कार्यालयका प्रमुख कृष्णप्रसाद अर्यालले बताए ।




प्रतिक्रिया दिनुहोस्...