कपुत छोराले गरे बाबुको घाटी रेटी हत्या, आमा छोरीले विष पिए



धादिङको भुमेस्थानमा छोराले आफ्नै बाबुको हत्या गरेको छ। भुमेस्थान–३ इजाराको सुनारगाउँमा छोरा ध्रुबबहादुर सुनारले आफ्नै बाबु ५५ वर्षका कृष्णबहादुर सुनारको घाँटी रेटी हत्या गरेका हुन् । छोराले बाबुको हत्या गरेपछि ध्रुबकी ५० वर्षकी आमा बृन्दा र २३ वर्षकी बहिनी बट्टाइले विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् ।

विष सेवनबाट गम्भीर भएका आमा छोरीको काठमाडौंको वीर अस्पतालमा उपचार भैरहेको छ । मंगलबार बेलुका घरमा कोही नभएको बेला पारी ध्रुबले बाबुको चक्कुले घाँटी रेटी हत्या गरेको खुलेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । बाबुको हत्या पछि भाग्दै गरेका ३२ वर्षका ध्रुवलाई गाउँलेको सहयोगमा मंगलबार रातीनै प्रहरीले पक्रेको छ ।बाबुको हत्या आफूले गरेको र हल्ला गरे अरुलाई पनि काटिदिने धम्किदिँदै ध्रुबले केहि बेर घटनास्थल नियन्त्रणमा लिएको गाउँलेले बताए । कोठामा सुतिरेहका कृष्णबहादुरको हत्या भएको देखेपछि परिवारका सदस्यहरुले गाउँलेसँग गुहार मागेका थिए ।
कृष्णबहादुरको घाँटीरेटी हत्या भएको देखेपछि कृष्णबहादुरकी श्रीमती बृन्दा र छोरी बट्टाइले तरकारीमा प्रयोग गर्नका लागि ल्याइएको विषादी सेवन गरेको प्रहरीले जनाएको छ । कृष्णबहादुरको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । मंगलबार दिउँसो दसैँको टिका लगाउन छोरी बट्टाइ श्रीमानसहित माइत आएकी थिइन् । छोरी ज्वाईलाइ टिका लगाई कोठामा सुत्न गएका कृष्णबहादुरलाई घरमा मानिसको चहलपल घटेपछि छोराले चक्कुले घाँटी रेटी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । source:setopati




प्रतिक्रिया दिनुहोस्...