नेपालगन्ज, कार्तिक २ - करिब ७० वर्षीया बेसहारा भेरी अन्चल अस्पतालको एउटा कुनामा ७ बर्षदेखि अलपत्र अवस्थामा छिन् । पैदल हिँड्दै गर्दा गाडीले किचेर दाइने खुट्टा भाँच्चिएर घाइते भएकी बृद्धालाई प्रहरीले भ्यानमा हालेर अपातकालीन कक्षमा छाडेर गएको थियो । त्यसपछि अहिलेसम्म अस्पतालमा छिन् ।
चिकित्सकहरुले खुट्टाको उपचार गरे । तर, हेरबिचार गर्ने कोही भएन । दिसा-पिसाव गर्न लैजाने र स्याहार सुसार गर्ने नहुँदा प्लास्टर खोलेर हिँडन बाध्य भइन् । ' त्यसरी हिँडनु पर्दा भाँच्चिएको खुट्टाको हड्डी जोडिएन' ती बेसाहाराको अवस्थाका बारेमा जानकारी दिंदै निमित्त नर्सिङ प्रशासक मनसरी थापाले भनिन्,' हिँड्नै नसक्ने भएर धेरै बर्ष थला परेकाले कुजिएर दुबै खुट्टा नचल्ने भएका छन् ।'
अचेत अवस्थामा अस्पताल पुर्याएकी ती बृद्धा होसमा आउँदा आफनो नाम समेत भूलिसकेकी थिइन् । उनी को हुन् ? के नाम हो ? काहाँकी हुन् ? कसैलाई थाहा छैन । 'उठ्न सक्दिनन् । बेडमै दिसा-पिसाव गर्छिन्' नर्सिङ अधिकृत कु्सुम पौडेलले भनिन्' हामीहरुले नै नुहाइ दिने, कपाल कोरी दिन र कपडा फेरि दिने गर्छौ ।' दिसा-पिसाव भने सुइपरहरुले सफा गर्छन् ।
नर्सहरुले सुरुका केही बर्ष उनलाई असाहाय बिरामी राख्ने वार्डमा राख्दै आएका थिए । तर अहिले अस्पतालमा उक्त वार्ड छैन । अस्पताल व्यवस्थापनले असाहायहरुको वार्डलाई क्याविन बनाएकाले आफन्त बिहीन र पैसा नहुँने असाहाय बिरामी बिचल्लीमा पर्दै आएका छन् ।
'ती बृद्धालाई पनि राख्ने कुनै ठाउँ छैन । कहिले कता कहिले कता सार्नु पर्छ' ७ बर्ष देखि निगरानी राख्दै आएकी मनसरीले भनिन् । धेरै जसो उनी अस्पतालको माथिल्लो तलाको वर्न वार्ड बाहिर एउटा स्टेचरमा कुक्रुक्क परेको अवस्थामा भेटिन्छिन् ।
'घर जाने र खाने कुरा ल्याइदिएको छ' भनेपछि उनी खुशी हुन्छिन् । अघिपछि कसैसँग बोल्न चाहान्नन् ' प्रमुख स्टाफ नर्स लक्ष्मी केसीले भनिन्,' कसैले उद्धार गरी दिएपनि धर्म लाग्ने थियो ।' ती बृद्धाको अवस्थाले अस्पतालका कर्मचारी निकै चिन्तित छन् । 'कुरै बुझिदैन् । कसरी उनका आफन्त खोज्ने ?' कुसुमले भनिन् ।
अस्पतालका नर्सहरु उनलाई जाडो महिनामा प्रहरीले ल्याएर छाडेको बताउँछन । अस्पतालमा ती बृद्धाको अभिलेख पनि छैन । अस्पतालमा दैनिक सयौं मानिस ओहोर दोहोर गर्ने भूइँमा ती बृद्धाका धेरै बर्ष बिति सकेका छन् । कहिले खान पाउँछिन् । कहिले भोक-भोकै बित्छन् उनका दिनहरु । तर अहिलेसम्म कसैले मानवीय सहयोगको चासो देखाएका छैनन् । उनी मैथली भाषामा सामान्य कुरा गर्छिन् । र आफनो नाम कुमारी बताउँछिन । मानव सेवाका लागि बसेकाहरुले 'के यो धर्माशाला हो र ? भन्छन्' एक जना नर्सले भनिन्,' यस्तो हुँदा पनि मानवीय संवेदना देखिएन ।'
अस्पतालका मेडिकल सुपरिटेण्ट डा. पिताम्बर सुवेदी मानवीय सहयोग जुटाउनु बाहेक अस्पतालसँग अन्य विकल्प नभएको बताउँछन् । उनले अस्पतालमा यस्ता अन्य ३ जना बेसाहारा रहेको बताए । 'धेरै व्यवहारिक समस्या छन्' सुवेदीले भने,' समाचारमा आयो भने मानव सेवा गर्नेहरुको ध्यान जान्थ्यो की ?'
