News
»
पहिरो पीडितको बिचल्ली अझै भएन पुनर्वास
पहिरो पीडितको बिचल्ली अझै भएन पुनर्वास
सिन्धुपाल्चोक,कात्तिक १ – गत साउन १७ गते सिन्धुपाल्चोकको राम्चे र माङ्खा गाविसको सिमानाको गएको भीषण पहिरोमा परी घरवारविहीन भएकाको सरकारले हालसम्म पुनर्वास प्रक्रिया अझै अघि बढाउन सकेको छैन ।

आफ्नो भएको सबै धन सम्पत्ति गुमाएर अस्थायी छाप्रोमा गुजारा चलाउन बाध्य पीडितहरू सरकारले हालसम्म पनि पुनर्वास प्रक्रिया अघि नबढाएकोमा आक्रोसित बन्न थालेका छन् । त्रिपाल र म्याग्नेसाइटको कोलोनीमा बसेका पीडितहरू स्थायी बसोवासको व्यवस्था हुन नसक्दा नियमित काममा समेत फर्कन नसकेको पीडित काले तामाङले दुःखेसो पोखे । सरकारले पीडितलाई दसैँअघि नै पुनर्वास गराउने आश्वासन दिएको थियो । तर तीन महिनाको लागि अस्थायी र त्यसपछि स्थायी पुनर्वास गराउने सरकारको वाचा थियो । तर त्यो अहिलेसम्म पनि पूरा हुन सकेको छैन । पछिल्लो तथ्याङ्कअनुसार ४०४ परिवारका एक हजार ८९० जना विस्थापित भएका छन् । अहिले ४३ परिवार लामोसाँघुस्थित उद्योगमा आश्रित छन् भने स्थानीय इटनी गाउँका १६ परिवार पाल टागेर रात बिताइरहेका छन् । पीडितका अनुसार अहिले उनीहरूलाई चिसो बढेसँगै उक्त ठाउँमा बस्नसमेत कठिनाइ हुँदै गएको छ भने कतिपयलाई चिसोका कारण रुघाखोकी, निमोनिया तथा दमको समस्या देखिन थालेको छ । स्थानीय प्रशासनद्वारा गठित प्राविधिक समितिले सरकारलाई बुझाएको प्रतिवेदनअनुसार भएको जमिन र घरसमेत बगाउँदा पुनःस्थापना गर्नुपर्ने परिवारको सङ्ख्या १०८ छ ।
प्रतिक्रिया दिनुहोस्...