पूर्वयुवराज पारस १० लाख भाट तिरेपछि हिरासतमुक्त
काठमाडाैं, ३१ असोज ।
गाँजा अोसारपसारको आरोपमा पक्राउ परेका पूर्वयुवराज पारस शाह एक सातापछि हिरासतबाट मुक्त भएका छन्। उनलाई बुधबार थाइल्यान्डको समयअनुसार साँझ ५ बजे जमानतमा रिहा गरिएको हो। करिब १० लाख भाट तिरेपछि उनी रिहा भएकाे बताइएको छ ।
समाचारहरूमा जनाइएअनुसार पारस समातिएको खबर हुरीजसरी बाहिर अाएपनि उनी रिहा भएको खबरलाई वकिल साक्छाईले अति गोप्य राखेका थिए। पारस पक्राउ भएको विषयमा नेपालमा बढी अफवाह फैलिएका कारण पूर्वराजपरिवारका सदस्यले समेत घटनालाई गोप्य राखिदिन अनुरोध गरेका कारण वकिल साक्छाईले पारस रिहा भएको विषयलाई अति गोप्य राखेका हुन्।
लुङखाई प्रहरीले १२ दिनभित्र पारसलाई तारिखमा छाडेको छ। थाइल्यान्ड सरकारलेसमेत पूर्वयुवराज पक्राउ भएको घटनालाई विशेष चासो देखाएको हो। अब उपस्थित हुँदा उनको मुद्दा खारेज गर्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ ।
पारसको मुद्दालाई प्रहरी अनुसन्धानले नै फितलो गराएर उनलाई रिहा गरेको हुन सक्ने आँकलन गरिएको छ। अदालतबाट जमानतमा रिहा भएलगत्तै पारस बुधबार लुङखाई पुग्नुभएकी सीताष्मा र केही नेपालीको साथमा बिहीबार थाइल्यान्ड आइपुगेका छन्। स्रोतका अनुसार उनी अहिले प्रेमिका कन्निकासँग टाढै रहेका छन्। परिवार र साथीसँग बैंककमा रहेका पारसलाई त्यहाँका नेपालीले समेत केही समयका लागि नेपाल फर्काउने प्रयास जारी राखेका छन्।
करिब दुई महिनाअघि भिसाको म्याद सकिएपछि तीन महिना थप गरी स्टुडेन्ट भिसामा थाइल्यान्ड बसिरहेका पारसले लुङखाई अदालतबाट रिहा भएलगत्तै बैंकक पुग्दा समेत नेपाल नफर्कने चाहना व्यक्त गरेको थाइल्यान्डका एक नेपालीले बताए। तर पूर्वराजपरिवारले भने तिहारअघि नै नेपाल फर्काउने तयारी गरिरहेको छ। सीताष्माकै साथमा नेपाल फर्काउने तयारी भइरहेको पूर्वराजपरिवार निकट स्रोतले जनाएको छ।
