दोहा (कतार) , १२ असोज । कतारका अमिर तमिम बिन हमाद अल्थानीले आफ्ना देशमा रहेका कामदारमाथि हुने शोषणहरु कुनै हालतमा स्वीकार नहुने बताएका छन् । कतारमा कार्यरत कामदारहरुले समस्या रहेकोमा उनले स्वीकार गरेका छन् । ‘हो, हामीकाँहा कामदारको समस्या छ । हामी त्यसलाई समाधान गर्दछौं । हामी कानुनहरु परिबर्तन गर्दछौं । म त्यो अबस्थालाई हेरेर बसिराख्न सक्तिन’, अन्तराष्ट्रिय टेलिभिजन च्यानल सिएनएनलाई बिशेष अन्तर्वार्ता दिदै उनले भने,’त्यो अबस्थालाई स्वीकार गर्न सक्तिन ।’
बिदेशी सञ्चारमाध्यमलाई पहिलो पटक अन्तर्बार्ता दिएका कतारी अमिर तमिमले कामदारको हित र अधिकारको पक्षमा धेरै कानुनहरु परिवर्तन हुन गइरहेको बताए । ‘हामी धेरै कानुनहरु परिवर्तन गइरहेका छौं’, उनले भने,’कामदारको अबस्थालाई तल्लो तहमै गएर परिवर्तन गर्ने हाम्रो योजना छ ।’
कतारमा झन्डै १८ लाख बिदेशी कामदार छन् । त्यसमध्ये ४ लाख नेपाली रहेको छ । कामदारले समयमा तलब नपाउने, लामो घण्टा काम गर्नुपर्ने, कम्पनीको अनुमति बिना घरफिर्न नपाउने, कामदारको बसोबासको अबस्था नाजुक रहेको भन्दै अन्तराष्ट्रिय मानबअधिकारबादीहरुले कतारलाई दवाव दिदै आएको छ । उनीहरुले कामदारको अधिकार, श्रम मैत्री कानुनहरु परिवर्तन नभएसम्म सन् २०२२ मा हुन गइरहेको बिश्वकप कतारलाई दिननहुनेमा जोड दिदै आएका छन् ।
‘कतारमा सायौं हजार कामदार बिकासन्मुख देशबाट आएका छन् । समस्यालाई तुरुन्त हटाउन कठिन छ’, उनले अन्तर्बार्तामा भनेका छन्,’हामी ती समस्यालाई समाधान गर्न कानुन परिवर्तन गर्ने पक्षमा छौं । अबश्य कानुन परिवर्तन हुनेछ ।’ उनले कामदारको अबस्थाले आफुलाई निकै चित्ता दुखेको बताए । ‘यो अबस्थाले मेरो मन दुखेको छ’, उनले भने,’म आफै यो स्थिति हेरेर बस्न सक्तिन । कतारले यस्तो अबस्था स्वीकार गर्दैन ।’
उनले बिश्वकपलाई निकै सानदारसँग सम्पन्न गर्न सक्ने क्षमता रहेको बताए । ‘मानिसहरु एउटा सानो मुस्लिम देशले बिश्वकपको बाजी मार्न सकेकोमा त्यसलाई स्वीकार गर्न सकेको छैन’, उनले भने,’अहिलेसम्मको सबैभन्दा राम्रोसँग कतारले बिश्वकप गरेर देखाउनेछ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ । #स्रोत : अनलाईन खबर
कामदारमाथि हुने शोषण स्वीकार्य छैन : कतारी अमिर