सेयर मार्केटका सञ्चालकलाई तीन वर्ष कैद र ६ करोड जरिवाना
३ वैशाख, काठमाडौ । सेयर मार्केटका सञ्चालकद्वय योगेन्द्र श्रेष्ठ र सिद्धार्थमान मास्केलाई रकम अपचलन गरेको ठहर गरी पुनरावेदन अदालत पाटले जनही ६ करोड रुपैयाँ भन्दा बढी जरिवाना गरी तीन वर्ष कैद गर्ने फैसला गरेको छ ।
सेयर मार्केटको रकम हिनामिना गरेको आरोपमा ती दुई सञ्चालक श्रेष्ठ र मास्केलाई नेपाल सरकारले गएको दुई वर्ष दुई वटा मुद्दा छुट्टाछुट्टै रुपमा पुनरावेदन, पाटनमा दायर गरेको थियो ।
सो अदालतले एउटा मुद्दामा प्रतिवादीहरु श्रेष्ठ र मास्के प्रत्येकलाई ३ करोड २३ लाख ७७ हजार ९ सय १५ रुपैयाँ दुई पैसा जरिवाना गर्ने फैसला गरेको थियो ।
यसैगरी अर्को मुद्दामा ती दुई प्रत्येकबाट ३ करोड २१ लाख ३९ हजार ६ सय ८१ रुपैयाँ ५१ पैसा जरिवानास्वरुप असुलउपर गर्नुपर्ने गरी न्यायाधीस दाहाल र भट्टको इजलासले फैसला गरेको बताइएको छ । ती दुवै मुद्दामा गरी श्रेष्ठ र मास्केले ६ करोड ४४ लाख १७ हजार पाँच सय ९६ रुपैयाँ ५३ पैसा जरिवाना बुझाउनुपर्ने भएको पुनरावेदन अदालत पाटनले जनाएको छ ।
ती दुई सञ्चालकले सेयर मार्केटको रकम अपचलन गरेको आरोप लगाई विभिन्न उजुरी परेको र सीआईबीले पनि त्यसमा छानबिन गरी त्यससम्बन्धमा प्रमाण पुगेपछि नेपाल सरकारले मुद्दा दायर गरेको थियो ।
