..मलेसियामा नेपालीको दुर्दशा देख्दा रुन मन लागेको क्षण
नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष, एमाओवादी
जनप्रगतिशील मञ्चको छैठौं राष्ट्रिय सम्मेलनमा सहभागी हुन मजदुर नेता गणेश रेग्मीसहित गत चैत २१ मा मलेसिया प्रस्थान गरें । २२ चैतमा सम्मेलन थियो । प्रेम पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भयो । मलेसिया भ्रमणको दोश्रो उद्देश्य पनि थियो । नेपालबाट रोजगारीका लागि मलेसिया गएका लाखौं नेपाली युवाको स्थिति बुझ्नु, तिनका समस्या केलाउनु र समस्या समाधानका लागि मेलिसिया र नेपालका सरकारी अधिकारीहरुको ध्यानाकर्षण गराउनु ।
नेपाली मजदुरको समस्याबारे मलेसिया सरकारका उपगृहमन्त्री, उपसभामुख, सत्तारुढ पार्टीका सांसदहरु, प्रहरी प्रमुख, डिपोट सेन्टरका प्रमुख, त्यहाँस्थित नेपाली राजदूतसहित दूतावासका कर्मचारी, गैरआवासीय नेपाली संघका प्रतिनिधि र मजदुरहरुसँग छुट्टाछुट्टै र सामूहिक छलफल तथा भेटघाटहरु गरियो ।
खास गरी मलेसियन अधिकारीहरुसँग रोगजारीका आउने क्रममा र आएपछि नेपालीहरु कसरी ठगिएका छन् भन्नेबारेमा गम्भीरतापूर्वक विस्तृतमा कुरा गरें । नेपाली कामदारका लागि मलेसिया जान वैधानिक रुपमा तोकिएको भिसा चार्ज जम्मा ७ सय रिंगेट हो । तर भिसा प्रोसेसिङका नाममा प्रतिव्यक्ति ३२ सय रुपैयाँ लिने गरिएको छ । यो चकलेटको सात सय र चकलेटको खोलको ३२ सयजस्तो भयो । यो नेपाली कामदारीमाथिको ठूलो शोषण र अन्याय त हुँदै हो, मलेसिया सरकारले समेत आफ्नो ‘रुल अफ रेगुलेसन’ लागू गराउन नसक्नु दुर्भाग्यपूर्ण विषय हो ।
नेपालको प्रमुख विपक्षी दलको जिम्मेवार नेता र पूर्वपरराष्ट्रमन्त्रीको हैसियतमा मैले मलेसियाली अधिकारीहरुलाई गैरकानूनी रुपमा नेपाली कामदारबाट असुल्ने त्यस्तो प्रक्रिया तत्काल रोक्न ध्यानाकर्षण गराएँ । मैले जबर्जस्त रुपमा त्यस्तो ठगी रोक्न दबाबकै शैलीमा कुराकानी गरें । नेपालीले हरेक वर्ष भिसा प्रोसेसिङका नाममा २ अर्ब रुपैयाँ बुझाउने गरेका रहेछन् । नेपाल सरकारले मलेसिया जान तोकेको रेट ८० हजार हो । तर युवाहरु १ लाख ७० हजारसम्म तिर्न बाध्य छन् । यो तोकिएको भन्दा दोब्बर रकम हो । अझ कतिपय अवस्थामा म्यानपावर कम्पनीले त्योभन्दा बढी रकम असुल्ने गरेका छन् ।
कामदारबाट गैरकानूनी रुपमा असुल गरिएको रकम मलेसिया र नेपालका सत्ताका नजिक रहेका माफिया, म्यानपावर संरक्षक र एजेण्टहरुले बाँडेर खाने गरेका रहेछन् । यस्तोसम्मकी नेपालमा म्यानपावरले भनेजति पैसा बुझाउन नसकेका कामदारको तलबबाट रोजगारदाता कम्पनीले पैसा काट्दो रहेछ । कामदार र म्यानपावर कम्पनीबीच भएको सम्झौतासँग रोजगारदाताको कुनै सम्बन्ध हुनुनपर्ने हो । तर, रोजगारदाता र म्यानपावर मिलेर लुट्ने काम गरिरहेका छन् ।
अर्को गम्भीर विषय भनेको नेपाली कामदारसँग म्यानपावर कम्पनीले बदनियतपूर्वक दुईवटा सम्झौता गरेका हुन्छन् । राम्रो तलब, राम्रो काम र राम्रो सेवासुविधासहितको नक्कली सम्भौता नेपालको अध्यागमनमा देखाउँछन् । अध्यागमनबाट जब कामदार भित्र छिर्छन् तब म्यानपावरका एजेण्डले सम्झौता च्यातेर फालिदिन्छन् । कतिपय अवस्थामा सक्कली र नक्कली दुवै सम्झौता च्यातिने गरेको पाइयो । सम्झौता नै नभएपछि कामदारले कतै उजुरी गर्न पाएन ।
जब कामदार मलेसियाको एयरपोर्टमा झर्छ, तब उसको दुर्दसा सुरु हुन्छ । एकाधबाहेक म्यानपावर र रोजगारादाता कामदार लिन समयमा विमानस्थल पुग्दैनन् । यतिसम्मकी नेपाली युवाहरु तीन दिनसम्म रोजगारदाता र म्यानपावरका प्रतिनिधिको प्रर्खाइमा विमानस्थलमै भौंतारिने गरेका छन् । विदेशको ठाउँ, खाने बस्ने र सुत्ने कुराको ठेगान छैन । अझ त्यसमाथि मलेसियन प्रहरी र अध्यागमनका कर्मचारीको दुव्र्यवहार हेर्ने हो भने कुनै पनि नेपाली मन चिराचिरा हुन्छ । विदेश गएर पैसा कमाउँछु र नेपालमा रहेका छोराछोरी, श्रीमती र परिवारलाई सुख दिन्छु भन्नेसपना बोकेर गएको युवा बिनागल्ती कुटाई र दुव्र्यवहारको शिकार भइरहेको हुन्छ । बल्लबल्ल रोजगारदाता लिन आउँछ, अब त काम पाइएला भन्ने कुराले हर्ष भएको नेपाली त्यतिबेला छाँगाबाट खसेजस्तो हुन्छ कि जतिबेला नेपालमा भनिएको भन्दा फरक काम र त्योभन्दा कम तलबमा काम गर्न बाध्य हुन्छ । अधिकांश कामदार नेपालमा म्यानपावरले भनेको भन्दा नराम्रो काम कम पैसामा गर्न बाध्य भइरहेको भेटियो । ऊ बाध्य भएर काम गर्छ । किनकी नेपालबाट आउँदा ब्याजमा साहुसँग ऋण लिएको हुन्छ । सम्झौता पहिल्यै च्यातिइसकेको हुनाले उजुरी गर्ने कानूनी आधार पनि हुँदैन । कुरा त्यत्तिमै सीमित छैन । काम सुरु भएपछि पासपोर्ट मालिकले खोसेर राख्दोरहेछ । त्यसो किन गर्दा रहेछन् भने भनेको भन्दा नराम्रो काम भएपछि कामदार भागेर जान सक्छ । पासपोर्ट नियन्त्रणमा लिएपछि कम्पनीको अनुमतिबेगर बाहिर जाने बित्तिकै कामदार ‘इलिगल’ हुन्छ । बाहिर पासपोर्टबिना हिंडेको भेट्नेबित्तिकै प्रहरीले पक्रन्छ, थुन्छ र डिपोर्ट सेन्टरमा पठाइदिन्छ । उकुसमुकुस भएपछि जेसुकै होस् भन्ने मनस्थितिमा नेपालीहरु पासपोर्टबिनै बाहिर निस्कँदा रहेछन् । उनीहरुलाई प्रहरीले दिने यातनाको बर्णन गरेर साध्य छैन । मोबाइल र भएको पैसा लुटेर रित्तोहात डिपोट सेन्टरमा पठाइन्छ ।
होस्टेलमा बिगोज
मेले नेपाली कामदारहरुलाई राखिएका केही होस्टेलहरुको भ्रमण गरें । तुलनात्मक रुपमा होस्टेलहरु ठीकै थिए । सायद हामीलाई त्यहाँ भएकामध्ये राम्रा होस्टेलहरुको मात्र भ्रमण गराइयो । होस्टेलमा खर्भर स्कुल र प्लस टु लेभलमा पढ्ने टिठलाग्दा नेपाली किशोरीहरु भेटिए । उनीहरु प्रहरीको ज्यादतिबाट आजित थिए । कुनै पनि बेला प्रहरीले सुरक्षाका नाममा छामा मार्ने र होस्टेलबाट बाहिर निकाल्ने गर्दारहेछन् । कहिले काहीं मध्यरातमा होस्टेलबाट गलहत्याइएका घटना पनि उनीहरुकै मुखबाट सुनियो । किशोरीहरु आफूलाई असुरक्षित ठान्दारहेछन् । उनीहरु हमेसा कतिबेला दुव्र्यवहारको शिकार भइने हो भन्ने तनावमा बाँच्दा रहेछन् । नेपाली संघसंस्थाका प्रतिनिधि र दूतावासका अधिकारीहरुका अनुसार त्यहाँका धेरैजसो होस्टेल बस्नका लागि लायक छैनन् । मापदण्ड पूरा नगरिएका, स्वास्थ्यका हिसाबले पनि प्रतिकुल, क्षमताभन्दा बढी कोचेर राख्ने गरिएको रहेछ । यतिसम्मकी एकजना काममा नगई अर्को बाहिरबाट आएर बस्ने ठाउँ हुँदोरहेनछ ।
मैले मलेसियाका उपसभामुख, सत्तारुढ दलका सांसद् र उपगृहमन्त्रीसहितलाई नेपाली कामदारले भोग्नुपरेका पीडाबारे आफूले देखेका र सुनेका जति सबै विषयमा गम्भीरतापूर्वक अवगत गराएको छु । भिसा प्रोसेसिङका नाममा हुने गरेको ठगी रोक्न उपभासमुख र उपगृहमन्त्री सकारात्म्क देखिएका छन् । उनीहरुले मेरा कुरा गम्भीरतापूर्वक सुने र समाधानका लागि आफ्नो ठाउँमा भूमिका खेल्ने बताए । उपसभामुख र सत्तारुढ पार्टीका सांसदले सरकारको ध्यानाकर्षण गराउने बताएका छन् भने उपगृहमन्त्रीले समस्या समाधानका लागि पहल गर्ने बचन दिएका छन् । मलेसियाले ‘बायोमेट्रिक प्रणाली’ का नाममा नेपाली कामदारको पुनः स्वास्थ्य परीक्षण गर्नुपर्ने नियम बसाल्न खोज्दैरहेछ । तर स्वास्थ्य परीक्षणमा लाग्ने खर्च कामदार स्वयंले ब्यहोनुपर्ने प्रावधान राखिएको रहेछ । मैले कामदारमाथि आर्थिक भार पर्ने गरी त्यसो नगर्न भनेको छु । त्यसमा पनि अधिकारीहरु सकारात्मक देखिएका छन् । मेले आफ्नो देशको रुल अफ रेगुलेशन प्रभावकारी हिसाबले लागू गर्न उनीहरुको ध्यानाकर्षण गराएँ । त्यसो हुन सकेमा नेपालीसहित त्यहाँ रहेका सबै विदेशी कामदारको हित हुने थियो । पासपोर्ट मजदुरसँगै हुनुपर्छ, सम्झौताअनुसारको काम र पारिश्रमिक पाउनुपर्छ, प्रहरीको अत्याचार रोकिनुपर्छ, कामदारबाट घूस लिने चलन अन्त्य हुनुपर्छ, नेपालीहरुको धार्मिक आस्थाविपरीतको खानेकुरा जबर्जस्ती खुवाउन पाइँदैन (जस्तै गाईको मासु) र ठगी गर्ने म्यानपावर कम्पनीमाथि कारबाही हुनुपर्छ भन्ने विषय जोडदार रुपमै राखें । महिनामा एक सय रिंगेट लेबी र ५० रिंगेट होस्टेलका नाममा काट्ने गरिएको छ ।
नेपालीहरु मलेसियामा बंधुवा मजदुरजस्ता छन् । तलब कम, सम्झौताभन्दा फरक काम, साहुको दुव्र्यवहार आदिका कारण निस्सासिएर नेपाली बाहिर आउने रहेछन् । पासपोर्ट पहिल्यै साहुले कब्जामा लिइसकेको हुन्छ ।
पासपोर्ट नभएपछि प्रहरीले समाउँछ, साथमा भएको पैसा, मोबाइल र घडी लुट्छ । केही दिन चरम यातनासहित थुनेपछि डिपोट सेन्टरमा बुझाइन्छ । डिपोट सेन्टरमा रहेकोबारे साथीभाई, घरपरिवार कसैलाई जानकारी गराउन दिइँदैन । म एउटा डिपोट सेन्टरमा गएँ । कामछाडेर भागेका ५७ जना नेपाली रहेछन् । उनीहरु कसैसँग पासपोर्ट थिएन । उनीहरुमाथि अमानवीय व्यवहार भएको देखें । एउटै हत्कडीमा पाँच÷सात जना नेपालीको हात बाँधेर राखिएको थियो । त्यो दृश्य हेर्दा रुन मन लाग्यो । ती नेपालीले त्यसरी अपमान सहनुपर्ने काम केही गरेका थिएनन् । मात्र भनिएजस्तो काम नभएपछि बाहिर गएका हुन् । डिपोट सेन्टरको मुख्य उद्देश्य गैरकानुनी रुपमा बसेका विदेशी नागरिकलाई सम्बन्धित देश फर्काउनु हो । तर त्यहाँ त नेपालीलाई भेडा बाख्राजसरी बाँधेर राख्ने गरिएको रहेछ । डिपोट सेन्टरबाट फोन गर्न नपाइने । जब आफन्त र साथीभाईलाई फोन गर्नसमेत दिइँदैन, तब आपतमा परेको त्यो नेपाली कसरी प्लेट टिकट काटेर स्वदेश फर्कन सक्छ ? त्यो देरावस्था देखेपछि मैले डिपोट सेन्टरका प्रमुखसँग भेटें र नेपालीमाथि भएको अमानवीय व्यवहारबारे सचेत नागरिकका हैसियतमा गम्भीर आपत्ति जनाएँ । मेले उनलाई सोधें, ‘यो के गरेको ? मेरो कुराले उनी गम्भीर भए र डिपोट सेन्टरको नेपाल हेर्ने प्रमुख एकजना महिलालाई बोलाए । उनले मेरै अगाडि ती महिलालाई नेपालीलाई उनीहरुले चाहेका व्यक्तिलाई आजैका दिनबाट फोन गर्न दिनु भन्ने निर्देशन दिए । मैले ती महिलालाई नेपाली भएको ठाउँमा लगें र उनकै मुखबाट कार्यालयको फोनबाट परिवार वा साथीभाइलाई खबर गर्न दिने प्रतिबद्धता जनाउन लगाएँ । डिपोट सेन्टरमा नेपालीहरुलाई धार्मिक आस्थाविपरीत गाईको मासु खुवाउने गरिएको रहेछ । मैले त्यो पनि रोक्न भनें । डिपोट सेन्टरका अधिकारीहरु सहमत भए । अब डिपोटमा परेका नेपालीले इच्छाविपरीत गाईको मासु खानु पर्दैन ।
विदेशी भूमिमा नेपालीको अवस्था देख्दा लज्जाबोध
मेले मलेसियामा नेपालीहरुको अवस्थालाई नजिकबाट नियाल्ने मौका पाएँ । नेपाली युवाले त्यहाँ जो भोगिरहेका छन्, त्यसबाट मलाई गम्भीर लज्जाबोध भयो । यति धेरै साधनश्रोत सम्पन्न र प्राकृतिक सम्पन्नता भएको मुलुकका नागरिक रोजगारी नपाएर विदेश जानु बिडम्बना त हुँदै हो, त्यसमाथि विदेशमा गएर भोग्नुपरेको पीडा देख्दा जो कोही नेपालीको मन दुख्छ । मलाई पनि त्यही भयो । लज्जाबोध र पीडाबोध एकैसाथ महसुस गरें । जहाँ पुगे पनि नेपाली मन भनेको नेपाली नै हुँदोरहेछ । मलाई बाटोमा हिंडेको देखेर नेपालीहरु टाढैबाट कुहेर आउँथे र फोतो खिचाउँथे । धेरैले मसँग फोटो खिचाए । त्यहाँ रहेका नेपालीको अवस्थाबारे भने र समस्या समाधानका लागि दुवै देशका सरकारी अधिकारीमार्फत पहल गरिदिन आग्रह गरे । सँगसँगै सबैको के कुरामा जोड थियो भने नेपालमै रोजगारीको वातावरण सृजना होस् । कोही पनि नेपालीले कामका लागि विदेशिनु नपरोस् र आफूहरु पनि छिट्टै नेपाल फर्केर देशको सेवा गर्न पाइयोस् । सबैको यस्तै चाहना थियो ।
मलेसिया र नेपालबीच सम्झौता हुनुपर्छ
मलेसियाले नेपाललाई अदक्ष कामदारको श्रोत मुलुकका रुपमा स्वीकार गरेको छ । इण्डोनेसियापछि सबैभन्दा धेरै अदक्ष कामदार नेपालबाट लाने गरिएको छ । तर दुई देशका बीचमा औपचारिक रुपमा कामदार लैजानेसम्बन्धी सम्झौता भएको छैन । मलेसियाले कतिपय मुलुकसँग सम्झौता गरेको छ । नेपाल र मलेसियाबीच पनि सम्झौताको मस्यौदा आदानप्रदान भएको छ । त्यसमा छिटोभन्दा छिटो हस्ताक्षर हुनुपर्छ । मैले मलेसियाली अधिकारीहरुको यो विषयमा पनि ध्यानाकर्षण गराएको छु । सबै मलेसियाली अधिकारीले मेले भनेका कुरा गम्भीरतापूर्वक लिएको र क्रियान्वयनका लागि पहल गर्ने बचन दिएका छन् । नेपाली दूतावासले मैले उठाएका सबै विषय लिखित रुपमै उपगृहमन्त्रीलाई बुझाएको छ ।
मलेसियाको राम्रो पक्ष
मलेसियामा ९ लाख नेपाली कामदार छन् । अधिकांश कामदार औद्योगिक क्षेत्रमा छन् । अरु मुलुकले नेपालीलाई भौतिक संरचना निर्माणको काममा लगाएका छन् । तर मलेसियाले औद्योगिक क्षेत्रका काम दिएको छ । नेपालमा औद्योगिकरण भयो भने ती कामदारले स्वदेश फर्केपछि मुलुकको सेवा गर्न सक्छन् । अर्को राम्रो कुरा मलेसियाले सुक्युरिटी सेक्टरमा आफ्नो मुलुकका बाहेक नेपालीलाई मात्र जिम्मा दिएको रहेछ । २५ हजार सेक्युरिटी नेपाली रहेछन् । होटल, कार्यालय वा मलहरु जहाँ जाँदा पनि एउटा न एउटा सेक्युरिटी नेपाली पाइयो । यो पनि राम्रो पक्ष लाग्यो । नेपालीको मलेसिया निर्माणमा भूमिका छ भने त्यहाँको सरकारले उनीहरुको सम्मान, सुरक्षा र जीवन रक्षाको ग्यारेण्टी गर्नुपर्छ ।
प्रधानमन्त्री र मन्त्रीहरुसँग छलफल गर्छु
मलेसियामा नेपाली कामदारहरुको समस्या र उनीहरुमाथि भएका ज्यादतीबारे सरकारका अधिकारीहरुको ध्यानाकर्षण गराउने सोचेको छु । पहिला श्रम र परराष्ट्रमन्त्रीसँग भेट्छु र त्यहाँको यथार्थ अवस्थाबारे अवगत गराउँछु । त्यसपछि प्रधानमन्त्रीसँग कुरा गर्छु । ८० हजार तोकेको ठाउँमा १ लाख ८० हजार लिने काम भइरहेको छ । सरकार के हेरेर बसेको छ ? दुईवटा सम्झौता गर्ने अनि च्यातेर फालिदिने ? मुलुकका लागि योगदान दिन सक्ने युवा शक्तिलाई विदेशमा लगेर अलपत्र पारिदिनेहरु उल्टै सरकारका मान्छेसँग उठबस गर्ने ? यो कसरी सम्भव छ ? सरकारले यो रोक्नुपर्छ । आफ्ना नागरिक विदेशका काममा जानुपूर्व नै ठगिन सुरु हुन्छ भने सरकारले त्यसलाई रोक्नुपर्ने हो कि होइन ? यस्तो अवस्था अन्त्यका लागि कुटनीतिक तहमा मलेसियासँग कुराकानी गर्नुपर्छ ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको नाम फेर्नुपर्छ
वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड नामको एउटा सरकारी निकाय छ । नामबाटै के बुझिन्छ भने त्यसको काम नेपालमा रोजगारीका नयाँनयाँ अवसर खोज्ने होइन, बरु जसरी हुन्छ विदेश जान प्रोत्साहन गर्ने । विदेश जानका लागि प्रवर्शन गर्नेजस्तो भयो । मेरो विचारमा त्यसको नाम फेर्नुपर्छ र ‘वैदेशिक रोजगार व्यवस्थापन बोर्ड’ राख्नुपर्छ । त्यसको काम नेपालबाटै कामदारमाथि सुरु हुने ठगी नियन्त्रण, तलब र कामको प्रकृति स्पष्ट गर्ने, विदेशमा परेका समस्या समाधानका लागि पहल गर्ने र नेपालमै रोजगारीको अवसर सिर्जना गर्ने हुनुपर्छ ।
हामी यस्तो गर्दैछौं
म पार्टीको अन्तर्राष्ट्रिय विभागको प्रमुख पनि छु । हाम्रो विभागमा वैदेशिक रोजगार समन्वय शाखा छ । त्यसअन्तर्गत पनि वैदेशिक रोजगारम्बन्धी शाखा बनाएका छौं । त्यसलाई मुलुकका ७५ वटै जिल्लामा विस्तार गर्ने योजना बनेको छ । हामी छिट्टै काम थाल्दैछौं । ती शाखाहरुले रोजगारीका लागि विदेश गएका नेपालीको घरघरमा पुगेर तथ्यांक संकलन गर्छ । कसले, कुन देशमा, कुन कम्पनीमा, कुन प्रकृतिको काम गरिरहेको छ, हामी त्यो सबै संकलन गर्छौं । काठमाण्डुमा सहायता कक्ष नै स्थापना गर्न खोज्दै छौं । तथ्यांक संकलनको काम सकेपछि हामी विदेश जाने नेपालीलाई परामर्शका साथै वैदेशिक रोजगारीका नाममा नेपाल र बाहिर हुने गरेका ठगी र ज्यादती नियन्त्रणका लागि काम गर्छौं । समस्यामा परेकाहरुलाई राहतका लागि पनि सहयोग गर्छौं ।source:taja khabar
