.छोरा मलेशियामा पुगेको दुई महिनामा मृत्युको खबर, तीन महिनामा शव आइपुग्यो
महोत्तरीको कोल्हुवा बगेया गाविस–८ बस्ने रामकिशोर मण्डलले कमाउन लागि मलेशिया पुगेका २२ वर्षीय छोरा राकेश मण्डलको लास पाउन पनि एक महिना कुर्नुपर्यो। मलेशिया पुगेको दुई महिनामै उनको मृत्यु भएको थियो र मृत्यु भएको एक महिनापछि मात्र उनको शव गाउँमा आएको छ।
२०७१ माघ १ गतेका दिन काठमाडौँको गौशालामा अवस्थित मिथिला मेनपावरमार्फत मण्डल मलेसिया गएका थिए भने चैत १ गते उनको मृत्यु भएको थियो । मेनपावर सञ्चालक महोत्तरीकै परिकौली फुल्हट्टा गाविसका नवल सिंह र पवन सिंहका एजेन्ट कोल्हुवा बगेया– ८ बस्ने मुकेश पाण्डेले रु एक लाख ७५ हजार लिएर राम्रो, सजिलो र धेरै पैसा कमाउने काम पाउने भन्दै मण्डललाई मलेसिया पठाएका थिए।
तर मलेसियामा पुग्ने बित्तिकै युवक मण्डललाई घनघोर जङ्गलमा लगिएको, कुनै काम नदिएको, खान बस्न नदिएको, पानीको सुविधा नभएको र मोबाइलमा समेत घर परिवारसँग कुरा गर्न नदिएको उनकी १९ वर्षीया पत्नी कामनी देवीले भक्कानिँदै सुनाएकी छिन् ।
करिब एक महिनापछि छिमेकी गाविस बलबाका एक साथीले जङ्गलमा हिँडडुल गरेको र मागी खाने गरेको देखेर युवक मण्डलको घरमा लुकेर फोन गराइदिएपछि युवक मण्डलकी सासू जिल्लाको बनौली गाउँ बस्ने जीवछी देवीले गाउँमा रु ५० हजार कर्जा लिएर पुनः एजेन्टलाई दिएर मेरा ज्वाइँलाई मगाइदिनुस् भनेकी थिइन् ।
तर एजेन्ट पाण्डेले त्यो रु ५० हजार पनि खाइदिए तर उनका ज्वाइँलाई ल्याइदिएनन् र आखिर चैत ३ गते युवक मण्डलको ससुराली बनौलीमा उनी मरेको खबर आएको उनकी सासू जीवछीले बताएकी छिन् । source a2z khabar
