.यि हुन् अर्घाखाँचीमा हलो जोतेर अमेरिकाको अवार्ड जितेका नेपाली



काठमाडौं । नेपालको अर्घाखाँची जिल्लाका अम्ब्रिस पोखरेललाई अमेरिकन मौसमबिद् समाजले पुरस्कृत गरेको छ । हालै जापानमा गरिएको बाताबरण सम्बन्धी अनुसन्धानलाई अमेरिकन मौसमबिद समाजले पुरस्कृत गरेको हो । जापानको होक्कैदो बिश्वबिद्यालय र यो संग सम्बन्धित अर्को एउटा अनुसन्धान केन्द्रको पुरस्कृतहरुको सुचिमा अम्ब्रिसको नाम पनि लेखिएको हो ।
डा. पोखरेल आफूलाई यसरी चिनाउँछन्

मेरो जन्म अर्घाखाँची जिल्लाको सन्धिखर्क गाबिस ७ भालयडाँडामा बुद्धिजीवि तथा समाजसेवी पिता रामचन्द्र पोख्रेल र संघर्ष कसरी गर्नुपर्छ र समस्यासँग कसरी जुध्नुपर्छ भनेर उदाहरण पेश गर्ने माता चित्रकला पोख्रेलको कोखबाट भएको हो । मेरा हजुरबुवा पण्डित चन्द्रकान्त पोख्रेल र हजुरआमा कर्णकुमारी पोख्रेल हुनुहुन्छ । मेरा हजुर बा, बा र आमाको नामले हजारौँ जिल्लाबासीहरुले बिशेष रुपले हाम्रो परिवारलाई चिन्नुहुन्छ ।

हाल जापानमा गरिएको बाताबरण सम्बन्धी मेरो अनुसन्धान हालै मात्र अमेरिकन मौसमबिद् समाजले पुरस्कृत गरेको छ । जापानको होक्कैदो बिश्वबिद्यालय र यो संग सम्बन्धित अर्को एउटा अनुसन्धान केन्द्रको पुरस्कृतहरुको सूचीमा मेरो नाम पनि लेखिएको हो । यसरी कम्तिमा पनि जापानको होक्कैदो विश्वबिद्यालयम़ा अब मेरो नाम पनि सुनौलो अक्षरले लेखिएको छ । त्यो सूचना आइ सकेको छ । यो होक्कैदो बिश्वबिद्यालयले नोबेल पुरस्कारदेखि थुप्रै अन्तर्राष्ट्रिय पुरस्कारहरु जितेको छ । त्यो सूचीमा मेरो नाम अङ्कित भैसकेको छ । त्यो सूचना हामीले देख्न पनि सक्छौं । अमेरिका लगायत विश्वका दश हजारभन्दा बढी मौसमविद्हरुको सदस्यता भएको समाज हो, ‘अमेरिकन मौसमविद समाज’ हो । यस्तै अन्य बिषयसंग सम्वन्धित समाज पनि छन दुनियामा । यो नेटवर्क अन्य देशहरुमा पनि छन् । म आवद्ध रहँदै आफै नेपालको ‘जल तथा मौसमविद समाज नेपाल’ नामक समाजको आजीवन सदस्य छु । तर अझै यस समयसम्म पनि त्यो गौरबशाली समाजको सदस्य हुन् सकेको छैन् । यसका धेरै कारणहरु छन्ः एक अर्थमा विश्वका मौसमविदहरुको लागि सपनाको समाज पनि हो । यो समाजले प्रत्येक नयाँ बर्षको पहिलो महिना आफ्नो बर्षिक साधारणसभा गर्नेगर्छ । यो बर्ष उसले आफ्नो ९५ औँ बार्षिक साधारणसभा जनवरी ४ देखी ८ सम्म अमेरिकाको एरिजोना राज्यमा आयोजना गरेको थियो । प्रत्येक वर्ष यसले आफ्नो साधारणसभामा अनुसन्धानको प्रतियोगिता वा अनुसन्धानको प्रस्तुतिका लागी बिश्वब्यापी आमन्त्रण खुला गरेको हुन्छ अर्थात् निवेदनको माग गरेको हुन्छ । त्यसमा आफ्नो आफ्नो अनुसन्धानको टिपोट बुझाउनु पर्ने हुन्छ । त्यो कस्तो कुन स्तरको अनुसन्धान हो, त्यो कुरा त्यहाँका मौसमविदहरुले अर्थात् अमेरिकन प्रोफेसरहरुको जाँच मण्डलले पहिले जाँच गरिसकेपछि प्रभावकारी भएमा त्यो साधारणसभामा प्रवेश दिन्छ । अब अनुसन्धान यति गहिरो भैसकेको छ कि, त्यो साधारणसभाले मौसमशास्त्रभित्र पनि मुख्य रुपले १२–१५ बटा जति हाँगाहरु बाँडेको छ । ती हाँगाहरुका छुट्टाछुट्टै सभाहरु हुने गर्दछन् । अझ खुसीको कुरा के छ भने म पुरस्कृत भएको हाँगा त निकै ठूलो पो छ त । अझ समय समयमा ती सहायक क्षेत्रहरुलाई जोडेर सभा गर्ने गरिन्छ । यसपालि पनि त्यसो गरिएको थियो । त्यहाँ एउटा न्याय मण्डल हुने गर्दछ, त्यसमा धेरै अमेरिकन र केही अन्य राष्ट्रका विज्ञ प्रोफेसर हुने गर्छन, किनभने त्यो मुलत अमेरिकन मौसमविद् समाज हो । जस्तै हाम्रो जुरी मण्डलमा एकजना बाहेक सबैजना अमेरिकन प्रोफेसर हुनुहुन्थ्यो । उसले गराउने भिन्न भिन्न थरिका प्रतियोगिता अन्तर्गत, एउटा ठुलो अनुसन्धानको हाँगा हो । अर्थात यही समाजका मान्छेले नै हो, हाम्रो पृथ्वीदेखि मंगल ग्रहको अनुसन्धान गर्ने गर्छन् । यो हाँगामा मेरो अनुसन्धान उत्कृष्ट भई पुरस्कृत भएको छु । यसको बिषयमा बिशेष नाम त हुँदैन् । मैले जापानमा मेरो पीएचडी अन्तर्गत गरेको अनुसन्धान भएको हुनाले, यसलाई ‘स्टुडेन्ट बेस्ट प्रिजेनटेशन अवार्ड–प्रथम स्थान’ भनेर लेखिएको छ । यसको अर्थ कम्तीमा पनि अमेरिकन मौसमविद समाजको नजरमा मेरो अनुसन्धान यो बर्ष २०१४ को लागि उत्कृष्ट अनुसन्धान हो । २०१५ को लागि ९६ औ सभाले स्वतः नयाँ चयन गर्दछ ।
अनुसन्धानको नेपालसँगको साइनो
 सबैभन्दा पहिला त अनुसन्धान प्रमुख कुरा हो । अनुसन्धानले दिने नयाँ नतिजा अझ ठूलो कुरा हो । हाम्रो ध्यान त्यहाँनेर हुनुपर्छ भन्ने लागेर आउँछ । जहाँसम्म नेपालको सम्बन्धको कुरा छ, म स्वयम् नै एक नेपाली हु । मेरो कर्म गर्ने थलो नै त्रिभुवन बिश्वबिद्यालय हो । यो मानेमा साइनो छ भन्ने आधार त बलियो छैन तर यस्तो प्रकारको अनुसन्धान यहाँ पनि गर्न र गराउन चाहन्छु मैले । पछिल्लो मानेमा दह्रो साइनो बनाउन सकिन्छ । हामीले हाम्रा दाता राष्ट्रका बाताबरणसँग सम्बन्धित कुराहरुको बारेमा हाम्रो आफ्नै मौलिक तथ्यहरुमा टेकेर आफ्ना कुरा राख्न सकिन्छ । जसलाई उनीहरुले मान्नुपर्ने बाध्यता आउन सक्छ । अर्थात् हाम्रो खुट्टा बलियो हुनेछ । जस्तै, नेपालको बाताबरण पहिले कस्तो प्रकारको थियो र त्यो कुन कुन प्रकारका कारकसँग सम्बन्धित थियो भन्ने कुरा हेर्न र बुझ्न सकिन्छ । अनि अहिलेका दिनहरुमा कुन प्रकारले चक्र चलेको छ भनेर सजिलोसँग हेर्न र बुझ्न सकिन्छ । ती दुर्इ भुत र बर्तमानको रेखा हेरेर अनि त्यसबाट भबिष्यमा नेपालले कस्तो प्रकारको नीति बनाउने भन्ने कुराको लागी आधार तयार पार्ने छ । हामीले यसरी हाम्रा आफ्नै तथ्यसंग खेल्न पाउनेछौ जसलाई कसैले होइन भन्न सक्ने छैन । यस मानेमा नेपालले फाइदा लिने ठाउँ छ । अझ बिर्सन नहुने कुरा के छ भने यस्तो प्रकारको अनुसन्धान गर्न र गराउन अब हामी आफै सक्षम भैसकेका छौ । कम्तीमा पनि म र डा भगवती पोख्रेल कुँवर दुई जनशक्ति यो देशमा तयार भएको छौँ । हामी अब यस्तो प्रकारको अनुसन्धान गर्न र गराउन समेत तयार छौँ । के राज्यले हामीलाई प्रयोग गर्न चाहाला ? त्यो बरु हाम्रो प्रश्न हो । यस्तो प्रकारको अनुसन्धान गर्नको लागि सकिन्छ, सहयोग गरे राम्रो हो । अनुसन्धानबाट आउने फाइदा कसैको पेवा रहन सक्दैन र रहनु पनि हुदैन । यो मानब जातिको लागी हुने गर्दछ र हुनुपर्छ भन्ने मेरो मान्यता हो । अझ अर्को शब्दमा अगाडि भन्नुपर्दा, मानब जातिका लागि बिनाश हुने अनुसन्धान गर्नु हुदैन भन्ने मान्यता राख्दछु । मेरो कर्म पनि त्यही दिशामा हुनुपर्ने हो र त्यही प्रकारको प्रयास गर्दैछु पनि । यसमा बरु मलाई सहयोग भन्दा पनि असहयोग नगरे हुन्थ्यो अर्थात् मेरो काममा बाधा पुर्याउने कोशिस नगरे हुने थियो भन्ने लागेको छ । त्यो मेरो लागि ठुलो कुरा हुनेछ । अनुसन्धान अगाडी बढाउन मलाई राज्यले केही दिनुपर्दैन । जस्तैः हामीले किन्ने अनुसन्धानका मेसिनदेखि अरु थुप्रै प्रकारका सामानहरु किन्नु पर्नेछ । बरु ती सामानहरुमा कर र भ्याट् लिन नखोजे हुने थियो । हेरौ राज्यले हामीलाई कसरी हेर्छ, आउने दिनहरुमा थाहा हुने नै छ अर्थात् भोगिने नै छ । तर कुनै पनि मुल्यमा अनुसन्धान रोकिने छैन र रोक्नु हुँदैन । यहाँ स्मरण गर्नुपर्ने कुरा के छ भने, यो अनुसन्धानको लागि मेरो वा हाम्रो परिवारको लाखौ रुपैयाँ समेत लगानी भएको छ । त्यसैगरी मेरा दिदीबहिनी दाजु भाइहरुको आर्थिक सहयोग ठुलो छ यहाँ । जुन कुरा सबै र सधैको लागि असम्भव छ । के राज्यले मलाई त्यो पैसा फिर्ता देला त ? के नेपालमा यस्तो कानुन छ, जसले मलाई त्यो पैसा दिलाओस ? हामीले त कहिले आशा गरेको छैन । बरु अहिले त गर्व लागेर पो आउँदैछ ।
नेपाली युवाका लागि सन्देश
 अवश्य पनि हामीले अगाडि हेर्ने हो र हेर्नुपर्छ । तर विगतले पनि धेरै कुराको पिछा गरिरहेको हुन्छ नै । त्यसलाई बिबेकशील बनेर अनुशरण गर्न जान्नुपर्छ भन्ने लाग्दछ । नेपालका युवाले गर्न सक्छन । तर उनीहरुलाई गर्ने बाताबरण उनीहरु आफैले वा उनीहरुको परिवारले नै ध्वस्त गराउँदै छन् । जुन बिल्कुल खराब कुरा हो । खराब संस्कार हो । आशा गर्ने ठाउँ त कति हो कति छन् । गर्ने ठाउँ पनि कति हो कति छन् । जहाँ जे गरे नि हुने ठाउँ छ । जाँगर र लगनशिलता ठूलो कुरा हो । मौका मिले हामीले पनि गर्न सकिन्छ भनेर गफ मात्र लडाउने युवा धेरै छन्, त्यो कुरा बिल्कुल गलत हो । मौका हामीले आफै निकाल्ने हो । मौका आफैले सिर्जना गर्ने कुरा हो । पैसा ठूलो हो भन्ने युवाले अनुसन्धानमा केही गर्दैन वा गर्ने सम्भावना कम नै हुने गर्दछ । तर अनुसन्धानमा नाम कमाउनु दिगो रुपमा दशकौँसम्म नाम कमाउनु हो । त्यसको लालचा भने राख्नुपर्छ नै । जस्तै, अब आउने अनुसन्धानमा मेरो अनुसन्धानको उल्लेख नगरी मान्छेहरुलाई सुखै छैन सम्बन्धित बिषयका । उनीहरुले आफ्नो अनुसन्धानमा मेरो नाम पनि लेख्नुपर्ने हुन्छ। यही नै दिगो नाम कमाउनुको बिकल्प हो । यो बिकल्प मनपर्छ भने, अनुसन्धान गर्नुस । मेरो क्षेत्रमा आउन पनि सल्लाह दिन चाहन्छु । नयाँ नयाँ जोशका सहयात्रीको प्रतिक्षा अरु झन् उत्साहप्रद हुने छ । अर्थात् अनुसन्धानलाइ पेसा बनाउने सोच राख्नुस तर पैसा कमाउने भाँडो नसम्झनुस । मैले भन्न मिल्ने कुरा यहि हो । तर बिडम्बना नेपालमा त अनुसधानको नाममा पैसाको कमाउने खेल पो चलेको छ । यही भएर हामी पछि परेको हो ।
भविष्यका योजना
 नेपालमा यो विषयको आधारभूत अनुसन्धानशाला स्थापना गर्ने योजना म र मेरो जीवन साथी डा भगवती कुँवर पोख्रेलले गरेका छौँ । यस्तो प्रकारको अनुसन्धान नेपालमा पनि अगाडि बढाउन जरुरी पनि देखियो । किनभने नेपालसँग आफ्नो अधिकारिक वा प्रमाणित तथ्यहरु छैनन् । मौलिक योजना बनाउन सकिएको छैन । केही युवाहरु उत्पादन गर्ने चाहना छ । केही जोशिला र कलिला युवाहरु सम्पर्कमा हुनुहुन्छ । अहिलेसम्मको स्थिति राम्रो छ । समस्या २४ घन्टे बिजुलीको हो । त्यसको लागि बिशेष व्यवस्था गर्नु पर्नेछ । अनुसन्धानमा प्रयोग हुने एउटा मेशिन जापानबाट लिएर आउने योजना लगभग निश्चित गरेका छौँ, हामी दुवै जनाले । त्यसको ५० प्रतिशत जति काम पूरा गरिसकेका समेत छौँ । तर हामीलाई २४ घण्टा बिजुली चाहिने भएको हुँदा निकै कठिन होला भन्ने लागेको छ । तर जहाँ इच्छा त्यहाँ उपाय । जसको तयारी सुरु गरेका छौँ पनि । हामीसँग चिानयाँ, ताइवानी, जापानिज एक एक जना र दुर्इ जना अमेरिकन बैज्ञानिकहरुले नेपालमा हामीसँग काम गर्ने उत्साह देखाउनु भएको छ । त्यही अन्तर्गत पनि हामीले हाम्रो तयारी गरेको हो । इज्जत धान्न सकिन्छ कि भन्ने लागेको छ । हाम्रा कानुनले हामीलाई नै दुःख दिएनन भने त्यो सपना अब छ माहिना देखि एक बर्षमा नै पूरा हुँदैछ । नयाँ पुस्ताले प्रेरणा पाउने छन् भन्ने लागेको छ । शायद यही बर्ष भित्रमा नै सुरु गरिने छ । अनि बाँकी संसारले पनि नेपालको अधिकारिक बताबरणीय अवस्थाको बारेमा विश्वका चर्चित बैज्ञानिक पत्रिकाहरुमा पढ्न र जान्न पाउने छन् । त्यति मात्र हैन हाम्रो बाताबरणसँग अरुहरुको तुलना हुनेछ । हाम्रो नेपालको नाम पनि विश्वका चर्चित बैज्ञानिक पत्रिकाहरुमा आउनेछ । त्यो अनुसन्धानमा लाग्ने मान्छेहरुको नाम त आउने नै भयो । बिज्ञानको क्षेत्रमा पनि नेपालको नाम आउन सुरु हुनेछ ।
मेरो पारिवारिक अवस्था
 मेरो घर भलायडाँडा, सन्धिखर्क वार्ड नम्बर ७, अर्घाखाँची हो । छोटकरीमा भन्नु पर्दा, हाम्रो परिवार गुरुकुल परिवार हो । अर्थात्, हाम्रो घरमा अर्घाखाँची जिल्लाका मात्र होइन गुल्मी, बाग्लुंग, पाल्पा जिल्लादेखि प्युठान जिल्लाका मानिसहरु मेरो हजुरबुवासँग शिक्षादिक्षाका लागि हाम्रो घरमा बस्दथे । यो कुरा मैले हजुर आमादेखि मेरी आमाको मुखबाट सुन्न पाउँदा आफूले पनि केही राम्रो काम गर्नुपर्छ भन्ने लागेर आउने गर्दथ्यो । हजुर बा र मेरो बुवाको सयौं चेलाहरु हुनुहुन्छ अहिले पनि जिल्लामा । गर्वको कुरा त के छ भने मेरो हजुरबुबा बनारसमा समेत अध्यनय गर्नु भएको सँस्कृतको ठूलो बिद्धान, जसले वेदमा लेखिएका कुराहरुको बिबेचना गर्नुभएका पाण्डुलिपीहरु अहिले पनि हाम्रो घरमा छन् । ती बेद देखि भागबतसम्मका बिबेचना हुन् भन्ने कुरा फेरि मेरो बुवाबाट जानकारी भएको हो । फेरी अचम्मको कुरा त के छ भने, मेरो बा पनि बनारस म पहिले सँस्कृतको अध्ययन गरी (बिए सम्मको) पछि बिज्ञान बिषयतिर लाग्नुभयो । पछि फेरी समाज परिबर्तन गर्न भनेर राजनीतिमा । त्यो पनि इमान्दारिताको राजनीति रे । यसरी हाम्रो हजुरआमादेखि सम्पूर्ण परिवारमा एकले अर्कोलाई सधै पढ्न र पढाउन रुचि जगाउनु नियमितता जस्तै हो । मेरो मावली घरतिर र त्यो भन्दा उता अर्थात् बुवाको मावली र आमाको मावलीतिर पनि उस्तै पढ्नेहरुको जमात । मेरो जीबन साथीले पनि बिद्याबरिधी गरिसक्नु भएको छ । म यहाँलाई भन्न चाहन्छु, मैले हलो पनि राम्ररी जोत्न जानेको छु । अर्को कुनै पेशेवर मान्छेले भन्दा कम छैन रे, मेरी हजुर आमाको नजरमा । घरमा काम गर्ने मान्छे राख्न हुदैन भन्ने विचारम़ा चल्ने परिवार हो हाम्रो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
source"nepali aawaj




प्रतिक्रिया दिनुहोस्...