"एसिड आक्रमणः कसरी भयो, के–के भयो ?, को हुन् पक्राउ परेका जीवन ?हेर्नुहोस (भिडियो सहित)



काठमाडौं, चैत्र ६ । काठमाडौंको बसन्तपुरमा ट्युसन पढ्दै गरेका दुई किशोरीमाथि एसिड छ्याप्ने संदिग्ध आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । दुई दिनअघि पक्राउ परेका अभियुक्त रामेछाप फुलासीका २० वर्षीय जीवन बिकलाई महानगरीय प्रहरी आयुक्तको कार्यालयले पत्रकार सम्मेलन गरी शुक्रबार सार्वजनिक गरेको हो । अभियुक्त विक भने पत्रकार सम्मेलनकै क्रममा बेहोस भएका थिए । बेहोस भएलगत्तै उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।  एसिड प्रहार गरिएको २६ दिनपछि बिकलाई सार्वजनिक गरिएको हो । प्रहरीको टोलीले विहीबार राति ११ बजेतिर टोखा वडा नम्बर–६ स्थित उनी बस्दै आएको कोठाबाट पक्रेको जनाएको छ । बिकले गत फाल्गुन १० गते रामेछाप खनियापानी गाविस–८ घर भएकी १६ वर्षीया संगीता मगर र रौतहटकी १५ वर्षीया सीमा बस्नेतमाथि काठमाडौंको झोँछेस्थित ए प्लस ट्युसन सेन्टरमा एसिड छ्यापेका थिए । संगीताको परिवार र पीडक जीवन बिक २०६९ साल जेठदेखि झोंछेंको एउटै घरमा डेरा गरी बस्ने गरेको र जीवनले संगीतालाई ट्युसन पढाइदिने गरेकोले सोक्रममा एकापसमा नजिक हुन पुगेको प्रहरीको भनाइ छ । करिब एक वर्षपछि दुबैबीच मनमुटाव भइ सम्बन्ध बिग्रेको र बदला लिन यो घटना गराइएको प्रहरीले जनाएको छ । ‘अभियुक्त जीवनले एसिड प्रहार गर्ने कुत्सित मनसायले यस वर्षको आश्विन महिनामै एसिड संकलन गरेर राखेको तर प्लाष्टिकको बोतलमा सार्नेक्रममा पग्लेपछि फेरि दोस्रोपटक एसिड संकलन गरी कोठामा राखेको’ प्रहरी अनुसन्धानले देखाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एसिड प्रहारबाट घाइते संगीताको काठमाडौं मेडिकल कलेज सिनामंगल र सीमाको वीर अस्पतालमा उपचार भइरहेको छ ।




प्रतिक्रिया दिनुहोस्...