आधा दर्जन लाहुरे साइड लगाइसकें’:-गायिका तारा लिम्बु
गायिका तारा लिम्बु ‘धैर्य’ एल्बम सार्वजनिक गरेकी छिन् । १० वर्षयता सांगीतिक क्षेत्रमा रम्दै आएकी उनको यो पहिलो सोलो एल्बम हो । यसअघि गायिका योजना पुरी सँगै नयाँ बाटो एल्बम बजारमा ल्याएकी थिइन् ।
घर त हाम्रो पूर्वाञ्चल गीतबाट चिनिएकी ताराले एल्बमको शीर्ष गीत ‘नक्कले कान्छा..’ झन्डै एक वर्षअघि नै रिलिज गरेकी थिइन् । पाँचवटा गीत समेटिएको यस एल्बमका दुई गीतमा उनकै शब्द र संगीत पनि रहेको छ । खरको छानो उनले रचना गरेको नयाँ गीत हो ।
भाग्य बोलको गीतमा कमल खत्री, के गर्दै छौमा डम्बर नेपालीको पनि शब्द संगीत रहेको छ भने लाखौं आए मा विरेन्द्र राईको शब्द र विनोद खम्बुको संगीत रहेको छ । यसै एल्बमबारे उनै गायिकासँग गरिएको कुराकानीः
‘खरको छानो..’ कस्तो किसिमको गीत हो ?
केटीले केटालाई फकाउने किसिमको गीत हो यो । अलि फरकपन छ । एल्बममा एउटा नयाँ गीत त दिनुप¥यो नि भनेर लेखेको गीत । टिपिकल नेपाली गीत ।
कसरी लेख्नुभयो यस्तो गीत ?
भावनात्मक रुपमा डुबेर लेखेको होइन । मुड आयो । लेखें ।
तपाईले फकाउने प्रयास गर्नुभएको छ कि छैन ?
अहिलेसम्म फकाउन सकेकी छैन । आँट आएको छैन । मौका पाएकी छैन ।
मौका पाउनसाथ फकाउनु हुन्छ ?
मैले फकाउनै पर्दैन । धेरै फकाउनेहरु छन् । तर, धेरैलाई पाखा लगाइयो ।
लाहुरेको पर्खाईमा होला नि त ?
५–६ जना लाहुरे त साइड लगाइसकियो । लाहुरेको भरै हुन्न ।
किन त्यस्तो, लाहुरे भनेपछि कति मरिहत्ते गर्छन् ।
मलाई त्यस्तो लाग्दैन । लाहुरेहरुले आफ्नो मर्म बुझ्दैनन् । मर्म नबुझ्नेसँग सुनकै छानो भए पनि गएर के काम । त्यसैल मर्म बुझ्ने भए खरको छानो भएपनि जाउँला भन्ने सोचमा छु ।
कस्तो साथी मनपराउनु हुन्छ नि ?
एकले अर्कालाई बुझ्ने साथी हुनुपर्छ ।
एल्बमको नाम धैर्य राख्नुभएछ, कुनै कारण ?
धेरै धैर्य गरेपछि मात्र बजारमा आयो । त्यसैले नामै धैर्य राखें । राम्रो छैन र ?
सही नाम । गीतहरुको भिडियो पनि छ कि ?
नक्कले कान्छा..एक वर्षअघि नै छायाँकन गरेकी थिएँ । सात लाखभन्दा बढीले हेरेका छन् । खरको छानो..को भिडियो छिट्टै रिलिज हुदैंछ ।
source:taja khabar
