फ्रान्समा भएको विमान दुर्घटनाको रहस्य पत्ता लागेउ....
काठमाडौं, चैत्र १२ । एक सय ५० जनाको ज्यान जाने गरी दुर्घटना भएको जर्मन वायुसेवा कम्पनी लुफ्थान्साको बजेट एयरलाईन्स जर्मनविङ्ग्सको ब्ल्याक बक्स फेला परेपछि त्यसमा रहेको डाटाले अनुसन्धानलाई सघाउने विश्वास गरिएको छ ।
ब्ल्याक बक्सभित्र आवाज सुरक्षित रहेपनि कुनै निष्कर्षमा भने पुग्न नसकिने अधिकारीहरुले बताएका छन् ।
यद्यपि, न्यूयोर्क टाइम्सले भने एक जना पाइलटले ककपीट छाडेको र ककपीटमा फर्कन भ्याउँदा नभ्याउँदै दुर्घटना भएको जनाएको छ ।
ककपीटबाट बाहिर निस्केका पाइलट फेरि फर्कन लाग्दा ककपीटको भित्रबाट ढोका नै नखुलेको दावी न्यूयोर्क टाइम्सले गरेको छ ।
स्पेनको बार्सिलोनाबाट जर्मनीको डुसलडर्फका लागि उडेको एयरबस ए थ्रि ट्वेन्टी विमान फ्रान्सको दक्षिणी पर्वत श्रृंखलाको दुर्गम क्षेत्रमा मंगलवार दुर्घटना हुँदा चालक दलका ६ सदस्य तथा १ सय ४४ यात्रुको मृत्यु भएको थियो ।
विमान दुर्घटनामा पर्नुअघि ३८ हजार फिटको उचाईबाट झण्डै ८ मिनेटसम्म जमीनतर्फ झरेपनि कन्ट्रोल टावरसँग कुनै सम्पर्क नभएकामा भने आश्चर्य व्यक्त गरिएको छ ।
