“छोरी म त यहाँ जेलमा परेको छु, मेनपावरमा गएर मलाई छुटाउन भन है”
ज्ञानु पंगेनी,
नवलपरासी, चैत्र १,
“छोरी म त यहाँ जेलमा परेको छु , काठमाण्डौको मेनपावरमा गएर मलाई यहाँबाट छुटाउन भन है, छोरी पैसाको आश नगरेस, कसरी हुन्छ मलाई नेपाल झिकाउने कोशिश गर नभए त म यत्तिकै मर्छु, मलाई त २५ वर्षको जेल सजाय तोकेको छ ।”
घरको आर्थिक अवस्था कमजोर र श्रीमानको पनि कमाउने बाटो नभएपछि घरखर्च चलाउन र छोराछोरीलाई पढाउनकालागी डेढ वर्ष अघि कुवेत पुग्नुभएकी मगरकोट निवासी ४७ वर्षीया गोमा दराई ८ महिनाबाट कुवेतको जेलमा हुनुहुन्छ ।
काठमाण्डौको एक मेनपावर मार्फत कुवेत पुग्नुभएकी गोमा पढ्न लेख्न पनि जान्नुहुन्न । विदेश गएको ७ महिनासम्म उहाँले घरमा २ लाख रुपैयाँ पनि पठाउनुभएको थियो उहाँकी छोरी आकुतीले बताईन् तर गएको अषाढबाट गोमाको कुनै खबर आएन ।
आमाको कुनै खबर नआएपछि छोरी आकृती आमालाई पठाउने काठमाण्डौको मेनपावर कम्पनीमा फाल्गुन २ गते पुगिन र आमाको बारेमा बुझ्दा “तिम्री आमा त चोरी केशमा जेल परेकी छन । अब हामिले केहि गर्न सक्दैनौ” मेनपावरको एक व्यक्तीले भन्यो, आकृतीले भनिन् । उनलाई मेनपावरको नाम र व्यक्तीको नामसम्म पनि थाहा छैन । उनले भनिन ‘मैले त सोध्नै विर्से ।’
तर त्यसैको १० दिनपछि यहि फाल्गुनको १५ गते गोमाले छोरी आकृतिलाई फोन गरि आफुले काम गर्ने घरका मालिकले “झोलामा आधा किलो जतिको कुनै वस्तु कोठामा राख्न दिएर आफु सबै बाहिर गएको केहिबेरमा प्रहरी छापा मार्न आयो र उहाँले राखेको झोला फेला पारेपछि आफुलाई पक्राउ गरेर लगेपछि मात्रै आफुलाई सो झोलामा ड्रग्स रहेको थाहा भयो ।”– आमाको भनाईलाई उदृत गर्दै आकृतिको सुनाईन् । उनले थपिन “आमाले अहिलेसम्म ५/६ पटक फोन गर्नुभैसकेको छ, खाली मलाई यहाँबाट झिका मात्रै भन्नुहुन्छ, नेपाली ३÷४ लाख जति पैसा दियो भने निस्कन पाईन्छ भन्नुहुन्छ मैले कहाँबाट तेत्रो पैसा जुटाउने ।”
आकृति कहि कतैबाट आमालाई निकाल्न मिल्छ कि भनेर हरसम्भव प्रयास गरिरहेकी छन् । आफना कुरा सम्बन्धित निकायसम्म पुग्छ की भनेर उनी संचार माध्यमको ढोका ढकढकाउन आएकी छन् । उनले आफ्नो आमालाई नेपाल झिकाउनकालागी सम्बन्धित निकायसंग आग्रह समेत गरेकी छन् ।source taja khabar
