समयमै बिहे नगरेको पछुतो लाग्छः अभिनेत्री स्वेता खड्का (अडियो सहित)
काठमाडौं । एक सयभन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेका अभिनेता श्रीकृष्ण श्रेष्ठले कलिलै उमेरमा धर्ती छाड्नुपर्यो । आफैँले चलचित्र क्षेत्रमा ल्याएकी अभिनेत्री स्वेता खड्कासँग विवाह गरेको महिना दिन पनि नबित्दै श्रीकृष्णले स्वेतालाई सधैँका लागि छाडेर गए । झन्डै पाँच वर्षको प्रेम सम्बन्धपछि श्री–स्वेताको विवाह भएको थियो । हो, श्रीकृष्ण बिरामी थिए । तर, एकअकार्को साथ र मायाले रोग निको हुने दुवैलाई विशेष गरी स्वेतालाई विश्वास थियो । भनिन्छ, सोचेँजस्तो हुन्न जीवन । विवाहको पाँच हप्ता पनि नबित्दै वियोग दर्दनाक व्यथा स्वेताको छातीमा पर्यो । श्रीलाई गुमाएपछि स्वेता झन्डै पाँच महिनाजति बेहोसजस्तै ओछ्यानमा सीमित हुन पुगिन् । उनै स्वेतासँग गरिएको कुराकानी ।
० अहिले कस्तो छ ?
० कति महिना भयो, यो पीडा सहनुपरेको ?
– म चार–पाँच महिना त बेडमै भएछुँ । होसमा थिइनँ । लामो समय बेडमा रेस्ट गर्दा पछाडि नसामा समस्या देखियो । अलि धेरै दुखेर पिडा सहनु परेको दुई महिना भयो ।
० नवविवाहितको सपना हुन्छ नै । विवाह गर्दा तिम्रो सपना के थियो ?
– मैले त बेस्ट फ्रेन्ड र जीवनमा सँगै काम गरेको सहयात्रीसँग विवाह गर्दै थिएँ । सबै कुरा अगाडि नै थियो । सपना देखेर, मिहिनेत गरे बनाउनुपर्ने अवस्था थिएन । हरेक केटीमान्छेको विवाहपछिको सपना हुन्छ नै । मेरोभन्दा बढी मेरो परिवारको सपना थियो होला । पारिवारिक माहोल, श्रीमानको माया, बच्चा यी सबै सपना थिए होला ।
हामी दुवै चलचित्र क्षेत्रमा थियौँ । चलचित्र क्षेत्रमा राम्रो गर्ने, राम्रा चलचित्र बनाउने— सपना धेरै थिए ।
० त्यो सपना चकनाचुर भयो ?
– सोचेकै थिइनँ । सबै कुरा कोइन्सिडेन्ट भयो । चकनाचुर भयो । के भयो, मलाई जवाफै थाह छैन ।
० बिहे भएको सुरुदेखि नै त्यो पीडा खप्नुपर्यो कि पछि आइलाग्यो ?
– विवाह हुनु एक हप्ताअघि नै उहाँलाई सन्चो थिएन । एक महिनादेखि नै उहाँलाई ड्राइ कफले सताइरहेको थियो । चेकअप गर्न पनि गइरहेकै थियौँ । बिहे भएपछि त एकले अर्कालाई टेककियर गर्छौैं, राम्रो हुन्छ भन्ने हिसाबले पनि हामी विवाह गर्ने निर्णयमा पुगेका थियौँ, हामी दुवैको परिवार पनि । बिहे गर्नु एक हप्ता अघिदेखि उहाँलाई अलि गाह्रो भइरहेको थियो । बिहे गरेपछि मैले उहाँलाई हेल्थी रुपमा पाइनँ । विवाह गर्नुभन्दा अघिदेखि नै उहाँलाई समस्या थियो । बिहे गरेपछि हामी दुई दिन मात्र घरमा सँगै बस्यौँ होला । त्यसपछि हामीले सबै दिन हस्पिटलमा बितायौँ ।
० यत्तिका महिना बितिसक्यो, पीडा मान्छेको जीवनमा धेरै हुन्छन्, यस्तो पीडा बिरलै पर्छ । अब यो जीवनलाई कसरी अगाडि बढाउँछु भन्ने सोच छ ?
– चलचित्र क्षेत्रमा आउनुअघि साधारण थिए । यस क्षेत्रमा आएपछि राम्रो साथी र बिजिनेस पार्टनरको रुपमा मैले उहाँलाई पाएकी थिएँ । एउटा साथीले पनि जीवनमा धेरै फरक पर्छ भन्ने हामी एक्ज्याम्पल थियौँ । अहिले त्यो सबै नहुँदा मैले सोच्नै सकिरहेकी छैन कि जीवनले अब कुन मोड लिन्छ । परिवारको लागि के गर्छु, केही सोचेकी छैन ।
० मानिसका जीवनमा धेरै ठूला पीडा आएको हामीले देखेका छौँ, भोगेका छौँ । पीडालाई साहस वा पुण्यमा परिणत गरेर जीवनसँग लड्दै अगाडि बढेको पनि देखेका छौँ । तिमीलाई त्यस्तो केही गर्यौँ भन्ने सोच आउँदैन ? कसरी अगाडि बढौँ भन्ने लाग्छ अब ?
– प्रत्येकपटक कोसिस गरिरहेकै हो । हरेक ठाउँमा म उठ्छु केही गर्छु, अझै पनि धेरै गर्न बाँकी छ, धेरै हिम्मत गरेकी थिएँ । तर, म आफैँले पनि औषधिको सहारा लिनुपर्यो । रोगले राम्रोसँग हिँड्न सक्ने भएकी छैन । तर पनि पीडा मलाई परेको छ । एउटै कुरा भगवान् त मैले आजसम्म देखेकी छैन । यदि भगवान् छ भने, यतिसम्म सहनै नसक्ने पीडा कसैलाई नदेओस् । मैले अब बाँकी काम गरेँ भने पनि दुःखीहरुलाई… अफकोर्स मेरो मन दुःखमा परेको छ । मेरो मन दुःखमै जान्छ जस्तो लाग्छ । धेरै कुराहरु आफूले दुःख पाको भएर पनि होला, मन अलि कमजोर दुःखीहरुप्रति, सेवाप्रति नै जाँदो रैछ ।
० जीवनलाई दीनहीन र दुःखीहरुको सेवामा समर्पित गर्यौँ र आफ्नो घाउमा मलम लाग्छ भन्ने सोच हो ?
– म पहिल्यैदेखि अरुको दुःख हेर्न सक्दिनँथेँ । परिवार छरछिमेकमा कसैलाई दुःख परेको आफैँलाई परेको फिल हुन्थ्यो । आज मलाई जुन दुःख परिरहेको छ, यसलाई मैले कसरी सही रहेकी छु, कसरी कन्ट्रोल भइराछ मलाई थाह छैन ।
० मानिसको जन्म एकचोटि हुन्छ र मृत्यु पनि एकचोटि हुन्छ । यो जीवन फेरि पाउँ भनेर पाइँदैन । कुनै हिम्मत र साहसले पीडालाई छोपेर बाँकी जीवनलाई अगाडि बढाउने सोच राख्न सक्छ्यौ त अब ?
– पहिला त मैले मेरो जिन्दगीलाई माया मारिसकेकी थिएँ । आफ्नो हरेक कुरा अरुले गरिदिनुपथ्र्यो । अरुको सहारामा बसेँ । दुई महिना भयो आफूलाई अलि सम्हालेकी छु । टाइममा औषधि खान सकेकी छु । केही त गर्छु, अझै पनि मसँग हिम्मत छ । अझै पनि केही गर्छु भन्ने भित्र मनदेखि आइराछ । अझै मलाई टाइम लाग्छ । कुनै न कुनै रुपमा पूर्ण रुपमा ठीक हुन्छु । ठीक भएपछि पक्कै पनि मैले केही राम्रो गर्छु । म स्वेता खड्का भनेर चिनिएकै चलचित्र क्षेत्र, यो चलचित्र क्षेत्रमा जति उहाँहरुले नाम दिनुभाथ्यो, मैले पनि मिहिनेत गरेँ हुँला, त्यो मिहिनेतलाई तपाईंहरुले माया गर्नुभाथ्यो, मेरो श्रीमानको मेरो क्रियसनलाई सप्पैले रुचाइदिनुभाथ्यो । अफकोर्स, मैले गरेँ भने यस्तै सोसियल मुभी जुन घटनामा, जुन दुःखमा पहिले पनि गरेकी थिएँ । अझै पनि भयो भने गर्न सक्छु ।
० पहिले र अहिले समाजले तिमीलाई हेर्ने दृष्टिकोणमा केही अन्तर छ ?
– धेरैजनाको घटना देखेकी छु मेरो भेनाजु पनि । मेरो दिदी पनि मेरै उमेरमा यस्तो भएको थियो । गाउँतिर यस्ता प्रोब्लेमहरु हामीले फिल्महरुमा पनि हेरेको हो । तर, मलाईचाहिँ कुनै पनि कुरामा कसैले पनि त्यो कम्प्रोमाइज, त्यो पीडाहरु सहनुपरेको छैन, सबैले त्यत्तिकै माया गर्नुहुन्छ । अहिलेसम्म माया पाइरहेकी छु । भोलि के हुन्छ मलाई थाह छैन । विवाहित भएपछि, श्रीमान्ले छोडेपछि जुन हेपिने चलनहरु हुन्छ भन्छन् तर मैले त्यो फेस गर्नुपरेको छैन ।
० यसमा कसको दोष जस्तो लाग्छ ?
– सायद मलाई अलि ढिला परेको भए, मैले धेरै कुरा अनुभव गर्न पाएको भए थाह हुन्थ्यो । अझै पनि मैले कसलाई दोष दिने ? उपचार भयो, डाक्टरलाई दोष दिन पनि सक्दिनँ । उपचार गलत गरिदियो कि जस्तो लाग्थ्यो पहिला चाहिँ । अहिलेचाहिँ फेरि भाग्यको दोष, मैले भाग्य नै त्यस्तै ल्याको रैछु । र, भगवानले धोका दियो, त्यति नै भन्न चाहन्छु ।
० भाग्यबाहेक नि भगवान्प्रति विश्वास लाग्छ ?
– विश्वास त धेरै लाग्थ्यो । अहिले पनि लाग्छ । तर जुन घटना मलाई पर्यो नि, त्यसपछि मलाई भगवान् छ जस्तो लाग्दैन, भगवान् त हामीले मानेको मात्रै हो । भगवान् छैन जस्तो लाग्छ, किनभने, उहाँको ट्रिटमेन्ट चल्दा म दिनरात फास्टिङ बस्थेँ । ब्रत बस्थेँ । धेरै भगवान् पुकार्थे । बच्चादेखि ब्रत बस्थेँ । सायद घरमा सबैभन्दा बढी भगवान मान्ने म नै थिएँ होला । भगवान्ले हेर्छन्, भगवान्ले माया गर्छन् भन्ने सुनेकी थिएँ । भगवान्ले ब्लेस अहिलेसम्म दिइराख्नु भइराथ्यो र राम्रो भइराथ्यो जिन्दगी । तर, यो सहनै नसक्ने पीडा पर्यो नि, अहिलेचाहिँ मलाई भगवान् छैन जस्तो फिलिङ हुन थालेको छ ।
० तिम्रो भोगाइमा जीवन भनेको के रहेछ त ?
– मैले जीवनलाई राम्रो फूलको रुपमा लिएकी थिएँ । फूलजस्तै थियो मेरो जिन्दगी । मैले संघर्ष धेरै गरेको थिएँ पहिला पनि । संघर्ष हो भन्दा पनि बाँच्नु नै जिन्दगी रैछ । बाँच्नुपर्ने समय रैछ जिन्दगी । सप्पै कुरा समयले नै गरेको हो । हामीले समयलाई चिन्न सकेनौँ । समयमै बिहे गरेको भए हुन्थ्यो होला भन्ने पछुतो पनि लाग्छ ।
