तेजाव हान्ने र बलात्कार गर्नेलार्इ छोडिन्न : प्रधानमन्त्री



काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले तेजाव हान्ने र बलात्कार गर्ने अपराधीलार्इ सरकारले कुनै पनि हालतमा कानुनी दायरा ल्याउने बताएका छन् ।

महिलामाथि हुने हिंसा र अपराध अक्षम्य भएको बताउँदै प्रम कोइरालाले त्यस्ता हिंसामा संल्गनलार्इ दण्डित गर्ने कुरामा सरकार चनाखो रहेको बताएका हुन् ।

छात्रामाथि एसिड हान्ने र बलात्कार गर्ने अपराधीमाथि कारबाही हुनुपर्ने मागसहित ध्यानाकर्षणपत्र बुझाउन एमाओवादी नेतृ शशी श्रेष्ठको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री कोइरालाले सो कुरा बताएका हुन् ।

भारतको नयाँ दिल्लीमा सामूहिक बलात्कार गर्ने व्यक्तिलाई भारतीय अदालतले मृत्युदण्ड दिएको प्रसङ्ग उल्लेख गर्दै केही दिनअघि मात्र छात्रामाथि एसिड खन्याएको घटनालाई सरकारले गम्भीर रुपमा लिएको उल्लेख गरे । 'छिट्टै अपराधीको खोजी गरी कडा कानुनी गरिनेछ', प्रमले भने ।

कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले परिवारमै हुने हिंसाको अवस्था भयावह रहेको बताउँदै हाडनाता करणीसहित बलात्कारका घटनामा बलात्कारीलाई सजाय बढाउने गरी ऐनको संशोधन गरिन लागेको बताए ।

नेपालले मृत्युदण्ड उन्मूलन गरी यससम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा पनि हस्ताक्षर गरिसकेकाले मृत्युदण्डको प्रावधान नराखिएको भए पनि जन्मकैदको अवधि २० वर्षबाट ३० वर्ष पुर्याइएको र बाबुबाटै बलात्कारको घटना भए थप १० वर्ष सजाय थपिएको पनि बताए । 
कार्यक्रममा महिला प्रतिनिधिहरुले महिलाविरुद्धको हिंसाका पीडक र बलात्कारीलाई कडा दण्ड र सजाय दिएर नियन्त्रण गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका  थिए ।source:taja khabar




प्रतिक्रिया दिनुहोस्...