रेखालाई छविको वधाई, हलमा हुटिङ गर्ने नायिका को-को ?



नायिका रेखा थापालाई सुपरस्टार भन्दै प्रस्तुत गरिएको चलचित्र ‘तथास्तु’ आइतबार चलचित्रकर्मी र पत्रकारले हेरेका छन् । काठमाण्डौको राइजिङ मलमा रहेको क्यूज हलमा आयोजना गरिएको शोमा चलचित्रकर्मी र पत्रकारको बाक्लै जमघट देखियो ।
तर, सम्बन्ध बिच्छेदपछि एक अर्कालाई आरोप-प्रत्यारोप गरिरहेका नायिका रेखा थापा र निर्माता छविराज ओझाको मिलनको रोचक दृश्य देखियो ।
हलमा प्रवेश गरेसँगै रेखालाई देखेर केही असहज मानेका छविले हात मिलाउँदै उनलाई वधाई दिए । रेखा पनि छविसँग हात मिलाउँदै मख्ख देखिइन् । तर, फोटो पत्रकारको तस्बिर खिच्ने आग्रहले छवि र रेखा केही समय फ्रेममा उभिए ।
रेखा र छविको क्षणिक मुस्कानले दृश्यलाई केही रोचक बनायो । सविर श्रेष्ठको निर्देशनमा बनेको यो चलचित्रमा सुवास थापा, किशोर खतिवडा, विज्ञान जोशी पनि छन् । चलचित्र हेर्ने अधिकांशले रेखाको एक्सन र सुवासको अभिनयको तारिफ गरे ।
चलचित्र हेर्नका लागि नायिकाहरु केकी अधिकारी, वेनिशा हमाल, प्रियंका कार्की, जेनिशा केसी पुगेका थिए । साथमा दीपकराज गिरी र दीपाश्री निरौलाको जोडी पनि हलमा देखियो । 
चलचित्र हेर्ने क्रममा नायिकाहरुले हुटिङ गरेरै रेखालाई साथ दिए । रेखाको एक्सन पाटोमा नायिका पि्रयंका कार्कीको हुटिङले हल नै थर्कायो । प्रियंकाले ‘आफ्नो त नानी देखि लागेको बानी’ भन्दै हुटिङ गरिरहिन् । नायिका वेनिशा हमाल पनि प्रियंकाको साथमा देखिइन् ।
नारी हिंसा र बदलाको यो चलचित्रले ३ दिनमा राम्रो कलेक्शन पनि गरेको छ । सविर श्रेष्ठ र रेखा थापाको मसला फर्मुलामा बनेको यो चलचित्रलाई रामहरी धितालले निर्माण गरेका हुन् ।   source:tajakhabar





प्रतिक्रिया दिनुहोस्...