२० वर्ष पछि घर खोज्दै बेचिएकी चेली
जाजरकोट, पुस २२ – २० वर्ष अघि भारतमा बेचिएकी रुकुमकी एक महिला आफ्नो घर खोज्दै जाजरकोट आइपुगेकी छिन् । बालापनको हेक्का राख्न नसकेपछि रुकुम हिँडेकी उनी जाजरकोट आइपुगेकी हुन् ।
रुकुम खोलागाउँको मानाकोट घर बताउने धनकुमारी भनिने राज कुमारीलाई गाउँले मामा नाता पर्ने व्यक्तीले २० वर्ष पहिले भारतको चन्डीगडमा एक भारतीय नागरिकलाई आफू १६ वर्षको हुँदा बेचिदिएको राज कुमारी बताउँछिन् ।
उनलाई किन्ने भारतीयले आफूलाई एक वर्षसम्म मानसिक र शारिरिक यातना दिएको र जंगलमा फलिदिएको बताउँछिन् । व्यवारिसे अवस्थामा जंगलमा फलिएकी उनलाई देहरादुन विकासनगर थानाका जीवन सिंहले फेला पारेण्पछि आफ्नो घरमा पुर्याएर औषधि उपचार गरेको उनको भनाई छ ।
आफूलाई उपचार गरि बचाउने जीवन सिंहसँग विकासनगर थानाका स्थानीयहरुले उनको विवाह गरि दिएको उनले बताइन् । विवाहपश्चात् पनि उनको सुखको दिन आएन । भारतमा लगेर बेच्ने फेरि आयो र फेरी अर्कै व्यक्तिसँग उनलाई बेचिदिएको उनीसँगै आएका उनका श्रीमान् जीवन सिंहले बताए ।
चरम मानसिक तथा शारिरिक यातनाबाट मानसिक सन्तुलन नै गुमाएकी आफ्नी श्रीमतीलाई पाउन आफूले भारतीय प्रहरीको सहयोग लिएको जीवन सिंह बताए । उनले भने, ‘ प्रहरी सहयोगमा मैले अर्को ठाउँमा बेचिएकी श्रीमतीलाई फेरी पाउन सफल भएँ, विवाह गरेको आज १९ वर्ष बितिसकेको छ र अहिले हामी लोग्ने स्वास्नी सँगै छौँ ।’ चार सन्तानलाई जन्म दिएता पनि कसैलाई पनि बचाउन नसकेको दुखेसो समेत सिंहले पोख्न भ्याए ।
मानसिक सन्तुलन ठिक नभए पनि २० वर्ष पछि आफ्ना आमा, बुवा, दाजु, भाइलाई सम्झेर लोग्नेलाई साथमै ल्याएर उनी नेपाल फकिर्एकी हुन् । २० वर्षको अन्तराल पछि आफ्नो घरको खोजीमा नेपाल आएकी राज कुमारीलाई जाजरकोट जिल्ला प्रहरी कार्यालयले उनलाई घर सम्म पुर्याउन सहयोग गर्ने जानकारी दिएको छ ।
source:ratopati
