दिक्षान्त समारोहमै युवतीले स्तनपान गराएपछि हंगामा
विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिएकी एक २४ वर्षीया युवतीले बच्चालाई स्तनपान गराइरहेको खाँटी तस्वीर फेसबुकमा अपलोड भएपछि त्यो भाइरल बन्यो ।
घटना अस्ट्रेलियाको हो । ब्रिसबेनको सनसाइट कोस्ट विश्वविद्यालयबाट स्नातक उत्तीर्ण २४ वर्षीया ज्याकी शार्केले दीक्षान्त समारोहकै पोषाकमा आफ्नो ६ हप्ताको छोरा एल्कलाई स्तनपान गराइन् र सोही पोजमा तस्वीर समेत खिचाइन् ।
उक्त तस्वीरलाई ज्याकीकै अनुरोधमा विश्वविद्यालयले फेसबुकमा पोष्ट गर्यो । सोमबार अपलोड भएको उक्त तस्वीरमा अहिलेसम्ममा २ लाख भन्दा बढि लाइक र हजारौँ शेयर भएका छन् ।
दुई छोराकी आमा शार्केको जेठो छोरा पनि उनले यहीँ विश्वविद्यालयमा पढाइ सुरु गरेपछि जन्मिएको थियो, जुन २० महिनाको भएको छ ।
विश्वविद्यालयबाट दीक्षित भएपछि शार्केले आफ्नो स्तनपानको तस्वीर तथा सन्देश विश्वविद्यालयलाई पठाउँदै उक्त सन्देश र तस्वीर फेसबुकमा अपलोड गरिदिन अनुरोध गरिन् । उनले बिजनेस, मानव संसाधन व्यवस्थापन र बजार व्यवस्थापन विषयमा स्तानक उत्तीर्ण गरेकी हुन् ।
अन्य आमाहरुलाई आफ्नो अध्ययनलाई निरन्तरता दिन उत्प्रेरित गर्नका लागि आफुले यस्तो स्तनपानको तस्वीर शेयर गरेको उनी बताउँछिन् ।
सदियौँदेखि महिलाले गर्दै आएको कुरा आफुले नलुकाउने भन्दै उनले स्तनपानको उक्त तस्वीरको उद्धेश्य भनेको आमाहरुलाई उत्प्रेरणा दिनु रहेको दाबी गरिन् ।
शार्केका पति क्रिसले पनि दुई बच्चा भएकी आफ्नी श्रीमतीको पढाइमा खुबै सहयोग गरेका छन् ।
उनको स्तनपानको तस्वीर फेसबुकमा शेयर भएपनि धेरैले यसलाई उनको साहस तथा संघर्षको रुपमा प्रसंसा गरेका छन् भने कतिले आलोचना पनि ।
फेसबुकमा कमेन्ट गर्नेमध्ये एक जनाले भनेका छन्, ‘स्तनपान निकै सुन्दर नीजि काम हो जसलाई सार्वजनिक रुपमा शेयर गर्नु आवश्यक छैन ।’
कतिपयले भने उनको कामको चर्को आलोचना गर्दै भनेका छन्, ‘पिसाब फेर्ने, दिसा गर्ने काम पनि प्राकृतिक काम नै हुन् । के त्यसो भन्दैमा अब यी काम पनि सार्वजनिक रुपमै गर्ने ?’
तपाईंलाई चाहिँ के लाग्छ ? स्तनपानको तस्वीर सार्वजनिक गर्नु सही थियो वा गलत ?
source:onlinekhabar
