भारतमा बन्ध्याकरणमा भएका मृत्युका विषयमा औषधि उत्पादक पक्राउ



विलासपुर (भारत), कार्तिक २९ – भारतमा सामूहिक बध्याकरण कार्यक्रममा १३ महिलाको मृत्यु भएपछि प्रमाण नष्ट गरेको आरोपमा औषधि उत्पादक कम्पनीका मालिक तथा उनका छोरालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

Add caption
प्रहरीले बिहीबार छत्तीसगढ राज्यको मध्यभागमा रहेको उनीहरूको कारखानामा छापा मारेपछि यी दुई पुरुषलाई बिहीबार हिरासतमा लिएको हो । दर्जनौँ महिला शल्यक्रियापछि अझै पनि अस्पतालमा उपचारका लागि रहेका छन् । भारतमा गरिब महिलालाई बन्ध्याकरण गर्न अभिप्रेरणाका लागि नगद दिइने गरिन्छ । यी महिलाको मृत्युपछि यस कायक्रमको व्यापक रूप्मा आलोचना गरिएको छ । मानव अधिकारवादी कार्यकर्ताहरूले यस्तो शल्यक्रियामा प्रायः नराम्रो अवस्था देखिने गरेको उल्लेख गरेका छन् । प्रहरी सुपरिन्टेन्डेन्ट ओमप्रकाश पालले राज्यको राजधानी रायपुरमा उनीहरूले सञ्चालन गरेको औषधि कारखानामा गुणस्तरीय औषधि बनेको वा नबनेको भन्ने विषयमा उनीहरूलाई प्रश्न गरिने जानकारी दिए । एक दिनअगाडि प्रहरीले उक्त शल्यक्रिया गर्ने चिकित्सक आर.के. गुप्तालाई हिरासतमा लिएको थियो । गुप्ताले कम गुणस्तरको औषधिका कारण उक्त मृत्यु भएको बताएका छन् । स्थानीय एक अधिकारीले आफ्नो नाम नबताउने सर्तमा पक्राउ परेका यी पुरुषका कारखानामा प्रमाण जलाइएको देखिएको बताए । उनले आफूहरूले कारखानामा छापा मार्दा त्यहाँ ठूलो मात्रामा औषधि जलाइएको फेला पारिएको बताए । गुप्ताले शनिबार पाँच घण्टाको समयमा ८३ महिलामा बन्ध्याकरण गरेका थिए । उनले एक महिलालाई शल्यक्रियामा औसतमा चार मिनेटभन्दा कम समय दिएका थिए । गुप्ताले आफूलाई सरकारले बलिको बोका बनाएको आरोप लगाए । भारतमा गरिब महिलाले बन्ध्याकरण गर्दा एक हजार ४०० रूपैयाँ पाउने गर्छन् । हालसम्म यी महिलाको मृत्युको कारण औपचारिक रूपमा स्पष्ट भएको छैन । अधिकारीहरूले यी महिलाले विषाक्तपना भोगेको अनुमान गरेका छन् । राज्यले यस विषयमा न्यायिक छानबिन आरम्भ गरेको छ । मुख्यमन्त्री रमण सिंहले यी महिलामा प्रयोग भएको औषधिमा पनि परीक्षण भइरहेको बताए । सरकारले अनुसन्धानका लागि उक्त शिविरमा प्रयोग भएका पाँच औषधि प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । त्यसमा ‘एन्टिबायोटिक’ तथा पीडानिवारक (पेन किलर) औषधि परेका छन् । पीडित महिलाले अकस्मात वान्ता गर्न थालेका थिए भने उनीहरूमा रक्तचाप घटेको थियो । उनीहरूमा बन्ध्याकरणका लागि डिम्ववाही नली बन्द गर्ने ‘ल्यापरोस्कोपिक’ शल्यक्रिया गरिएको थियो । ¬ह्युमन राइट्स वाचले स्वास्थ्य कार्यकर्ताहरूले आफ्नो औपचारिक लक्ष्य पूरा गर्न महिलालाई बन्ध्याकरण गर्न दबाब दिने गरेको आरोप लगाएको छ । स्वास्थ्यमन्त्री जगत प्रकाश नाडाले भारतको एक अर्बभन्दा बढी जनसङ्ख्यामा थप वृद्धि रोक्ने प्रयासमा स्थानीय अधिकारीहरूलाई बन्ध्याकरणका लागि लक्ष्य निर्धारण नगरिएको बताए । संयुक्त राष्ट्र सङ्घले उक्त मृत्युका लागि जिम्मेवार भएका व्यक्तिलाई कारवाही गर्नुपर्ने र गर्भ निरोधक उपायका लागि कुनै पनि प्रकारको अभिप्रेरणा दिन नहुने माग गरेको छ । मुख्यमन्त्री सिंहले शल्यक्रिया गर्ने चिकित्सक तथा त्यसमा अनुगमन गर्ने अधिकारीलाई बर्खास्त गर्नुभएको छ । शल्यक्रिया विलासपुरको बाहिरी भागमा बन्द गरिएको अस्पतालमा भएको थियो । शुक्रबार उक्त स्थानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतमा सन् २०१० देखि हालसम्म बन्ध्याकरणबाट ३३६ व्यक्तिको ज्यान गएको सरकारी तथ्याङ्कमा देखिएको छ । -




प्रतिक्रिया दिनुहोस्...