सेनाको सुरक्षा घेराभित्रबाट हराएको भैरबीको मुकुट भेटियो चोरीमा संलग्न ८ जना सार्वजनिक



नुवाकोट, कात्तिक १४–नेपालका प्रमुख शक्तिपीठहरुमध्ये प्रसिद्ध मानिएको नुवाकोटको भैरवीदेवी मन्दिरबाट चोरी भएको पुरातात्विक र बहुमुल्य वस्तुहरुसहित त्यसमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । गत साउन ३१ गते राती चोरी भएको भैरवीको मुकुट र अन्य वस्तुहरुसहित चोरीमा संलग्न ८ जनालाई नुवाकोट प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

मन्दिरबाट हराएको भैरबीको मुकुट सहित चाँदीको सिक्रीको टुक्का १ थान, दानपेटिका १ थान र सिक्का सहितको करुवा १ थान प्रहरीले नियन्त्रणमा लिएको छ । यि सामग्रीसहित चोरीमा संलग्न रसुवा सरमथली–५ का २७ वर्षिय प्रदिप मोक्तान, नुवाकोट सामरी–१ का १९ वर्षिय सन्जोग नेपाली, नुवाकोट खड्गभञ्ज्याङ–६ का २३ वर्षिय योगेन्द्रद्र अधिकारी, विदुर नगरपालिका–१ का १९ वर्षिय सुरेश तामाङ, बिदुर–८ का १७ वर्षिय बिजय आलेमगर, बिदुर–५ का १७ वर्षिय सुब्बा सुर्खेती, मनकामना–३ का २४ वर्षिय तोरण लामा र सुर्यमोती–२ का ३० वर्षिय दिपक थापालाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले सार्बजनिक गरेको छ ।
चोरी भएका सामग्रीहरुमध्ये सिक्रिका टुक्का १ थान, मुकुटमा लगाउने किकिम्पा १ थान फेला पर्न बाँकि रहेको प्रहरीले जनाएको छ । चोरीमा अन्य संलग्न ३ देखि ४ जना रहेको अनुमान गर्दै प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए ।
मन्दिर नजिकै प्रहरी र नेपाली सेनाको टुकडीले सुरक्षा दिइरहेको समयमासमेत यसरी चोरी भएको थियो । बत्ती नभएको समयमा भैरवी मन्दिरको ढोकामा लागाउन प्रयोग गरिने दुईवटा भोटे ताल्चा फोरेर यी वस्तुहरु चोरिएका थिए । पाँच वर्ष अगाडी देवीघाटमा रहेको जालपादेवी मन्दिरबाट पनि हराएको मुर्ति अझै फेला परेको छैन ।source:ratopati





प्रतिक्रिया दिनुहोस्...