१२ लाखको चाँदीसहित एक भारतीय पक्राउ
वीरगन्ज- भारत बिहारको पश्चिमी चम्पारण टिकुलिया घर भएका ३३ वर्षे विजयकुमार सर्राफलाई प्रहरीले २० किलो चाँदीसहित वीरगन्ज भन्सार नाकाबाट पक्राउ गरेको छ। नारायणी अञ्चल प्रहरी कार्यालय, वीरगन्जको 'बिशेष टोलीले सुराकीले दिइएको सूचनाको आधारमा आइतबार साँझ सर्राफलाई पक्राउ गरेको' प्रहरी वरिष्ठ उपरीक्षक मनोज न्यौपानेले जानकारी दिए।
'मोटरसाइकलको सिटभित्र काटेर बनाइएको 'फल्स बटन' मा दाना (गेडा) चाँदी राखेर सिमा पारी भारततर्फ लैजाँदै गर्दा हामीले भन्सार कार्यालय नजिकै फेला पारेका थियौं,' टोलीको नेतृत्व गरेका प्रहरी नायब निरीक्षक अरुण कुशवाहाले भने। ना२प ८७८८ नम्बरको 'करक्स्' मोटरसाइकलमा फेला परेको चाँदीको १२ लाख रुपैया मूल्य पर्ने अञ्चल प्रहरी कार्यालयले जनाएको छ। दाना चाँदी बैंकले नेपाली ब्यपारीहरुलाई बेच्ने गरेका छन्।
पक्राउ परेका सर्राफले पाँच सय रुपैया प्रतिकिलो नाफा कमाउन आफूले वीरगन्जबाट चाँदी लिएर रक्सोल लैजान लागेको बेला प्रहरीले पक्राउ गरेको बताए। बैंकबाट निस्किने वजन रसिद चाँदीको पोकाभित्रै रहे पनि पक्राउ परेका सर्राफले कुन बैंकबाट निकालिएको हो भनी बताउन सकेनन्। चाँदी भने आफ्नै भएको उनले स्विकारेका छन्।
सो चाँदी भारततर्फ अवैध निकासी गर्ने मुख्य कारोबारी वीरगन्ज-११ मिना बजारस्थित एनपी पायल अर्नामेन्टका सञ्चालक नथुनीप्रसाद सर्राफको रहेको प्रहरी अनुसन्धानमा खुलेको छ। नथुनी प्रसादले चाँदी प्रहरीले बरामद गरेपछि 'गोप्य रुपमा मिलाएर मान्छे छोडी दिन' पहल गरेका थिए। 'चिनजानको हिसाबले मात्र पहल गरेको हुँ, चाँदी पक्राउ परेको ब्यक्ति कै हो,' नथुनी प्रसादले नागरिकन्युजलाई भने, 'हाम्रो काम पहल गर्ने हो, छोड्ने नछोड्ने प्रहरीको काम हो।'
'क्यारियर (ढुवानी गर्ने ब्यक्ति) समातिएपछि उसले बयानमा साहुलाई बँचाइ दिने र त्यसबापत साहुले बिगो बराबर धरौटी राखेर क्यारियलाई छुटाइ दिने धन्दाभित्र चलनमा रहेको शर्त हो,' अर्का सुनचाँदी ब्यवसायीले भने। गोप्य रुपमा 'चाँदी राखेर मान्छे छोड्ने' प्रस्ताव प्रहरीले अस्वीकार गरेको थियो। वडा प्रहरी कार्यालय वीर्ता र सीमास्थित इनर्वा प्रहरी चौकीलाई बिना अवरोध पार गरी तस्करले चाँदी भारततर्फ लैजाने गरेको सुनचाँदी ब्यवसायीहरु बताउँछन्।
