पञ्चायतकालमा खुल्ला रहने सिंहदरबारको ढोका गणतन्त्रमा किन बन्द ?
काठमाडौं, असोज ३१ – सरकार जनताका लागी हो, जनता सरकारको लागी हैन । तर जनताको सेवाका लागी स्थापित सरकारकी हेडक्वार्टर सिंहदरबार भने जनताकै सहज पहुँचबाट बाहिर छ ।
घटना गत बैशाख महिनाको हो । कानुन दिवसका दिन सिंहदरबार परिसरभित्र कानुन मन्त्रालयले एक अन्तरक्रियाको आयोजना गरेको थियो । कार्यक्रममा कानुनी क्षेत्रका विशिष्ठ व्यक्तित्वहरु र सरकारका मुख्य सचिवको सहभागिता थियो । कार्यक्रममा एक न्यायाधीशले मन्तव्य राख्न थाले । अचानक दर्शक दिर्घामध्येबाट अनौठो आमाचकारी गालीको आवाज तिनै न्यायाधीशतिर बर्सिन थाल्यो । सबै मुखामुख गर्न थाले । न्यायाधीशलाई गाली गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लियो । उनी थिए ‘लक्ष्मण सिंह खड्का’ ।
कुरा वैशाख तिरकै हो । एकजना मुसलमान समुदायका वृद्ध जग्गाको केश लिएर सिंहदरबार आएछन्, भुमिसुधार मन्त्रीलाई भेट्न । लक्ष्मण सिंह खड्काले प्रवेश पाएको सिंहदरबार दक्षिणी गेटबाट ती वृद्धले भने प्रवेश पाएनछन् । अनि उनी आफूले बोकेको झोला सिरानी हालेर सात दिन सात रात त्यहिँ कुरेछन् । ति वृद्धको यो व्यवहार देखेर आजीत भएका एक प्रहरी सईले उनलाई कुनै कागजपत्र भए देखाउन भनेछन् । लालपुर्जा हेरेपछि काम सकेर फर्कनु भन्दै उनलाई पास झुण्ड्याएर पठाईदिएछन् । भुमिसुधार मन्त्रालयका एक अधिकृतलाई भेटेर आफ्नो गुनासो पोखेपछि उनी फर्केछन् ।
माथिका दुई घटना एउटा प्रमाण हो, जसले बोलेको छ पहुँच हुनेले सिंहदरबार छिर्न पाउँछन नहुनेलाई ‘नो इन्ट्रि’ ।
सिंहदरबारको दक्षिणी गेटमा रहेको विद्युतीय सिस्टममा नाम डिस्प्ले भएपछि सेवाग्रहीले परिचय खुल्ने प्रमाणपत्र गेटमा राखेर मात्र सिंहदरबार छिर्न सक्छन् । ‘परिचय पत्र नभएकाहरु गेटबाटै फर्कनुको विकल्प छैन’–गृहमन्त्रालय शान्ति सुरक्षा शाखाका उप–सचिव गंगाबहादुर क्षेत्रीले भने ।
सिंहदरबारका चार ढोका छन् । जसमध्ये दक्षिणी गेटबाट मात्र सर्वसाधारणहरु प्रवेश गर्न सक्छन् त्यो पनि पहुँच भएका । वाक थ्रु मेशिन जडित दक्षिणी गेटमा बिहान दश बजेबाट पाँच बजेसम्म कुनै मन्दिरमा औंसीको जात्रा लागेजस्तै हुन्छ । कोहि भित्र जान्छन, कोहि रमिता हेर्छन, बाहिरै बसेर । परिचयपत्र भएका पैदल यात्रुलाई पनि करिब ५ मिटरको फरकमा तीन ठाउँमा चेकजाँच गरिन्छ, दुई ठाउँमा एउटै परिचय पत्र दुईपटक हेरिन्छ भने गेटबाट भित्र रहेको वाकथ्रु मेशिन पार गरेपछि झोला र शरीरको खानतलासी ।
singha-durbar
सिंहदरबार परिसरका अन्य तीनवटा ढोका भने बन्द प्राय: छन् । भद्रकाली साईडमा रहेको मुल ढोकाबाट सरकारी चारपांग्रे सवारी मात्र प्रवेश गर्न पाउँछन् । अन्य सरकारी पैदल यात्री वा सेवाग्राहीले त्यहाँबाट प्रवेश गर्न सक्दैनन् । पुतलीसडक र अनामनगर साईडको गेट भने अफिस इन्ट्रि गर्दा र बाहिरिँदा पैदल हिंड्ने कर्मचारीका लागिमात्र सिमित समयका लागि खुल्ने गरेको छ ।
यसरी पहुँच भएका सर्वसाधारणका लागी दक्षिणी गेटबाहेक पहुँच नभएकाहरुका लागि सिंहदरबारका सारा ढोका बन्द छन् । आखिर मुलुकमा गणतन्त्र आएपनि किन बन्द सिंहदरबारको ढोका ? यसबारे जिज्ञासा राख्दा गृह मन्त्रालयका उप–सचिव प्रदिप श्रेष्ठले चलिआएको चलन भन्दै, सबै गेटबाट छिर्न दिएमा सवारी जाम हुने तर्क गरे । ‘परिचय पत्र चेक गर्दा एकछिन सवारी अड्याउनु पर्ने भएकाले ट्राफिक जाम हुन्छ’ – श्रेष्ठले भने । गृहमन्त्रालय शान्ति सुरक्षा शाखाका उप–सचिव गंगा बहादुर क्षेत्रीले भने सुरक्षाका कारण सबै ढोका खोल्न नसकिने तर्क गरे ।
मुलुकमा संकटकाल लाग्नु अघि त्यति गाह्रो थिएन सिंहदरबार छिनर्् । २०४१ तिर ढाका टोपी लगाएर गेटमा नाम लेखाएको भरमा सिंहदरबार छिरेर दिनभर घुम्न पाईन्थ्यो । २०४२ सालको बमकाण्ड पछि सेवाग्राहीलाई सिंहदरबार प्रवेशमा केहि कडाई गरे पनि प्रवेशमा त्यति अप्ठ्यारो थिएन । । देशमा संकटकालको फर्मानसँगै पूर्णरुपमा बन्द भए सिंहदरबारका ढोका । मुलुकमा यत्ति ठुलो परिवर्तन आयो, जनताको छोरो राष्ट्रपति भईसक्दा पनि किन खुलेन सिंहदरबारको ढोका ?
हरेक दिन सिंहदरबारमा प्रवेश गर्नेको संख्या करिब आठसयबाट माथि हुने गरेको छ । गएको दशैंको समयमा भने त्यो संख्या बढेर १८०० सम्म पुगेको प्रहरी स्रोतले बतायो । तर त्यो १८०० सबै सर्वसाधारण थिएनन् । दशैं खर्च माग्न जानेहरु वा दिन जानेहरु धेरै थिए । सिंहदरबार प्रवेशलाई व्यवस्थित र सहज बनाउने भन्दै केहि समय अगाडी सुझाव समिती गठन गरिएको थियो । त्यो समितीले आफ्नो प्रतिवेदन केहि दिनमा बुझाउँदै छ ।
स्रोतका अनुसार सो समितीको प्रतिवेदनले पनि सिंहदरबारका चारै ढोका खोल्ने सुझाव दिएको छैन बरु दक्षिणी गेटलाई नै अलि व्यवस्थित बनाउने सुझाव टाईप गरिरहेको छ । आखिर सिंहदरबार सिसीटिभीको निगरानीमा छ । चारै ढोकाबाट वाक थ्रु मेशिनमार्फत चेकजाँच गरेर सर्वसाधारणलाई सहज पहुँच दिएपनि कसले बम पड्काउला र गृहमन्त्री ज्यू, तपाईको सिंहदरबारमा ? राजाका लागी बनेको नारायणहिटी खुल्दा, जनताकै लागी बनेको सिंहदरबारको ढोका चाँही आखिर किन बन्द ?
