अन्तर्राष्ट्रिय विमानस्थल तेस्रो खराब
काठमाडौ, कार्तिक ५ - नागरिक उड्डयन प्राधिकरणले एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै सुधार भएको दाबी गरे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अझै विश्वकै तेस्रो खराब विमानस्थलको सूचीमा रहेको छ ।
अहिले प्राधिकरणले विमानस्थल स्तरोन्नतिको काम गरिरहेको छ । विमानस्थलबारे सर्भे गरेको दि गाइड स्लिपिङ इन एयरपोर्ट' को प्रतिवेदन सार्वजनिक गर्दै सीएनएन डट कमले समाचार प्रकाशन गरेको हो ।
विमानस्थलको सरसफाइ, आरामदायी, यात्रु सेवा र अन्य सुविधाका आधारमा विश्वको राम्रा र खराब सूची निकालिएको हो । गत वर्षसम्म नेपालको अन्तर्राष्ट्रिय विमानस्थल विश्वका खराबमा नम्बर १ मा थियो । हाल टर्मिनल भवनलाई फराकिलो बनाइएकाले प्रस्थान हल केही सुविधाजनक भएको छ ।
विमानस्थलका प्रमुख ऋषिकेश शर्माले सरसफाइमा पनि पहिलेभन्दा धेरै सुधार भएको बताएका छन् । त्यही सर्भेका क्रममा विमानस्थलको सरसफाइ, विशेषगरी शौचालय र अत्यन्तै खराब भएकाले विमानस्थललको छवि बिग्रेको उल्लेख गरिएको छ ।
'यति पक्का निर्णय लिनुस् त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलको शौचालय प्रयोग नै गर्नु नपरोस्' हवाई यात्रुको भनाइलाई उद्धृत गरिएको छ 'जहाँ एउटा साबुनसम्म हुँदैन ।' त्यस्तै धूम्रपानका लागि छुट्याइएको कोठा कहिल्यै सफा नगरिने र अरू यात्रुसँगै बसेर धूम्रपान गर्दा त्यसले यात्रुलाई अप्ठेरो हुने गरेको समाचारमा छ । यात्रुहरूले विमानस्थल बस स्टेसनभन्दा पनि खराब भएको प्रतिक्रिया दिने गरेको सर्भेमा उल्लेख छ । त्यस्तै जहाज कुर्दा सुत्ने व्यवस्थित ठाउँ नहुनुले यात्रुलाई असुविधा हुने गरेको बताइएको छ ।
विश्वका खराब विमानस्थलको सूचीमा नम्बर एकमा इस्लामाबादको बेनेजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । यो विमानस्थलको वातावरण जेलको जस्तो भएको
यात्रुको गुनासो हुने गरेको सीएनएन डट कममा उल्लेख छ । 'दि गाइड स्लिपिङ इन एयरपोर्ट' १८ वर्षदेखि प्रत्येक वर्ष विश्वका विभिन्न विमानस्थलहरूको अवस्थाको सर्भे गर्दै आएको छ । दोस्रो खराबमा साउदी अरेबियाको किङ अब्दुलाजिज विमानस्थल छ । सूचीमा पाँचौं खराब विमानस्थलमा फिलिपिन्सको मनिला नियो एक्यिनो अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ ।
