चमत्कार भए मात्र दलहरुबीच सहमति हुन्छ : बाबुराम



१२ असोज, काठमाडौं । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले चमत्कार भए मात्र संविधानका विवादित विषयमा दलहरुबीच सहमति हुन सक्ने बताएका छन् । उनले दलहरुमा स्वतन्त्र रुपमा निर्णय गर्ने क्षमता नै नभएको बताए । सम्वाद समितिको आइतबारको बैठकमा भट्टराईले आफूले लामो प्रयास गर्दा पनि दलहरुबीच सहमति जुट्न नसकेको जानकारी गराए । यसअघि बैठकमा सभासदहरुले दुई साताको समय खेल फालेको भन्दै आलोचना गरेका थिए ।

बैठकमा भट्टराईले सहमतिका लागि जिम्मेवार नेताहरु नै गम्भीर नभएको आरोप लगाए । यसअघि संविधानसभामा बोल्ने क्रममा पनि आफूले संकेत गरेको भन्दै उनले भने-‘मैले गरेको संकेत साँचो ठहरियो । नेपालका दलहरु स्वतन्त्र रुपमा निर्णय गर्ने क्षमाता राख्दैनन् ।’

कुनै दलमा एकता नरहेको भन्दै उनले यही तरिकाले माघ ८ मा संविधान बन्न नसक्ने बताए । उgmे भने-‘संविधान नै नबस्ने संकेतहरु देखिएको छन् ।’निकै गम्भीर मुद्रामा बैठकलाई सम्बोधन गरेका भट्टराइले प्रमुख दलका नेताहरुको खाली कुर्सी देखाउँदै भने-‘अगाडीको सिट खाली छ । केही सहमति होला कि भनेर मैले धेरै प्रयास गरेँ र साथ दिएनन् ।’

बैठकमा एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता माधवकुमार नेपाल केहीबेर मात्र सहभागी थिए । अन्य अधिकांश शीर्ष नेताहरु अनुपस्थित रहे ।

उनले अब चमत्कार भए मात्र दलहरुबीच सहमति जुट्ने बताएका छन् । भट्टराईले भने-‘सास छउन्जेल आस हुन्छन् भन्छन् । भोलिसम्म प्रयास गर्छु । तपाईहरु पनि नेताहरुलाई सहमतिका लागि दबाव दिनुस् ।’

संविधानसभाले सम्वाद समितिलाई सहमतिका लागि दिएको समयसीमा मंगलबार सकिँदैछ । # श्रोत- अनलाईन खबर





प्रतिक्रिया दिनुहोस्...