.श्रीमान् र ससुराले हत्या गरेको आरोप
धरान । कुटपिट गरेर हत्या गरेको घटनालाई मिलेमतोमा पाशो लागेर आत्महत्या गरेको बनाएको दाबी गर्दै छरछिमेक र मृतक युवतीको माइती पक्षले प्रहरीले फितलो अनुसन्धान गरेको आरोप लगाएको छ । राजनीतिक र आर्थिक प्रभावमा परेर मृतकको माइती पक्षले दिएको किटानी जाहेरीसमेत प्रहरीले दर्ता नगरेको उनीहरुको भनाई छ ।
मृतक अञ्जली र सुजनबीच करिब ३ बर्षअघि प्रेम बिवाह भएको थियो । सुजनसँग अञ्जलीको दोस्रो विवाह हो । उनीहरुबाट एक छोरी पनि जन्म भइसकेको छ । छिमेकीका अनुसार अञ्जली मिलनसार थिइन् । दुवैबीच झगडा भने भइरहन्थ्यो । सनराइज बैंकका सवारी चालक श्रेष्ठ मदिरा पिएपछि अराजक हुन्थे । घटनाको दिन परपुरषसँगको आरोपमा ठाकठुक परेको उनीहरुको भनाई छ । त्यसदिन दुबैबीच बिहानैदेखि झगडा भइरहेको थियो । ‘बिहानैदेखि उनीहरुको झगडा भइरहेको थियो । दिउसो बिजुली अफिस सँगै गएको थियौं’–सँगै घरभएकी शान्ता खतिवडाले भनिन्–‘राती एक्कासी अञ्जली कराउदै आइन्, दिदी बाहिर निस्कनुस्, मान्छे देखाइदिनु पर्यो, हो भने जिम्मा लगाइदिनु म जान्छु भनेर कराइदै थिइन् ।’
उनका अनुसार त्यसपछि सडकमै दुवै जनाबीच लछारपछार भयो । लगत्तै दुवै जना घरभित्र गए । एक जना छिमेकी महिला पनि भित्र जान खोज्दा ससुराले छेक्यो । त्यसको मात्रै १०÷१५ मिनेट पछि घरबाट सुजन रुदै अञ्जली त मरी..भन्दै बाहिर आएको प्रत्यक्षदर्शीहरु बताउछन् । ‘मेरो अञ्जलीलाई कस्ले मार्यो भन्दै रुदै निस्कियो । भित्र गएर हेर्दा टिनको ढोका बन्द थियो, ससुराले काखमा टाउको राखेर सुम्सुम्याउदै गरेको देखे’–छिमेकी वृद्ध मनमाया कोइरालाले भनिन्–‘ससुरालाई नै ढोका खोल्न लगाए, घर होचो छ । सल, डोरी केही पनि देखिन ।’ घटनाको समयमा श्रीमान् र ससुरा घरभित्रै भएको र घर पनि झुण्डिन सकिने नभएकोले अञ्जली पाशो लागेर मरेको हुनैनसक्ने उनले बताइन् । ‘अनुसन्धान एकदमै फितलो भएको छ, प्रहरीले हामी छरछिमेकको कुरै सुन्दैनन । घटनाको बेलाको फोटो पनि हेर्दैन’–पत्रकार सम्मेलनमा एक महिलाले आक्रोश पोख्दै भनिन् ।
प्रहरीले भने पोष्टमार्टम रिपोर्टमा झण्डिएर आत्महत्या गरेको उल्लेख भएकोले किटानी जाहेरी तत्काल नलिएको जनाएको छ । ‘रिपोर्टले झुण्डिएर आत्महत्या गरेको भन्छ, भिसेरा निकालेका छौं । त्यसलाई पनि केन्द्रीय प्रयोगशालामा पठाउछौं’–इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक मिलन भटराईले भने–‘उनको श्रीमान्सँग सोधपुछ भइरहेको छ, अनुसन्धानकै क्रममा छौं ।’ प्रहरीले घटनास्थलको प्रारम्भिक अध्ययन गर्दा पनि हत्या गरेको जस्तो नदेखिएकोले कोही निर्दोष व्यक्ति नफसोस् भन्ने उद्देश्यले तत्काल किटानी जाहेरी नलिएको उनको भनाई छ । घटनामा कतैबाट दबाब नआएको जिकिर गर्दै उनले अनुसन्धानमा दोषी देखिएकालाई कारबाही गरिछाड्ने बताए । - merodharan
