‘ओभरटेक’ गर्न खोज्दा यस्तो दुर्गति, बस दुर्घटनामा १७ तीर्थयात्रीको मृत्यु (भिडियोसहित)



धादिङ, वैशाख ९ । पृथ्वी राजमार्गअन्तर्गत् धादिङको नौविसे गाउँ विकास समिति वडा नम्बर ५ झ्याप्ले खोलामा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । ‘जी जे १४ एक्स ९९००’ नम्बरको बस बुधबार बिहान दुर्घटना हुँदा अरु २८ जना घाइते भएका छन् । १४ जनाको घट्नास्थलमै र ३ जनाको विभिन्न अस्पतालमा मृत्यु भएको हो । ढुंगेअड्डास्थित ओम समाज, कलंकीको मनमोहन र शिवज्योती अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको सशस्त्र प्रहरी बल निलवाराही गणका एसपी काजीदास धौबजी श्रेष्ठले जानकारी दिए । मृत्यु हुनेमा देवकीभाइ सत्यारा, गणेशभाइ सत्यारा, देगारामभाइ सत्यारा, नरसीभाइ सत्यारा, गंगारामभाइ सत्यारा र गनपथभाइ सत्यारा रहेका छन् । यस्तै, जसविन सत्यारा, लिलाविन सत्यारा, गौरीदेव जीवन, गौरी विन, कन्चन विन रहेका छन् । हनुमानढोका काठमाडौंबाटसमेत प्रहरी टोली घटनास्थलमा खटिएको छ । घाइतेको काठमाडौंका विभिन्न ८ ओटा अस्पतालमा उपचार भइरहेको छ । काठमाडौंबाट गोरखपुर जाँदै गरेको बस ओरालो सडकमा ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । पशुपतिनाथ दर्शन गरी फर्केका तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको हो । बिहानै काठमाडौंको तिलगंगास्थित सत्यसाइ धर्मशालाबाट छुटेको बसमा चालक दलसहित ४५ जना सवार थिए । बस चालक पनि घाइते भएका छन् । बस रुखमा झुन्डिएको छ । उद्धार जारी छ । मृतकका सनाखत गरेर शव भारतीय दूतावासलाई जिम्मा लगाइएका प्रहरीले जनाएको छ । घटनाको वस्तुस्थिति बुझ्न नेपालस्थित भारतीय दूतावासका अधिकारीहरु पनि दुर्घटनास्थल पुगेका थिए । सुनौलीबाट काठमाडौं आएका ८० जना तीर्थयात्री मंगलबार सो धर्मशालामा बसेका थिए । उनीहरु अलग–अलग दुईओटा बसमा छुटेका थिए, त्यसमध्येकै एक बस दुर्घटनामा परेको हो । यसैबीच, दुर्घटनामा परेको बसका यात्रुको सरसामान चोर्न जाने तीन स्थानीयलाई प्रहरीले पक्रेको छ ।




प्रतिक्रिया दिनुहोस्...