किशोरावस्था र शारीरिक परिवर्तन,बुझ्नु पर्ने र बुझाउनु पर्ने कुराहरु!!



बालबालिकाको उमेर परिवर्तन संगै  शरीरमा तीव्र रुपमा परिवर्तनहरु देखिन थाल्दछन्  । बालक र बालिकाहरु बीच उमेर वृद्धि सँगै शारीरिक परिवर्तनमा पनि फरक पन आउँछ | शारीरिक स्वरूपमा नै परिवर्तन देखिने यो उमेरलाई किशोरअवस्था भनिन्छ |

किशोरावस्था भनेको कुनै व्यक्ति बाल्यकालबाट वयष्क हुने परिवर्तनशील अवस्था हो । यसै बेलामा किशोर तथा किशोरीहरुको प्रजनन, मानसिक, बौद्धिक, आर्थिक तथा अन्य क्षेत्रमा विकास हुन्छ र उनीहरू परिपक्व हुने गर्दछन् । यी परिवर्तनहरुमा यौनसम्बन्धी परिवर्तन एकदमै प्रमुख हुन्छन् । सामान्यतया १० वर्षको उमेरदेखि १९ वर्षम्मको उमेर समूह यसमा पर्दछ ।

हुन त केटा तथा केटी दुवैमा जन्मदेखि नै यौन तथा प्रजनन अङ्गहरु हुन्छन् । किशोरावस्थामा नै यी अङ्गहरु  परिपक्व हुनुका साथै विभिन्न परिवर्तनहरु देखिन्छन्, जसमध्ये प्रमुख निम्नानुसार छन् ।
किशोरावस्थामा के-के हुन्छ त शारीरिक परिवर्तन ?
केटाहरुमा हुने परिवर्तन 
हलक्क बढ्नु र काँध चौडा हुनु हलक्क बढ्नु र
दाह्री जुगा आउनु,
स्वर धोद्रो हुनु,
काखीमुनि रौं आउनु,
यौनाङ वरिपरि रौं आउनु,
पसिनाग्रन्थि बढी सक्रिय भई पसिना धेरै आउनु,
डण्डिफोर आउनु,
लिङ तथा अण्डकोष बढ्नु,
विर्य उत्पादन सुरु हुनु,
लिङ उत्तेजित हुने क्रम बढ्नु,
स्वप्नदोष हुनु आदि |
केटीहरुमा हुने परिवर्तन…
पुठ्ठो चौडा हुनु
तिघ्रा सोली आकारको हुनु
स्वर अझै सुरिलो हुनु
काखीमुनि रौं आउनु
यौनाङ वरिपरि रौं आउनु
पसिनाग्रन्थि बढी सक्रिय भई पसिना धेरै आउनु
डण्डिफोर आउनु
पाठेघर बढ्नु
महिनावारी सुरु हुनु
स्तन बढ्नु
स्वप्नदोष हुनु आदि |
यी शारीरिक परिवर्तन सबैमा एकनास नभई व्यक्तिअनुसार चाँडो ढिलो वा कम बेसी हुने गर्छ ।
भावनात्मक र व्यावहारिक परिवर्तन कस्तो हुन्छ त ?
अर्को व्यक्ति धेरैजसो विपरीत लिङ्गी प्रति यौनको दृष्टिकोणले आकर्षण बढ्नु ।
यौनचाहना प्रकट हुनु तथा यौनसम्बन्धी कुराको खोजिनीति गर्ने हुनु ।
मिनोदशामा चाँडो चाँडो परिवर्तन हुनु ।
बढि स्वतन्त्र हुने कोशिश गर्नु ।
अधिकारिक व्यक्ति तथा परिवारको विद्रोह गर्नु र आमाबाबुको विरोधी हुनु ।
एक्लै बस्न मन पराउनु ।
सोचाइहरु परिवर्तन भइरहनु
बहस गर्नु र कम आज्ञाकारी हुनु ।
बढी गोपनीयता चाहनु
शारीरिक परिवर्तन बारेमा बढी सोच्नु र आफ्नो स्वरुपबारे अलमलिएको हुनु ।
महिनावारी, स्वप्नदोष, हस्तमैथुन, स्तन वा लिङको आकारबारे बढी चिन्ता गर्नु ।
के म आफैं ठीक छु भन्ने प्रश्न गर्नु ।
लक्ष्यहरु परिवर्तन भइरहनु ।
दिवास्वप्न देख्नु र बढी कल्पनाशील हुनु अर्थात काल्पनिक तथा असम्भव कुरा सोच्नु ।
आफ्नै मूल्य तथा मान्यताहरुको विकास सुरु गर्नु ।
आफ्ना समस्यालाई बढाइचढाइ गर्नु, कसैले बुझदैन भन्ने सोचाइ हुनु ।
शारीरिक स्वरुपबारे सोच कस्तो हुन्छ त ?
शारीरिक परिवर्तनहरु हुन थालेपछि ती परिवर्तनबारे किशोरावस्थामा चासो हुनु स्वाभाविक हो । के म ठीक छु म कस्तो देखिन्छु, के म राम्रो वा राम्री छु , के मेरो उचाइ वा यौना वा स्तनको आकार ठीक छ जस्ता प्रश्नहरुले उनीहरूलाई एकदम सताइरहन्छ । आवश्यक जानकारी नहुँदा र जानकारीको लागि पहुच पनि नहुँदा धेरैजसो किशोर किशोरीहरु अलमलमा पर्दछन् । त्यसले गर्दा अनावश्यक समस्याहरु आइलाग्छन् ।
किशोरावस्थामा हुने शारीरिक परिवर्तनहरु भिन्न भिन्न गतिमा हुन्छन् । साथीहरुसँग तुलना गर्दा उनीहरुको तुलनामा आफ्नो शरीरको वा अङ्गहरुको विकास फरक फरक गतिमा हुँदा अलमलमा परिन्छ । अर्को कुरा, लिङ वा स्तनको आकारप्रति धेरैलाई चासो हुन्छ । जसरी हामी अर्को व्यक्तिभन्दा आकार र स्वरुपमा फरक फरक छौं, त्यसरी नै हाम्रो यौना, स्तन वा शरीरको आकार तथा बनावट उचाइ, मोटाइ फरक फरक हुन्छ । किशोरावस्थाको सुरुमा आफ्ना शरीरबारे अन्योल देखिए पनि पछि बिस्तारै यसमा सामञ्जस्यता आउँछ । किनकि आफ्नो शरीर यस्तै हो भनेर परिपक्व भएपछि राम्ररी बुझिन्छ ।
शारीरिक स्वरुप भनेको कुनै पनि व्यक्तिको आफ्नै शरीर र त्यसको बनावटप्रतिको धारणा वा भावनाहरु नै हो । शारीरिक स्वरुपप्रति सकारात्मक हुनु स्वस्थ विकासको लागि जरुरी छ । आफ्नै शरीरप्रति नकारात्मक धारणा भएमा हाम्रो आत्मसम्मान, आत्मविश्वास कम हुने तथा हीनताबोध हुने हुन्छ । यसले दिर्घकालीन असर पर्छ र सो व्यक्तिले आफ्नो व्यक्तित्व विकास गर्न सक्दैन । त्यसकारण किशोर(किशोरीहरुमा आफ्नो शरीरप्रति सकारात्मक धारणा हुनुपर्छ । यसो भएमा सकारात्मक व्यक्तित्व विकासमा मद्दत पुग्छ । यसका लागि उनीहरूका प्रश्नहरूको सहजरुपमा जवाफ पाउने वातावरण हुनु जरुरी छ ।
किशोरावस्थामा यौनस्वास्थ्यको महत्त्व के छ त ?
अझै पनि किशोरावस्थामा नै विवाह गरिदिने चलन थुप्रै ठाउँमा विद्यमान छ । तर पनि किशोर(किशोरीले यौनस्वास्थ्यको बारेमा खुलेर कुरा गर्नु वर्जित विषयजस्तो गरिन्छ । यौनस्वास्थ्य भनेको यौनसर्म्पर्क र सन्तान जन्माउनु मात्र होइन । यसअर्न्तर्गत आत्मसम्मान, आफूलाई व्यक्त गर्ने, अरुको हेरचाह गर्ने तथा सांस्कृतिक मूल्यमान्यताजस्ता कुरा पनि पर्दछन् ।
विश्व स्वास्थ्य संगठनले यौनस्वास्थ्यलाई यौनिकताको शारीरिक, भावनात्मक, बौद्धिक तथा सामाजिक पक्षहरुको समष्टिगत रुपमा परिभाषित गरेको छ । यौनिकता भनेको यौनसम्बन्धहरुका बारेमा मानव विचारहरु, यौनसम्बन्धी मूल्यमान्यताहरु, यौनको अर्थ, हामी कसरी यसको अभ्यास गर्दछौं तथा हामी कसरी त्यसलाई नियन्त्रण वा सीमित गर्दछौं भन्ने कुराहरुको समष्टिगत रुप हो ।
किशोरावस्थामा हुने यी परिवर्तनले आउने समस्याहरुको व्यवस्थापन गर्न नसक्दा विभिन्न स्वास्थ्य तथा सामाजिक जोखिमहरु पैदा हुन सक्छन् । कम उमेरमै सन्तान जन्माएको हुनाले शिशुको स्याहार उचित नहुँदा शिशु तथा बालमृत्यु धेरै हुन्छ । अनिच्छित गर्भ रहन सक्छ । अनिच्छित गर्भलाई असुरक्षित गर्भपतन गराउँदा गम्भीर स्वास्थ्यसमस्या उत्पन्न हुन सक्छ । यसले सामाजिक बेइज्जत तथा बहिष्कार हुन सक्छ । शिक्षा तथा वृत्तिविकासमा नकारात्मक असर हुन सक्छ । कलिलै उमेरमा विवाह गरिदिने प्रचलनले प्रजनन अङहरु पूर्ण रुपमा परिपक्व नहुदै शिशु तथा आमा दुवैको स्वास्थ्यमा असर परी ज्यानै जान सक्छ ।
समाधानको लागि यौनशिक्षा र परामर्श !
किशोर किशोरीका यौनस्वास्थ्यका कुरालाई हेर्नुपर्दा यी विविध पक्षलाई समेट्नुपर्दछ, ताकि जोखिम न्यून गर्न सकियोस् । यस अवस्थामा यौनउत्सुकता तीव्र हुने र यौन तथा अन्य कतिपय जोखिमपूर्ण् क्रियाकलापमा अनुभव हासिल गर्न प्रयोग गर्ने भएको हुनाले बारम्बार आफूलाई खतरामा पार्दछन् । यी सबै कुराहरुमा पूर्वज्ञान उपलब्ध गराउन नसकेमा त्यस किसिमका खतराहरु झन् बढ्छन् ।
त्यसैले किशोरावस्थामा पर्न सक्ने समस्याबाट जोगाउन तथा त्यसका दीर्घकालीन असरहरुबाट बचाउन र यौन तथा प्रजनन स्वास्थ्य राम्रो राख्न किशोर किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञान दिनुपर्ने हुन्छ । मुख्यरुपमा किशोरावस्थामा हुने यौनभावनाहरुको व्यवस्थापन, शारीरिक तथा मानसिक परिवर्तनबारेको ज्ञान, जतिसक्दो पहिलो यौनसर्म्पर्क गर्ने ढिला, सुरक्षित यौनसर्म्पर्क गर्ने, २० वर्षछि मात्र गर्भवती हुनेजस्ता महत्त्वपूर्ण कुराहरुको जानकारी दिनु आवश्यक छ ।

यौनशिक्षा मात्रैले सबैको जिज्ञासा, चासो वा समस्या समाधान नगर्न सक्छ । त्यसैले किशोर(किशोरीलाई विशेषरुपमा यौन तथा प्रजनन परामर्शको सेवा उपलब्ध गराउनुपर्ने हुन्छ । परामर्श भनेको परामर्श लिन आउने व्यक्तिको परिस्थितिको खोजिनीति गरेर समस्याको पहिचान गरी त्यसको समाधान पत्ता लगाउन तथा समाधानको लागि केही गर्न निर्णयलिनको लागि उसलाई मद्दत गर्ने एक प्रक्रिया हो ।
किशोरावस्थामा विभिन्न परिवर्तनहरु हुने तर उनीहरुलाई यसबारे जानकारी नहुने हुँदा धेरै समस्याहरु हुने हुन्छन् । हामीलाई खास महत्त्वपूर्ण नलागे पनि उनीहरुका लागि यी समस्याहरु निकै ठूला समस्या हुन सक्छन् । उदाहरणको लागि स्वप्नदोष हुनु वा हस्तमैथुन गर्नु एक स्वाभाविक प्रक्रिया भए पनि यसो गरिसकेपछि उनीहरुलाई आफूले केही गर्न नहुने कुरा गरेको भनी ग्लानि हुने वा स्वास्थ्यमा गम्भीर असर पर्ला भनेर पिर पर्छ । त्यसैगरी महिनावारी हुनेबारे थाहा नपाएकी किशोरीको लागि पहिलो पटक त्यसरी रगत आएको अनुभव निकै असजिलो हुने मात्र होइन कि कतिले त मर्न लागें भन्ने कुरा पनि सोच्छन् । त्यसैगरी केटाहरुमा लिङको र केटीहरुमा स्तनको आकारबारे धेरै चासो हुन्छ र उचित जानकारी नहुँदा निकै चिन्तामा पर्छन् ।
अर्को कुरा, कतिले अनावश्यक रुपमा समाधानको लागि अनेक उपचार विधि अपनाउने वा कतिपय स्थितिमा अदक्ष स्वास्थ्यकर्मी वा नक्कली स्वास्थ्यकर्मीकोमा जाने गर्दछन् । यस्तो परिस्थितिमध्ये कतिपय अवस्थामा त उनीहरुले प्रयोग गर्ने गरेका औषधि वा उपचार विधिले फाइदा नपुर्‍याउने मात्र होइन कि हानि पनि पुर्‍याउन सक्छ । समयमै उचित परामर्श पाएमा उनीहरुले आफूमा भइरहेको परिवर्तनलाई सहजरुपमा लिन सक्ने मात्र होइनन्, कतिपय हानिकारक समस्याबाट पनि मुक्त हुन सक्छन् ।
किशोर-किशोरीहरुले ठीक जानकारी पाउने वातावरण पनि नहुने र मनमा उठेका तीव्र जिज्ञासा र उत्सुकता शान्त पार्न प्रयास गरे पनि उनीहरुलाई नै नराम्रो ठानिन्छ । यी मूल्यमान्यताहरूका परिवर्तनसँगसँगै यी जानकारी तथा परामर्श प्राप्त गर्ने वातावरण पनि बनाउनुपर्छ । चेतना अभिवृद्धि गर्ने कार्यक्रमका साथै यस्तो अलमलको स्थिति, अन्य चासो वा समस्या समाधानको लागि आवश्यक जीवनोपयोगी सीप दिनुपर्छ ।
अभिभावकको भूमिका के हुन सक्छ त ?
सबैजसो व्यक्तिले कुनै न कुनै बेला यस अवस्थालाई पार गर्ने र अनुभव गर्ने भए किशोर(किशोरी र अभिभावकका बीचमा धेरैजसो कुरामा विचार र दृष्टिकोण एकदमै फरक हुने देखिएको छ । केही कुराहरु त पहिले र अहिलेको समाजमा भएका परिवर्तनहरु यसका कारण हुन सक्छन् । तर मुख्य कुरा त किशोर तथा किशोरीहरुका विकास हुने क्रममा भएका परिवर्तनहरु नै यसका कारण हुन् ।
किशोरावस्थामा हुने परिवर्तनहरुमा एक प्रमुख परिवर्तन उनीहरु स्वाधीन अर्थात् स्वतन्त्र हुन खोज्नु हो । किशोरावस्थामा उनीहरू घुमफिर गर्न रुचाउँछन् र परिवारको सीधा प्रभावभन्दा बाहिर बस्न रुचाउँछन् । उनीहरुले परिवारका सदस्यहरुभन्दा साथीहरुसँगै समय बिताउन चाहन्छन् । उनीहरू बढी स्वतन्त्र हुन खोज्ने भएको हुनाले आमाबुबा तथा अभिवावकहरुसँग केही तनावको स्थिति आउँछ । किनकि उनीहरुले किशोर किशोरीलाई बढी नियन्त्रण गर्न खोज्छन् । पहिले आमाबाबुमा निर्भर हुने उनीहरु अब स्वतन्त्र हुन खोज्दा तालमेल नमिलेर सम्बन्ध केही नरमाइलो तथा तनावयुक्त हुन जान्छ ।
यी सबै परिवर्तनहरु स्वाभाविक भए पनि आमाबाबु वा परिवारका अन्य सदस्यलाई थाहा नहुदा आफ्ना किशोरावस्थाका छोराछोरी ब्र्रिन पो लागेछन् कि भनेर अनेक चिन्ता र चासो हुन्छ । एक्लै आफ्नै धुनमा गोप्य तरिकाले बस्दा उनीहरुले अनेक शंका गर्न पुग्छन् । विद्रोह गर्ने र अराएको कुरा नमानी साथीहरुकै पछि चाहिने र नचाहिने काममा लाग्दा वयष्कहरुले किशोर-किशोरीहरुले बाटो बिराएको तथा विद्रोह ठान्छन्। त्यसो नहोस् भनेर अनावश्यकरुपमा बढी खोजिनीति वा चियोचर्चो गर्दा वा नियन्त्रण गर्न खोज्दा कुरा झन बिग्रन्छ ।
एकातिर परिवारका वयष्क सदस्यहरुले किशोर किशोरीका बारेमा यी कुराहरु थाहा पाउनु जरुरी छ भने अर्कातिर किशोर किशोरीहरुले पनि बुबाआमाले किन यसो गर्न खोजेका होलान् भनेर बुझिदिनु आवश्यक भएकोले उनीहरूसँग यसबारे राम्ररी छलफल गर्नुपर्छ । किशोरावस्थामा हुने यी परिवर्तनहरु स्वाभाविक हुन् र बुबाआमालाई पनि आफ्ना छोराछोरीको चासो हुनु र भलो चिताउनु स्वाभाविक हो भन्ने कुरा थाहा पाएपछि सोअनुसार नै उनीहरु दुवैको आवश्यकताअनुरुप काम गरेमा सम्बन्ध सुमधुर बनाउन निकै मद्दत मिल्छ ।source naya khabar





प्रतिक्रिया दिनुहोस्...