उपचार गर्न भारत पुगेकी नेपाली युवतीलाई बलात्कारपछि हत्या
रोहतक, माघ २६ - उपचार गर्न भारत पुगेकी नेपाली युवतीलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोमबार आठ अभियुक्तलाई पक्राउ गरेको छ । मानसिक समस्या भएकी ती युवतीलाई ढुंगाले टाउकोमा हानेर अचेत भएपछि सामुहिक बलात्कार गरिएको प्रहरीले जनाएको छ । यो घटना प्रकाशमा आएपछि भारतभर उग्र रोष प्रकट भएको थियो ।
प्रहरी महानिर्देशक यसपाल सिंघलले पक्राउ परेका आठमध्ये एक नेपाली मुलका भएको बताएका छन् । सन्तोष नामका ती युवक सामुहिक बलात्कारका अर्का आरोपीको पसलमा काम गर्ने बताइएको छ । बाकी सातजना हरियाणाको रोहतक सहर नजिकको गाउका बीसदेखि ३० वर्षउमेर समुहका युवा भएको बताइएको छ । घटनामा संलग्नमध्ये एक अझै फरार छन् ।
२८ वषिर्या ती युवती उपचारका लागि भारत पुगेकी थिइन् । उनी रोहतकमा दिदीसंग बस्दै आएकी थिइन् । गएको फेब्रुअरी १ देखि उनी बेपत्ता थिइन् । तीनदिनपछि उनी दिदीको घरबाट १८ किलोमिटर टाढा राजमार्ग छेउको खेतमा मृत भेटिएकी थिइन् । प्रहरीले उनको सामुहिक बलात्कार भएको र हत्या गरिएको जनाएको थियो । उनका शरीरभरि धारिलो हतियारले चिरेका र ढुंगाले टाउकोमा प्रहार गरिएको अटोप्सी रिपोर्टमा उल्लेख गरिएको थियो । प्रहरीले एक सातासम्म यस घटनाका आरेापी पक्राउ गर्न नसकेपछि यसबारे सूचना दिनेलाई १ लाख रुपैयाले पुरस्कृत गर्ने रकमलाई ५ लाख पुर्याएको थियो ।
यो विभत्स बलात्कार र हत्याको घटनाले तीनवर्षअघिको दिल्ली बलात्कारको घटना सम्झाइदिएको छ । त्यस घटनापछि भारतभर महिलाहिंसा विरोधी अभियान सुरु भएको थियो ।
