कुन कुन नेपालीले पुर्यायो स्वीट्जरल्याण्डमा ५ अरव, प्रचण्डको पनि हुन सक्ने आशंका !
स्वीट्जरल्याण्डस्थित स्वीस बैंकमा आठ जना नेपालीले ५ अर्ब ४० करोड रुपैयाँ बराबरको कालोधन थुपारेको खुलासा भएको छ । स्वीट्जरल्याण्डको एचएसबीसी बैंकमा ५ करोड ४० लाख अमेरिकी डलर नेपालीहरुले जम्मा गरेको फेला परेपछि यो खुलासा भएको हो । ‘स्वीस लिक’ प्रोजेक्टका नाममा खोज पत्रकारहरुको एक अन्तर्राष्ट्रिय संस्थाले संसार भरिबाट स्वीस बैंकमा कालो धन जम्मा गर्नेहरुको विवरण सार्वजनिक गर्ने क्रममा यो खुलासा गरिएको हो ।
खोज पत्रकारहरुको संस्था आईसीआइजेका अनुसार नेपालबाट स्वीस बैंकमा जम्मा गरिएको ५ करोड ४० लाख डलरमध्ये एउटै खातामा ४ करोड डलर भेटिएको र बाँकी १ करोड ४० लाख डलर विभिन्न सात वटा खातामा रहेको छ ।
नेपालबाट कालो धन थुपार्ने ८ जनाको नाम खुलेको छैन । भारतीय सञ्चार माध्यमले भने स्वीस बैंकमा कालोधन थुपार्ने सय जना उद्योगी व्यवसायीको नामावली सार्वजनिक गरेका छन् । भारतबाट मुकेश अम्बानी र अनिल अम्बानीसहित १६ सय ८८ जनाको स्वीस बैंकहरुमा खाता रहेको ठोकुवा गरिएको छ । आफ्नो देशमा कर छल्नेहरुले त्यसरी स्वीस बैंकमा रकम जम्मा गरेको प्रतिवेदनको निष्कर्ष छ।
खोजी पत्रकारिता सम्बन्धी अमेरिकी संस्थाले खुलासा गरेको यो रिपोर्टमा २ सय ३ देशका १ लाख ६ हजार खातावालको नाम समावेश छ । स्वीट्जरल्याण्डको प्राइभेट बैंकमा रहेका खातासम्बन्धी गोप्य सूचना चुहिएपछि विश्वका विभिन्न मुलुकमा सनसनी फैलिएको छ । ४५ देशका १ सय ४० पत्रकार सहभागी अनुसन्धान टीममा लण्डनस्थित बीबीसीका पत्रकार र भारतको इण्डियन एक्सप्रेसका पत्रकारको टीम पनि सामेल थिए । संसारका कुनै पनि देशबाट रकम जम्मा गर्न स्वीट्जरल्याण्ड सुरक्षित मानिंदै आएकोमा यस पटक गोप्य खाताको विवरण खुलासा भएको हो।
केहि समयअघीदेखि नेपालका राजनीतिक दलका नेताहरु र केहि व्यापारीले रकम लुकाएको आशंका हुँदै आएको थियो। तर पुष्टि भने हुन सकेको थिएन। यो पटक पनि नाम भने सार्वजनिक भएको छैन। कतिपयले भने सो रकम एमाओवादी अध्यक्ष प्रचण्डको भएको पनि शंका व्यक्त गरेका छन्। प्रचण्डको त्यहाँ पैसा रहेको अपुष्ट समाचारहरु यसअघी पनि सार्वजनिक भएका थिए। पूर्व रानी ऐश्वर्यको नाममा पनि स्विजरल्याण्डमा रकम रहेको आरोप लागेको थियो। सो आरोप पनि पुष्टि हुन सकेन। तर यसपटक भने सरकारले पहल गरे नाम सार्वजनिक गर्न सहज हुने विश्वास गरिएको छ।
