संविधानसभामा आज भिडन्त हुने, संविधानसभा छाड्ने विपक्षीको तयारी



काठमाण्डु, ११ माघ– एकीकृत माओवादी नेतृत्वको विपक्षी गठबन्धनका सभासदले आजको संविधानसभा बैठकमा कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले नियमावलीविपरीत प्रश्नावली समिति गठनसम्बन्धी प्रस्ताव गरे संविधानसभाभित्रै प्रतिरोध गर्ने तयारी विपक्षीको छ । सभाध्यक्ष नेम्वाङले आजको बैठकमा उक्त प्रस्ताव आफैंले पढेर सुनाउने तयारी गरेका छन् ।
काँग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठ प्रस्तावक र एमाले सचेतक अग्नि खरेल समर्थक रहेको प्रस्ताव विपक्षीको पटकपटकको अवरोधका कारण संविधानसभामा पेश हुन सकेको थिएन । यसअघि शुक्रबारको बैठकमा सभाध्यक्ष नेम्वाङले आइतबार कुनै पनि हालतमा प्रश्नावली समितिको प्रस्ताव पारित हुने बताइसकेका छन् ।
विपक्षी मोर्चाको शुक्रबार सिंहदरबारमा भएका चरणबद्ध बैठकले सत्तापक्षको डिजाइनमा सभाध्यक्ष नेम्वाङले जबर्जस्ती प्रस्ताव पेश गरे मुलुक द्वन्द्वमा जाने र त्यसबाट उत्पन्न असहज परिणामको जिम्मेवारी सत्तापक्ष हुने चेतावनी दिइसकेको छ । बैठकपछि सञ्चारकर्मीसँग एमाओवादी अध्यक्ष प्रचण्डले आइतबारको बैठकमा यसअघिभन्दा कडा प्रतिरोध हुने बताएका थिए ।
यसअघि गत ५ माघको बैठकमा विपक्षी सभासदले संविधानसभा बैठक कक्षका कुर्सी र माइक तोडफोड गरेका थिए ।  स्रोतका अनुसार सभाध्यक्षले प्रस्ताव पेस गरे विपक्षी मोर्चाका सभासदले नाराबाजी गर्दै संविधानसभा छाड्ने छन् ।
सुरक्षा कडा
यसैबीच गृह प्रशासनले यसअघिको तुलनामा आज संविधानसभाभित्र र पसिरको सुरक्षा व्यवस्था थप कडा पार्ने भएको छ । सुरक्षामा कडाइ गरेकामा आपत्ति जनाउँदै विपक्षी मोर्चाले संविधानसभालाई ब्यारेकमा परिणत गर्न खोजिएको आरोप लगाउँदै आएको छ ।source:taja khabar




प्रतिक्रिया दिनुहोस्...