नायिका गरिमा पन्त भन्छिन्, 'बिहे गर्न मन लाग्यो'
नायिका गरिमा पन्त अहिले अभिनय यात्राको सहज मोडमा छिन्। चलचित्र 'झोला'मा अभिनय गरेपछि उनको क्रेज बढ्दो छ। अभिनयमा केन्द्रित उनलाई घरपरिवारको साथ छ। उमेर पुगे पनि परिवारबाट विवाहका लागि दबाब छैन। 'सरसल्लाह हुन्छ। आमाबुवा सोच भन्नुहुन्छ।
त्यसैले मानसिक र शारीरिक रूपमा म विवाहका लागि तयार छु। यसको अर्थ विवाह गरिहाल्ने भन्ने होइन, केही वर्ष काममै केन्द्रित हुन्छु', उनी भन्छिन्।
गरिमाको बुझाइमा ग्ल्यामर भन्नु आकर्षण हो। 'कुनै कुरा देख्दा आँखा टक्क रोकियो, मन लोभियो भने त्यो नै ग्ल्यामर हो।
छोटो लुगा लगाएरमात्रै ग्ल्यामर हुने होइन, शरीरका अंग नदेखिए पनि ड्रेसअप मिलेको छ भने त्यसले आकर्षित गर्न सक्छ', उनी प्रस्ट्याउँछिन। राम्रो कलाकारको छवि बनाउन संघर्ष गरिरहेको बताउने उनी ग्ल्यामरस बन्ने मोह कलाकारमात्रै होइन, हरेक व्यक्तिमा हुने तर्क गर्छिन्।
कलाकार सधैं सिर्जनात्मक हुनुपर्छ भन्ने उनको मान्यता छ। चलचित्र 'निखिल दाइ'बाट ठूलो पर्दामा डेब्यु गर्दा 'झोला'जस्तो चलचित्र गर्न पाऊँला भन्ने कल्पना गरेकी थिइनन्।
'चलचित्र झोला छायांकनभन्दा त्यसमा काम गर्न मानसिक रूपमा तयार हुन मलाई गाह्रो भयो', गरिमा सम्झन्छिन्, 'एक शताब्दीअघिको कथाले मलाई लोभ्यायो तर जस्तो पहिरन, वातावरण सिर्जना गरेर काम गर्नुपथ्यो, त्यो सजिलो थिएन।'
गरिमाले 'सुन्दर मेरो नाम', 'जीवन मृत्यु', 'अर्जुनदेव', 'फूल', 'प्रीतिको फूल', 'मनले मनलाई छुन्छ', 'किन लाग्छ माया', 'झोला' आदि चलचित्रमा अभिनय गरिसकेकी छन्।
कुनै कुरा देख्दा आँखा टक्क रोकियो, मन लोभियो भने त्यो नै ग्ल्यामर हो।
अहिले बीपी कोइरालाको चर्चित उपन्यास 'तीन घुम्ती'मा आधारित चलचित्रको वर्कसपमा जुटेकी उनी भन्छिन्, 'चलचित्र मेरो कर्म हो। यस क्षेत्रमा कहिलेसम्म काम गर्नेभन्दा पनि जहिलेसम्म काम गर्छु, इमानदार भई मेहनतका साथ काम गर्छु।'source:annapurna post
