अमेरिकामा नेपालीहरू अलपत्र, ठेगाना प्रष्ट नहुँदा उद्दारमा कठिन



काठमाडौं, ल्याटिन अमेरिकी मुलुकमा पक्राउ परेका नेपाली नागरिकहरूको स्थायी ठेगाना प्रष्ट नहुँदा परराष्ट्र मन्त्रालयलाई उद्धार प्रक्रिया शुरू गर्न अप्ठेरो पर्ने गरेको छ । ल्याटिन अमेरिकी मुलुकले त्यहाँ नेपालीहरू पक्राउ परेको जानकारी दिँदै उद्धारका लागि पहल गर्नका लागी नेपाल सरकारलाई पत्र पठाए पनि ठेगाना भने खुलाउने गरेका छैनन् । यसरी ठेगाना नहुँदा उनीहरूको परिवारलाई जानकारी दिन तथा उद्धार गरेर नेपाल फर्काउनमा समस्या भएको कुरा परराष्ट्र मन्त्रालयले जनाएको छ।

पछिल्लो पटक ल्याटिन अमेरिकी राष्ट्र पानामाले पाँच जना नेपालीहरू पक्राउ परेको कुराको जानकारी दिँदै उद्धारका लागि पहल गर्न सरकारलाई अनुरोध गरेको छ । पानामामा पक्राउ परेका नेपालीहरूमा सुशील थापा, मणि बोहरा, देव खत्री, होमबहादुर केसी र अमन थापा रहेका छन् । यसमा उनीहरूको नाम बाहेकको परिचय खुल्ने अन्य कुनैपनि कुराहरू उक्त पत्रमा नभएको बताइन्छ । यस्तै अरू ल्याटिन अमेरिकी राष्ट्रहरूले पठाउने पक्राउ परेका मानिसहरूको सूची समेत यस्तै हुने गरेको बताइन्छ।
ल्याटिन अमेरिकी राष्ट्रहरूले भारतको दिल्लीमा रहेका आफ्ना दूतावासमार्फत त्यहीँ रहेको नेपाली दूतावासलाई पत्र पठाएर त्यहाँ पक्राउ परेका नेपालीहरूका बारेमा जानकारी दिने गर्दछ । यी देशले अहिले मानव तस्करको प्रलोभनमा परी अमेरिका जाने क्रममा ल्याटिन अमेरिकी राष्ट्रमा पक्राउ पर्ने नेपालीको संख्या ह्वात्तै बढेपछि यस कुराको जानकारी नेपाललाई गराउन थालेका छन ।
एक तथ्यांक अनुसार सबैभन्दा बढी नेपालीहरू ल्याटिन अमेरिकी राष्ट्र ब्राजिल, पानामा, कोलम्बिया, ग्वाटेमाला, कोस्टारिकामा पक्राउ पर्ने गरेका छन् । उता, उत्तर अमेरिकी राष्ट्र मेक्सिकोमा पनि अत्यधिक मात्रामा नेपाली पक्राउ पर्न थालेको बताइन्छ । सबैभन्दा धेरै नेपालीहरू कोस्टारिकामा पक्राउ परेका छन् । कोस्टारिकाको ‘पब्लिक सेक्युरिटी मिनिस्ट्री’ ले सन् २०१४ को प्रतिवेदनमा एक वर्षमा २ सय ५० भन्दा बढी नेपाली पक्राउ परेको उल्लेख गरेको छ । सन् २०१४ को सेप्टेम्बरमा मात्र ८९ जना नेपाली कोस्टारिकामा पक्राउ परेका थिए । त्यस्तै डिसेम्बरमा १९ जना पक्राउ परे । गत सेप्टेम्बरमा तीन दिनमामात्र ३४ जना नेपालीहरू पक्राउ परेका थिए । पक्राउ पर्ने सबै जनासँग साथमा परिचय खुल्ने कुनै पनि कागजात हुँदैन । तस्करहरूले बीचबाटोमै उनीहरूलाई परिचय खुल्ने कागजात च्यातेर फाल्न लगाउँछन् । तस्करहरूले नेपालीलाई काठमाडौंबाट भारतको नयाँ दिल्ली, थाइल्यान्ड, भियतनाम, कतार वा युनाइटेड अरब इमिरेट्स, ब्राजिल, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका अवैध तरिकाले छिराउने गर्छन् ।
उता, ल्याटिन अमेरिकी राष्ट्रले पक्राउ परेकाको नाम पठाएर उद्धारका लागि आग्रह गरे पनि नेपाल सरकारले उनीहरूलाई उद्धार गरेर नेपाल ल्याउने गरेको छैन। परराष्ट्र मन्त्रालयका अनुसार पक्राउ परेकाहरूको आफन्त पत्ता लाग्न नसक्नु उद्धार हुन नसक्नुको पहिलो कारण हो । नामका आधारमा मात्र उनीहरूको आफन्त पत्ता लाउन नसकिने भएकाले उनीहरूलाई नेपाल ल्याउँदाको खर्च कसले बेहोर्ने भन्ने दोस्रो कारणमा पर्छ । ल्याटिन अमेरिकी राष्ट्रबाट एक जनालाई मात्र पनि उद्धार गरी ल्याउँदा लाखौं रुपैयाँ खर्च लाग्ने गर्छ, जुन बेहोर्ने आँट अहिलेसम्म सरकारले गरेको छैन । सरकारले उद्धार गर्न चाहे पनि पक्राउ परेका नेपाली त्यहीँबाट स्वदेश फर्कन मान्दैनन्।
गएको सेप्टेम्बरमा ३ दिनका बीचमा ३४ नेपाली कोस्टारिकामा पक्राउ परेपछि परराष्ट्रले उनीहरूलाई स्वदेश फर्काउन पहल गरेको थियो। त्यहाँ रहेका आफ्नो अवैतनिक वाणिज्यदूतमार्फत उनीहरूलाई जेलबाट छुटाइयो, तर उनीहरू नेपाल फर्केनन्। जेलबाट छुट्नेबित्तिकै उनीहरू फेरि तस्करको सम्पर्कमा पुगे र अमेरिकातर्फ अघि बढेका थिए ।source:media np 





प्रतिक्रिया दिनुहोस्...