न्यायाधीश बम हत्याकाण्डको थप रहस्य खुल्यो



काठमाडाैं, २३ पुस ।
तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या गर्न १२ हजार भारतीय रुपैयाँमा पेस्तोलहरू किनिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।  हत्याका योजनाकार बाबु थापाले भारतको बेतियाबाट चारवटा पेस्तोल खरिद गरेको बयान दिएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका अनुसार हत्याको करिब तीन महिनाअघि बाबुले पेस्तोल ल्याएका थिए । तीमध्ये दुई पेस्तोल प्रहरीले बरामद गरेको छ । सिआइबीका निर्देशक डिआइजी हेमन्त मल्लका अनुसार बमको हत्या गरेपछि बाबुले पेस्तोल अन्य आपराधिक समूहलाई बिक्री गरेका थिए । प्रहरीले यसअघि नै दुई आपराधिक समूहबाट ती पेस्तोल बरामद गरिसकेको छ । तिनै पेस्तोलबाट बमको हत्या भएको जानकारी भने प्रहरीले अहिले पाएको हो ।
प्रहरीले १२ असोज ०७० मा पोखरामा पक्राउ परेको एक समूहबाट बमको हत्यामा प्रयोग भएको पेस्तोल फेला परेको थियो । सिआइबीका एसपी पीताम्बर अधिकारीका अनुसार सो समूहबाट ‘मेड इन रसिया’ लेखिएको पेस्तोल बरामद भएको थियो ।
बममाथि बाबुको समूहले गोली हान्न प्रयोग गरेको दुई पेस्तोलमध्ये एक त्यही थियो । उक्त पेस्तोलसहित प्रहरीले विक्रम तामाङ, रिल्डो तामाङ र नरेन्द्र मगरलाई पक्राउ गरेको थियो । भगवान थापामार्फत रिद्धबहादुर थापाले उक्त पेस्तोल खरिद गरेको अनुसन्धानबाट खुलेको छ । रिद्धबहादुर अहिले फरार छन् ।


बम हत्यामा प्रयोग भएको अर्को पेस्तोल करिब दुई वर्षअघि ललितपुरमा बरामद भइसकेको अनुसन्धानबाट खुलेको छ । मिलन लामा नामका व्यक्ति गत वर्ष पेस्तोलसहित पक्राउ परेका थिए । उनीसँग भेटिएको पेस्तोल बाबु समूहले नै बिक्री गरेको सिआइबीले जनाएको छ ।
भारतीय सहरमा खुला रूपमा ‘होम मेड’ पेस्तोल किन्न पाइने भएकाले नेपालका आपराधिक समूहहरूले भारतबाट सजिलै पेस्तोल भित्र्याउने गरेका छन् । खुला सिमाना र कमजोर सुरक्षा चेकिङका कारण साना हतियारको बिगबिगी बढेको प्रहरी अधिकारीहरू नै बताउँछन् । बाबु थापाले पनि भारतबाट चारवटा पेस्तोल सजिलै काठमाडौंसम्म ल्याएर न्यायाधीश बमको हत्या गर्न सफल भएका थिए ।
घटनाको दुई वर्ष सात महिनापछि गत शुक्रबार प्रहरीले न्यायाधीश बमका हत्यारा पक्राउ गरेको थियो । चुरे भावर पार्टीको आधिकारितासम्बन्धी विवादमा न्यायाधीश बमले आफ्नो विपक्षमा फैसला गरेकाले उनको हत्या गरेको बाबु थापाले प्रहरीसमक्ष बयान दिएका छन् । बमलाई गोली हान्ने उनका सहयोगी शिव भनिने करण चौधरी, प्रेम खड्का र दीपक कर्णलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।  नयाँ पत्रिकामा खबर छ । source:tajakhabar




प्रतिक्रिया दिनुहोस्...