माइतीघरमा बन्दकर्ता र बन्द विरोधीबीच झडप
६ माघ, काठमाडौं । काठमाडौंको माइतिघरमा बन्दकर्ता र बन्द विरोधीहरुबीच झडप भएको छ । बन्दको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुमाथि बन्दकर्ताहरु जाइलागेपछि केहीबेर तनाव भएको थियो ।
त्यसपछि मुखमा मास्क लगाएर बन्दको विरोधमा उत्रिएको समुहले बन्दकर्तालाई लखेटेको थियो । यद्यपी प्रहरीले तत्कालै स्थिति नियन्त्रणमा लिएको थियो ।
बन्दले देशभरको जनजीवन प्रभावित
बन्दकर्ता र सुरक्षाकर्मीबीच नयाँ बानेश्वरमा दोहोर झडप भएको छ । बन्दमा सवारी कुदाएको भन्दै कुटनीतिक नियोगको मोटरसाइकल तोडफोड गरेपछि सुरक्षाकर्मीले हस्तक्षेप गर्न खोज्दा दोहोरो झडप भएको थियो ।झडपका क्रममा समाचार एजेन्सी एपीका पत्रकार उपेन्द्रमान सिंह, नेपाल पार्टीका अमुल थापा तथा अंकज ढकाल घाइते भएका छन् । सिंहले बोकेको क्यामेरा फुटेको छ । बन्दकर्ताले ७१०२२३ नम्बरको मोटरसाइकलमा तोडफोड गरेका हुन् ।
बन्दकर्ताहरु आक्रमक भएर सडकमा उत्रिएका छन् । समाचार सम्प्रेषणका लागि गएका सञ्चारकर्मीलाई बन्दकर्ताले धरपकड गर्न थालेका छन् । बन्दको प्रभावबारे फोटो खिच्न गएका सञ्चारकर्मीलाई पनि बन्दकर्ताले लखेटेका छन् ।
बागबजारमा स्कुटर तोडफोड, चालक घाइते
बन्दकर्ता बागबजारमा एक स्कुटर तोडफोड गरेका छन् । ओम बुक्स डिस्टिव्युटरकी सञ्चालिका रहेको श्रीमती गंगा चित्रकार सवार बा ४६ प १८७५ स्कुटरमा बिहान पौने सात बजे बन्दकर्ताले आगजनी गरेका हुन् ।बागबजारको एनसीसी बैंक अगाडि स्कुटरमाथि आगजनी गर्दा चित्रकार पनि घाइते भएकी छन् । आफूलाई केही नसोधी पेट्रोल छर्केर आगजनी गरेको चित्रकारले बताइन् । उनले भनिन्-‘म बिहान पसलको कामका लागि आउँदै थिए । हतारमा भएकाले स्पीड पनि थियो । चार पाँच जना केटाहरुले रोके, अनि केही नसोधी पेट्रोल छर्केर जलाए । मेरो लुगा पनि जलेको छ । स्थानीयले मेरो लुगामा लागेको आगो निभाए ।’
यसैबीच नयाँबानेश्वरको बिजुलीबजार पुलमा बन्दकर्ताले अर्को मोटरसाइलक जलाएका छन् । अल्फाबेट नखुलेको २२२४ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिएर आगजनी गरेका छन् ।
बन्दले देशैभरको जनजीवन प्रभावित, केही सवारी साधन आगजनी
एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चा, नेकपा-माओवादी र पद्मरत्न तुलाधर नेतृत्वको आदिवादी जनजाति राष्ट्रिय आन्दोलन नेपालले गरेको बन्दले मंगलवार राजधानी लगायत देशैभरको जनजीवन प्रभावित भएको छ ।
बन्दकर्ताहरु विहानैदेखि सडकमा उत्रिएर प्रदर्शन गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै सार्वजनिक सवारी साधनमाथि तोडफोड र आगजनी सुरु भएको छ । काठमाडौको बनस्थलीस्थित ढुंगेधारामा बा १ ज ८२२२ नम्बरको ट्याक्सीमा आगजनी, गुहेश्वरीमा बसमा आगजनी भएको छ भने वीर अस्पताल अगाडि एउटा मोटर साइकलमा तोडफोड भएको छ ।
यस्तै, राजधानी बाहिरका जिल्लाहरुमा पनि बन्दले जनजीवन प्रभावित भएको छ । पोखरामा बन्दकर्ताहरुले एक यात्रुबाहक बसमा तोडफोड गरेका छन् । बन्दकर्ताले ग १ ज २९५९ नम्बरको बसमा आगजनी गरेका छन् ।
संविधानसभा भवनमा सोमवार मध्यरातमा सभासद्हरुबीचमै मुठभेडको स्थिति बनेपछि मंगलवारको बन्द पूर्ण रुपमा ठप्प भएको छ । संविधानसभा भित्रको प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीका सभासदहरुले मच्चाएको वितण्डाको कारण एमाओवादी कार्यकर्ताहरु सडकमा पनि उग्र हुने डरले जनजीवन त्रसित बनेको छ ।
राजधानीको पसलहरु पनि खुल्न सकेका छैनन् । गाडी नचलेपछि यात्रुहरु हिडेर नै गन्तब्यतर्फ लागिरहेका छन् ।
